मदन भण्डारी राजमार्ग : सडकको भौतिक प्रगति ४० प्रतिशत

0
140

झापा, 

राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गको धरान–झापा सडकखण्डको ४० प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।

मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका इञ्जिनीयर सजित शर्माका अनुसार शान्तिनगर–सर्दुखोलासम्मको एक सय ३१ किलोमिटर सडकमध्ये ९५ दशमलव ७८ किलोमिटरको ठेक्का लागिसक्यो छ । जसमध्ये हाल निर्माणाधीन अवस्थामा रहेको सडकको भौतिक प्रगति ४० प्रतिशत भएको उहाँले जानकारी दिनुभयो ।

उहाँले पाँच वटा निर्माण व्यवसायीले आयोजनासँग जिल्लागत ठेक्काको सम्झौता गरी काम गरिरहेको बताउनुभयो । उहाँका अनुसार सो सडक खण्डअन्तर्गत सुनसरीमा १३ किमी, मोरङमा ३६ किमी, झापामा ३५ दशमलव ८ किमी र इलाममा १० दशमलव ९८ किमी सडक निर्माणको काम भइरहेको छ ।

उहाँले पूर्वी प्रस्थान बिन्दु बाहुनडाँगीदेखि शान्तिनगरको १० किमी सडकको दुवै क्षेत्रमा ड्रेन निर्माणको काम लगभग सकिएको बताउनुभयो । सो सडक खण्डको ठेक्का श्रेष्ठ मोतीदान ज्वाइन्ट भेञ्चरले एक वर्षअघि नै दुई वर्षमा निर्माण गर्ने गरी सम्झौता गरेको थियो ।

उहाँले तोकिएको मितिमा बाहुनडाँगी शान्तिनगर सडकखण्डको निर्माण सम्पन्न हुने बताउनुभयो । धरान–झापा सडकखण्डमा बन्ने ३७ वटा पुल र एक सय ३१ किमी सडकका लागि सङ्घीय सरकारले रु १० अर्ब १३ करोड बजेट विनियोजन गरेको छ ।

सो सडक खण्डमा पर्ने पुल र सडकको निर्माणमा हालसम्म रु चार अर्ब ८७ करोड खर्च भइसकेको उहाँले बताउनुभयो । “सडकभन्दा पुल निर्माण छिटो भइरहेको छ”, उहाँले भन्नुभयो, “अझै ३५ दशमलव १३ किमी सडकको ठेक्का लाग्नै बाँकी छ ।”

सङ्घीय सरकारको बजेटबाट निर्माण हुने राजमार्ग दुई लेनको हुनेछ । यो राजमार्गले पूर्वको झापादेखि धरानको चतरा, उदयपुरको गाईघाट, कटारी, सिन्धुलीको सिन्धुलीमाडी, मकवानपुको हेटौँडा, नवलपरासीको गैँडाकोट, पाल्पाको रामपुरबाट गुल्मीको तम्घास र सिमलटारी, प्यूठानको बागदुला, र देवीस्थान, दाङको घोराही, तुलसीपुर र पुरनधारा, सुर्खेतको बोटचौर, डोटीको सिमचौर र बिपीनगर, कैलालीको सहजपुर, डडेलधुराको बुडर र जोगबुढा हुँदै रुपालसम्म पुग्नेछ ।

उहाँले यो सडक नेपालको पूर्वी सीमा मेची नदीदेखि चुरेभावर तथा भित्री मधेस छिचोल्दै पश्चिम महाकाली नदीसम्म करिब एक हजार २०० किमीको हुने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here