‘भीआईपी’हरुको जिल्ला झापा ११औंपटक पनि ‘फेल’

0
85

रत्नबहादुर बस्नेत,
झापा।

झापा यतिबेला भीआइपीहरुको जिल्ला हो । सभामुख, उपसभामुख, उपप्रधानमन्त्री, प्रदेशका मुख्यमन्त्री, कृषिमन्त्री, ३६ सांसद, पूर्वप्रधानमन्त्री तथा उपप्रधानमन्त्रीहरुको जिल्ला हो– झापा ।

संसदमा रहेका पार्टीका मुख्य नेताहरु पनि झापाका छन् । नेपालको राजनीतिमा मोरङ पछाडि झापा ‘पावर सेन्टर’को रुपमा स्थापित छ । यो जिल्ला सचेत र शिक्षित नागरिकको जिल्ला भनेर समेत चिनिन्छ । तर, यही जिल्लामा हात्तीपाइले रोग निवारण कार्यक्रम ११औं पटकसम्म ‘फेल’ भएको छ ।

अभियान असफलताको श्रृंखला अन्तर्गत नै सरकारले यस जिल्लामा हात्तीपाइले रोगबिरुद्ध १२औं चरणको आम औषधि सेवन अभियान सञ्चालन गर्न लागेको छ । प्रदेश १मा झापा र मोरङ हात्तीपाइले रोगबिरुद्धको अभियानमा असफल सावित भएका छन् । तर, पनि अभियान अघि बढाइँदैछ । यी जिल्लासँगै मुलुकका १५ जिल्लामा यसपटक यो अभियान सञ्चालन हुँदैछ ।

मुलुकमा अझै ३० हजार नागरिक यस रोगबाट संक्रमित रहेको अनुमान गरिएको छ । अध्ययन रिपोर्टका अनुसार शिक्षित वर्गका व्यक्ति तथा शहरमा बसोबास गर्नेहरुले औषधि सेवन नगर्दा यो अभियान पटक–पटक असफल भएको हो । त्यस्तै ज्यालादारी तथा मौसमी कामदार, दीर्घरोगी र ज्येष्ठ नागरिक, केही जातीय समुदाय, महिला, निरक्षर दलित, सामाजिक आर्थिक रुपमा उच्चवर्गका जातीय समुदाय र सरकारी कर्मचारीहरुले नै यो औषधि सेवन नगरेको पाइएको जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्रकोटीले बताए । बाह्रकोटीका अनुसार औषधि सेवनपछि त्यसले असर गर्छ भन्ने भ्रम र डर तथा औषधिप्रतिको गलत धारणा, कार्यक्रमको महत्व बुझाउन नसकेर अभियान असफल भइरहेको छ । उनले भने– सबैले औषधि खाने हो भने अभियान सफल हुन्छ र रोग नियन्त्रण हुनेछ ।

११औं पटक अभियान चलाएर झापाको कुमरखोद र कचनकवलमा तीन÷तीन सय जनाको रगत परीक्षण गर्दा सात प्रतिशतसम्म संक्रमित फेला परेपछि पुनः १२औंपटक अभियान चलाउन लागिएको हो । यसपटक भने विगतका कमजोरीलाई सुधारेर अभियान प्रभावकारी बनाउन लागिएको झापामा हात्तीपाइले रोगविरुद्धको अभियान सफल बनाउन सोमवार स्वास्थ्य कार्यालय झापाले बिर्तामोडमा गरेको पत्रकारहरुसँगको अन्तरक्रियामा जनाइयो ।

हात्ती पाइले रोगलाई जोखिम नठान्ने गलत धारणाका कारण यसलाई नियन्त्रण गर्न चुनौति भएको बताइएको छ । संक्रमितमध्ये अधिकांश पुरुषमा हाइड्रोशिलको समस्या देखिएको जनाइएको छ । महिलामा स्तन सुन्निने खुट्टा लगायतका विभिन्न अंगहरु सुनिएर हात्ती पाइलाको आकार लिने गरेको पाइएको जनाइयो । आउँदो फागुन ११ गतेदेखि जिल्लामा हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सञ्चालन गर्न लागिएको हो ।

यसबर्ष ९ लाख ९ हजार ५ सय ३७ जनालाई हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गराउने स्वास्थ्य कार्यालय झापाले लक्ष्य लिएको छ । हात्तीपाइले रोगबिरुद्धको औषधि खान हुने र नहुने समूह, औषधि सेवन गर्दा ध्यान दिनुपर्ने कुराहरु, रोगको परजीवी मुक्त हुन के गर्ने ?, रोगबाट बच्न कस्तो औषधि सेवन गर्ने ? र त्यसले के गर्ने ?, यसअघिको औषधिसेवनको अवस्था, यस बर्ष औषधि खुवाइने लक्षित संख्यालगायतका बिषयमा पत्रकारहरुसँग अन्तरक्रिया गरिएको हो ।

यसअघि दुई वटा औषधि सेवन गराइँदै आएकोमा यस पटक एउटा औषधि थपेर खुवाउन लागिएको छ । यसअघि दुईवटा औषधि कम्तीमा पाँच वर्षसम्म सेवन गर्नुपर्नेमा औषधि थप हुँदा दुई वर्ष मात्र औषधि सेवन गर्दा हुने स्वास्थ्य कार्यालयले जनाएको छ । यसअघि उमेरको आधारमा खुवाइँदै आएको हात्तीपाइले रोगबिरुद्ध औषधि यस बर्ष भने उचाइका आधारमा खुवाइने जनस्वास्थ्य अधिकृत तथा फोकल पर्सन विश्वनाथ श्रेष्ठले जानकारी दिए ।

अन्तरक्रिया कार्यक्रममा बिर्तामोड नगर स्वास्थ्य शाखा प्रमुख राजीव बिष्ट, बिर्तामोडका स्वास्थ्य फोकल पर्सन दीपक सापकोटाले बिर्तामोड नगरको औषधि सेवन सम्बन्धी जानकारी गराएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरीले हात्तीपाइलेबिरुद्धको अभियान सफल बनाउन सरकारी निकायबाट मात्र सम्भव नभएकोले सबै क्षेत्रको सामुहिक प्रयास जरुरी रहेको र अझ मिडियाको भूमिका प्रभावकारी हुने बताए ।

यसैबीच बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले स्थानीय अस्पताल तथा संस्थाका प्रतिनिधिसँग हात्तीपाइले रोगबिरुद्धको औषधि सेवन अभियानलाई प्रभावकारी बनाउन सोमवार नै अन्तरक्रिया सम्पन्न गरेको छ ।

नगरपालिकाका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीको अध्यक्षता, स्वास्थ्य शाखा प्रमुख राजीव विष्टले स्वागत र फोकल पर्सन दीपक सापकोटाले तयारी बारे जानकारी गराएको अन्तरक्रियाको सहजीकरण जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन विश्वनाथ श्रेष्ठले गरेका थिए । कार्यक्रममा औषधि व्यवसायी महासंघका महासचिव जीवनकुमार खड्का लगायतले अभियान सफल बनाउन प्रतिबद्धता जनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here