सामुदायिक सिकाई केन्द्रलाई क्रियाशिलताका आधारमा थप बजेट दिने–लिम्बू

0
134

विमल दहाल, इलाम ।

सामुदायिक सिकाई केन्द्रलाई क्रियाशिलताका आधारमा नगरले थप बजेट दिन सकिने माईका मेयर खम्बासिं लिम्बूले बताउनुभएको छ।

माई नगरपालिका भित्र संचालनमा रहेका सामुदायिक सिकाई केन्द्रहरुको ब्यबस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै मेयर लिम्बूले नेपाल सरकारको स्वामित्व रहेको संस्था सामुदायिक सिकाई केन्द्र रहेकाले ब्यवस्थित गर्न नगरले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सिकाई केन्द्रलाई वडा कार्यालय मातहत राखिने समेत जानकारी दिनुभयो।

माई नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सिता लावतीले राज्यबाट प्राप्त अनुदान अनलाईन मार्फत आफ्नो संस्थाका गतिबिधि अध्यावधिक नगरे अनुदान रोकिने जानकारी दिदै परिचालकलाई अनलाईन प्रणालीमा आफ्ना गतिविधि निरन्तर प्रविष्ट गर्न सुझाव दिनुभएको छ। लावतीले सिकाई केन्द्र भनेको समुदायका मानिसहरू मिलेर समुदायको विकासका लागि समुदायबाटै स्थापना र व्यवस्थापन गर्नेगरी अनौपचारिक प्रकृतिको स्वायत, स्वशासित स्थानीय शैक्षिक संस्था रहेको जानकारी गराउँदै समुदायका मानिसहरूको आवश्यकता र चाहना अनुसारको कार्यक्रम सञ्चालन गरिनु पर्ने प्रस्तुति राख्नु भएको थियो  ।

सामुदायिक सिकाई केन्द्र क्षमताअनुसार शिक्षा र सीप आर्जन र परिष्कृत गर्दै स्वरोजगार बन्ने अवसर प्राप्तिको सशक्त माध्यम बन्दै आएका छन । सामुदायिक सिकाइ केन्द्रले नवीनतम ज्ञान र सीपबाट सुसूचित गर्दै सशक्तीकरण गर्न समयको माग र समुदायको आवश्यकताअनुसार विभिन्न कार्यहरू गर्दछन ।

निरक्षर व्यक्तिहरूलाई अनौपचारिक शिक्षाको माध्यमबाट आधारभूत शिक्षा पाउने अवसर, विद्यालयबाहिरका वालवालिकालाई अनौपचारिक शिक्षाको माध्यमबाट विद्यालय शिक्षा प्राप्त गर्ने अवसर, समुदायका व्यक्तिहरूलाई साक्षरता, साक्षरोत्तर तथा निरन्तर शिक्षा जीवनपर्यन्त शिक्षा पाउने अवसर, व्यक्तिलाई आवश्यक ज्ञान सीप सूचना उपलब्ध गराउन पुस्तकालय वा स्रोतकेन्द्र सञ्चालन, समुदायका मानिसहरूको जीवनस्तर बढाउन पेसागत समूहहरू गठन गरी समूहगत कृयाकलापबाट पेसाको विकास गर्न प्रोत्साहन, समुदायमा परस्पर मिलेर काम गर्ने बानीको विकास, समुदायमा रहेका समस्या पहिल्याई समाधान गर्न योजना, कार्यक्रम बनाउने र ल्याउने र कार्यान्वयनम पहल, स्थानीय स्रोतसाधन परिचालन गरी विभिन्न सामुदायिक विकास कार्यक्रम सञ्चालन, सरकारी तथा गैरसरकारी निकायसँग मिलेर समुदायको विकासमा सहकार्य, विपन्न र पिछडिएका वर्गका बासिन्दालाई रोजगार र विकासको मूलधारमा ल्याउने, मानवीय स्रोत विकासको लागि राय सल्लाह प्रदान एवं परामर्श सेवा उपलब्ध गराउने आदि अनेकौँ काम सामुदायिक सिकाइ केन्द्रले गर्दै आएका छन् ।

निरक्षर र निमुखा महिलाहरूलाई सशक्तीकरणका साथै नेतृत्व क्षमताको विकास गर्दै स्वरोजगार र आत्मनिर्भर बनाउनेतर्फ पनि विशेष सामुदायिक सिकाई केन्द्रले योगदान गरेको पाइन्छ ।

माई नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा माईका उपमेयर हिमा भण्डारी, प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारी, वडा अध्यक्षहरु गणेश राई, उर्द वहादुर राई, देवकुमार तामाङ, हेम बहादुर लायो मगर, भुपाल मगर, खड्ग सुन्दर योङहाङ र अमृत तामाङले बिचार राख्नु भएको थियो।

कार्यक्रममा दानाबारी सामुदायिक सिकाई केन्द्रका परिचालन सिता भट्टराई , महमाई सामुदायिक सिकाई केन्द्रका परिचालक अर्पणा राई लिम्बु र डाँफे सिकाई केन्द्रका सदस्य कृष्ण कुमारी लिम्बुले सिकाई केन्द्रको प्रगति प्रतिवेदन तथा गतिबिधी प्रस्तुत गर्नु भएको थियो।

सामुदायिक सिकाई केन्द्र सञ्चालन तथा व्यबस्थापन मापदण्ड२०७८ अनुरुप माईमा ३ वटा र इलाम जिल्लामा २६ वटा सिकाई केन्द्र सञ्चालनमा रहेका छन्। शिक्षा मन्त्रालय अनौपचारिक शिक्षा केन्द्र अन्तरगत २०५९ साल देखि नेपालमा सामुदायिक सिकाई केन्द्र स्थापना भई सन्चालन शुरु भएको हो। स्थानीय सरकार मातहतमा आए संगै २०७४ साल पछि इलामका सिकाई केन्द्रहरुका गतिबिधि घट्दो क्रममा रहेका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here