महाशिवरात्रिमा गोपालले दिए साधुलाई खाद्यान्न

0
156

झिलझिले।

महाशिवरात्रीको अवसर पारेर शिवसताक्षीका एकजना समाजिक व्यक्तित्वले सताक्षीधामका साधुलाई खाद्यान्न उपहार दिएका छन्।

वडा नम्बर ७ व्याङडाडाका समाजसेवी गोपाल ओली र श्रीमती तुलासदेवी ओलीले सताक्षीधाम ११ जना साधुलाई खाद्यान्न उपहार दिएका हुन् । ओली दम्पतीले विभिन्न उत्सव, धार्मिक पर्वको अवसर पारेर लक्षित समुदायका व्यक्तिलाई खाद्यान्नलगायत गैरखाद्य वस्तुको सहयोग गर्ने गरेका छन् ।

परिवारका सदस्यको जन्मदिनहोस् या दिवङ्गत पितृको तिथि नै किन नहोस्, ओली दम्पतीले वर्षभरि आफुले आम्दामी गरेको रुपैयाँको दशांश लक्षित समुदायका व्यक्तिहरुलाई सहयोग गर्ने गरेको बताए । परिवारका सदस्यको जन्मदिन पनि ओली परिवारले फरक ढंगले मनाउँदै आएको छ ।

बन्दीलाई पुस्तक, खेलाडीलाई खेलकुदका सामग्री, विद्यार्थीलाई शैक्षिक सामग्री, जाडोमा न्यानो कपडा, साधुसन्तलाई खाद्यान्न र बस्त्र, विपन्नलाई आर्थिक सहयोग, अपाङ्गलाई आवश्यक सामग्री ओलीले प्रदान गर्ने गरेका छन् । झापाका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययन गर्ने विपन्न विद्यार्थीहरूको अभिभावकत्व समेत ओलीले ग्रहण गरेका छन् । आफू आबद्ध संस्थामा कार्यरत उत्कृष्ट कर्मचारीलाई समेत उनले व्यक्तिगत रुपमा सम्मान तथा पुरस्कृत गर्दैआएका छन् ।

समाजमा हरेक हिसाबले पछि परेका व्यक्ति र समुदायको उत्थानका लागि सहयोग गर्न पाउँदा आफुलाई गर्व लाग्ने गरेको ओलीले बताए । उनले एकदिनमा गर्ने सहयोग सानु देखिएपनि वर्षभरिमा गर्ने सहयोग भने ठूलो देखिने गरेको छ । यस आर्थिक वर्षमा मात्र ओलीले झापा, इलाम,मोरङ लगायतका जिल्लामा ६० भन्दा बढी परोपकारका काम गरिसकेका छन् ।

कोरोना महामारी, हुरीबतास, बाढीपहिरो, भूकम्पलगायत दैविक विपत्तिमा परेका विस्थापित परिवारको लागि ओली कुशल अभिभावकको रुपमा उभिने गरेका छन् । समाजमा उनलाई कुशल समाजिक व्यक्तित्वका रुपमा अग्रपंक्तिमा देखिने गरेको स्थानीय मोहन मैनालीले बताए । ‘जन्मदा पनि खाली आएका मानिस मर्दा पनि केही लैजान सक्दैनन् । समाज रुपान्तरणका लागि आफूलाई सन्तुष्ट मिल्ने काम गोपाल ओलीले गरिरहनुभएको छ,’ मैनालीले भने ‘ओलीबाट समाजका अगुवाले धेरै कुरा सिक्न आवश्यक छ ।

सताक्षीधामका साधुलाई ओलीले प्रतिव्यक्ति एक बोरा चामल एक केजी मुसुरोको दाल, एक केजी चिउरा, एक केजी नुन, पाँच लिटर तेल र एक प्याकेट बिस्कुट दिएका थिए । कार्यक्रममा छिमेकी बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुख नवीन ओली लगायतको सहभागिता थियो ।

ओली कुल वंश प्रतिष्ठानका केन्द्रीय कोषाध्यक्ष समेत रहेका ओली शिवसताक्षी नगरको सबैभन्दा ठूलो छिमेकी बचत तथा ऋण सहकारी संस्थाका संचालक समितिका सदस्य हुन् । जिल्लास्थित दर्जनौ सामाजीक संस्थामा उनी आबद्ध छन् । इमान्दार, स्पष्टवक्ता र स्वतन्त्र नागरिकका रुपमा उनले आफुलाई समाजमा स्थापित गरिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here