विकासको सिंगापुर मोडलबाट नेपालका लागि पाठहरू

0
170

सिंगापुर दक्षिण पूर्व एसियाको एक सार्वभौम गणतन्त्र द्विपीय राष्ट्र हो । पाँच दर्जन साना–ठूला टापुहरू रहेको यो मुलुक बहुसांस्कृतिक, बहुजातीय र बहुभाषिक मुलुक हो । अंग्रेजी, मलाय, मण्डारिन र तमिल सरकारी मान्यता प्राप्त भाषा रहेको सिंगापुर संसारकै तेस्रो बढी जनघनत्व भएको मुलुक हो । सात सय ३३ वर्ग किलोमिटर क्षेत्रफल रहेको यो मुलुकको जनसंख्या लगभग ५६ लाख रहेको छ भने जनघनत्व सात हजार आठ सय प्रतिवर्ग किलोमटिर रहेको छ । सन् १९५९ देखि बेलायत र मलेसियाबाट उपनिवेशबाट स्वशासित क्षेत्रको रूपमा बदलिएको सिंगापुर सन् १९६५ अगस्ट ९ देखि स्वतन्त्र राष्ट्रको रूपमा विश्व मानचित्रमा दर्ज हुन सफल भएको थियो ।

कुल ग्राहस्र्थ उत्पादनमा संसारको ३८औं राष्ट्र सिंगापुरको प्रतिव्यक्ति आय एक लाख ३१ हजार पाँच सय ८० अमेरिकी डलर रहेको छ भने मानव विकास सूचकांकमा संसारकै १२आंै नम्बरमा पर्दछ । सिंगापुर आज संसारका विकसित देशहरूको सूचीमा पर्छ । धेरै राजनीतिक नेता तथा संसारका धेरै देशहरू सिंगापुरको विकासको मोडललाई अनुकरण गर्न चाहन्छन् । यो मोडल न पुँजीवादी मुलुकको जस्तो हुबहँु छ न माक्र्सवादको आलोकमा समाजवादी बाटोमा अग्रसर हुन खोजेका देशहरूको जस्तो छ । पाँच दशकको अन्तरालमा सिंगापुर यति विकसित र दुनियाँका लागि पछ्याउनै पर्ने मुलुक कसरी बन्न सफल भयो भन्ने जिज्ञासा आम नेपालीका बीचमा पनि छ र यो संकथन समय–समयमा घनीभूतरूपमा उठ्ने गर्छ र सेलाउने गर्छ ।

सिंगापुरको यति ठूलो सफलताका पछि जनताको ठूलो मेहनत, लगनशीलता, समर्पण, त्याग र बलिदानीले काम गरेको छ । त्यो भन्दा पनि महत्वपूर्ण एकजना दृढ प्रतिज्ञाका धनी, निःस्वार्थी, देशभक्त, स्वप्नदर्शी राजनेताको योगदान छ यसमा । जुगजुगसम्म सिंगापुरबासीका हृदयमा चम्किरहने र मुलुकलाई निरन्तर विकासको उज्यालो बाटोमा डो¥याउन प्रेरणा दिइरहने व्यक्ति हुन् लि क्वान यु । उनी अहिले छैनन्, १६ सेप्टेम्बर १९२३ मा जन्मेका सिंगापुरका संस्थापक लि क्वान युको २३ मार्च २०१५ मा ९१ वर्षको उमेरमा निधन भएका थियो । गरीब सिंगापुरलाई विश्वको आर्थिक केन्द्र बनाउने महारथी यो धरतीमा छैनन् । तर, विश्व राजनीतिक रंगमञ्चमा आशा, विश्वास र प्रेरणाको दियो जलाउन सफल लि क्वान युले अनुशरण गरेको बाटोको बारेमा विश्वव्यापी रुपमा छलफल, बहस र तर्क उठिरहेका छन् । उनले लिएका नीति, कार्यक्रम र कार्यदिशाको बारेमा पुँजीवादी र साम्यवादी दुबै खेमाका समर्थक र शुभेच्छुकहरूले मनन गर्न आवश्यक छ र यस सम्बन्धमा अध्ययन मनन भइरहेका पनि छन् ।

उनले द्रूत आर्थिक वृद्धि, व्यापारिक उद्यमशीलतालाई बढावा र आर्थिक क्रान्तिका नीतिहरूलाई आत्मसात गरे र फलस्वरूप आधा शताब्दीभित्रमा सिंगापुरले आर्थिक क्षेत्रमा कायापलट ग¥यो । १९८० को दशकमा सिंगापुरले उच्च प्रविधिका उद्योगलाई प्रश्रय दियो । आधुनिक सिंगापुरका निर्माता एवम् सिंगापुरका पूर्व प्रधानमन्त्री ली क्वान यु सिंगापुरका संस्थापक नेता थिए । कुनै प्राकृतिक स्रोत नभएको सानो बन्दरगाह शहर सिंगापुरलाई विश्वको प्रमुख आर्थिक केन्द्र बनाएका थिए उनले । उनले अविच्छिन्न रूपमा ३१ वर्षसम्म सिंगापुरको प्रधानमन्त्रीको रूपमा काम गरेका थिए । लि क्वान युलाई सिंगापुरका नागरिकले राष्ट्रपिताका रुपमा पनि सम्मान गर्छन् । सिंगापुर विश्वमा एक्लै रहेका बेला र विश्वमा विकासको गतिमा यसको मापन नभएको समयमा देशको नेतृत्व गरेर वर्तमान सिंगापुर निर्माण गरे उनले ।


वर्तमान सिंगापुरको निर्माणमा उनको योगदानको उच्च मूल्याङ्कन गर्दै विकासप्रेमी र देशभक्त नागरिकको रूपमा जुगजुगसम्म उनको स्मरण गरिरहनेछन् देशबासीले । सन् १९९० सम्म ३१ वर्ष मुलुकलाई नेतृत्व दिएको अवधिमा उनले प्राकृतिक स्रोतमा सम्पन्न भए पनि एसियाकै गरिब द्विपीय राष्ट्र सिंगापुरलाई समृद्ध र बलियो आर्थिक केन्द्रका रुपमा रूपान्तरण गर्न योगदान दिए । नेता लि वर्तमान एवम् आधुनिक सिंगापुरका संस्थापक र प्रारूप तयार पार्ने व्यक्तिको रुपमा र हालको संसारमा चिनिएको सिंगापुर निर्माणमा प्रमुख योगदानकर्ताको रूपमा सम्मानित छन् । सिंगापुरको आमूल परिवर्तनमा उनको विशिष्ट योगदान रहेको भनी सिंगापुरका नागरिक मान्ने गर्छन् । वर्तमान सिंगापुरको एक सच्चा निर्माता लिले एसिया र विश्वलाई नै सफलता र इमान्दारिताको पाठ सिकाउन सफल भए ।

नेपालमा खडेरी परेको नेतृत्वको हो । नेतृत्वको मुख्य खुबी भनेको मुलुकबासीलाई अपेक्षित परिवर्तनका लागि अपिल गर्न सक्छ । राजनेता त्यो हो, जसले अल्पकालीन व्यक्तिगत र दलीय स्वार्थलाई नहेरी दीर्घकालीन सोच राखी मुलुकलाई उज्यालो भविष्यतर्फ डो¥याउन सक्छ । मुलुकलाई सफलतापूर्वक सञ्चालन गर्न प्रभावकारी व्यवस्थापकीय र वैचारिक नेतृत्व प्रदान गर्न आवश्यक हुन्छ । प्रभावकारी नेतृत्वविना योजना बनाउन, संगठन गर्न र नियन्त्रण गर्न सम्भव हुँदैन । नेतामा नैतिकता भएन भने र व्यक्तिगत महत्वाकांक्षाले वशिभूत भएमा मुलुकले निकट भविष्यमा नकारात्मक परिणाम व्यहोर्नुपर्छ ।

मुलुकको नेतृत्व दिने व्यक्ति प्रभावशाली, दूरदर्शी, उच्च बौद्धिक क्षमतायुक्त, उच्च साहस तथा आत्मविश्वास भएको, विवेकपूर्ण र मुलुकको हितमा शीघ्र निर्णय गर्न सक्ने देशभक्ति भावनाले ओतप्रोत भएको व्यक्ति वा व्यक्तिहरूको समूह हुनुपर्छ । सहभागितामूलक विकासको अवधारणालाई पछ्याउन नसक्दा अपेक्षित प्रगति हासिल गर्न नसकिएको र स्थानीय निकायले सरकारी कार्यक्रमको स्वामित्व नलिइदिएका कारण हामी नेपाली पछि परेका हौं । विकासका कार्यक्रममा स्थानीयलाई नै जवाफदेही बनाउन सकिएको भए दिगो हुन्थ्यो र स्थानीय सहभागितामा सामुदायिक वन, कृषि, व्यवस्थित सिँचाइका योजना तथा कार्ययोजना अघि बढाइनुपथ्र्यो ।

पूर्वाधार निर्माणमा राष्ट्रको आवश्यकता पहिचान गरी त्यस अनुसार अघि बढ्नुपर्नेमा विदेशी दातृ निकायको निर्देशनमा हामी हिँड्यौं । सिंगापुरको विकासको मोडलबाट नेपालले सिक्नुपर्ने कुरा के–के हुन सक्छन् र नेपाली राजनेताले ग्रहण गर्नुपर्ने शिक्षा के हुन सक्छन् भन्ने महत्वपूर्ण प्रश्न सदैव हामीसामु छ । राणाशासनको अन्त्य भएपछि पनि पूर्वाधार निर्माणका लागि धेरै दशक सुनौलो अवसर गुमेको तीतो इतिहास हामीसँग छ । तर, क्याम्ब्रिज दीक्षित ली क्वान यु राष्ट्र निर्माणको पूरा तस्वीर थाह पाउने दक्ष राजनेता थिए । लिले संसारमै प्रतिस्पर्धी सेवा दिन्छु भने । बन्दरगाह निर्माण गरे, एअरपोर्ट निर्माण गरे ।

आज पनि सिंगापुरको बन्दरगाह, एअरपोर्ट, एअरलाइन्स गुणस्तरीय छन् । नेपालमा दूरदृष्टि नभएका र शिक्षाको कमी भएका नेतृत्वबाट बढी अपेक्षा गर्न पनि त मिल्दैन । लक्ष्य निर्धारण पूरा गर्ने संकल्पतिर लाग्ने स्वप्नद्रष्टा नेताभन्दा पनि पालैपालो अवसर दिने सामन्ती संरक्षकत्ववादी नीति अपनाएपछि मुलुकमा कसरी प्रगति हुन्छ र ! सपना देख्ने तर सपनाबाट नबिउँझिने रोगबाट ग्रस्त र संसदीय परिपाटीले विकृत बनाएको राजनीतिक संस्कारका कारण आर्थिक, सामाजिक, राजनीतिक लगायतका तमाम क्षेत्रहरुमा मुलुकले पीडा सहनु परिरहेको छ ।

संसदीय गणतन्त्र भएको वेस्टमिनिस्टर पद्धतिको शासन व्यवस्था भएको सिंगापुरले आर्थिक मन्दी, आप्रवासन, प्राकृतिक प्रकोप लगायतका विभिन्न प्रतिकूलता पनि बेहोरेको हो । ती प्रतिकूलताका बाबजुद पनि सिंगापुरले गरेको उन्नति इष्र्यायोग्य छ, तर कुनै पनि यसको अन्धानुकरण गरेर सिंगापुरको जस्तो सामाजिक–राजनीतिक रूपान्तरणका लागि आर्थिक परिवर्तनलाई निर्णायक बनाउन बहुतै कठीन छ । सिंगापुरको आर्थिक समृद्धिको सफलताको अनुभवलाई ग्रहण गर्ने हो भने नेपालको विकास प्रक्रियालाई सहजीकरण गर्न सक्छ । उदार लोकतान्त्रिक मूल्य–मान्यताभन्दा पनि नियन्त्रित राजनीतिक स्वतन्त्रतामा उदार अर्थतन्त्रको विकास गरेको सिंगापुरले बाँकी सबै एसियाली मुलुकका लागि हुबहँु अनुकरण गर्ने उदाहरण पेश गर्न नसक्ने देखिन्छ । आफूलाई लोकतन्त्रका हिमायती मान्ने पश्चिमा मुलुक र अधिकारकर्मीले सिंगापुरमा राजनीतिक तथा प्रेस स्वतन्त्रता संकुचन गरिएको भनी आरोप लगाए पनि सिंगापुर राजनीतिक र आर्थिक सुधार गर्दै अघि बढिरहेको छ ।

मानिसको ठूलो मात्रामा प्रवाह हुने भएकाले, बेलायतको उपनिवेश भएकै बेलामा केही पूर्वाधार बनिसकेकाले, मानव स्वास्थ्यसँग अनुकूल भूमध्यरेखीय हावापानी भएकाले, स्वप्नद्रष्टा लि क्वान यू जस्ता नेताले मुलुकका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्रोतसाधन परिचालन गरेकाले सिंगापुरको विकास सम्भव भएको हो । अर्को महत्वपूर्ण कुरा, सिंगापुरमा राजनीतिक स्थायित्व रह्यो र अस्थिरता, भद्रगोल, सरकार परिवर्तनका नाटक, द्वन्द्व, युद्ध, बन्द–हड्ताल जस्ता नकारात्मक कुराहरू विगत पाँच दशकमा मुलुकले भोग्नु परेन । सफलताका यी सबै अनुभवलाई नेपाली माटोमा लागू गर्न सजिलो छैन । घिस्रँदो आर्थिक विकासका ठाउँमा गतिशील विकासका लागि प्राप्त प्राकृतिक, मानवीय, आर्थिक स्रोतको पहिचान र परिचालन गर्दै निस्वार्थ रूपमा लाग्ने र हरेक वर्ष सरकार परिवर्तन गर्ने संसदीय परिपाटी अन्त्य गर्न सकिएमा नेपालले पनि केही दशकमा आफूलाई विकसित देशको हाराहारीमा उभ्याउन सक्छ । प्रश्न उठ्छ– के त्यस्तो नेतृत्व नेपालमा छ ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here