हस्तकलाको प्रवद्र्धन गर

0
88

नेपालको विशिष्टता र पहिचान भनेको यहाँको मौलिक कला, संस्कृति नै हो । प्राचीनकालदेखि नै नेपाल र नेपालीको पहिचान कायम गरेको कलाभित्र पनि हस्तकला विश्वमा प्रशिद्ध छ । युवा कलाकार अरनिकोले चीनसम्म पुगेर नयाँ निर्माण तथा मर्मतसम्भार गरेका कलाकृतिका आधारमा नेपालको श्रीवृद्धि भएको ऐतिहासिक तथ्य पनि हामीले सुन्दै र पढ्दै आएका हौं । हस्तकलाभित्र काष्ठकला, धातुकला पनि पर्छन् जसले आज पनि विश्वमा नेपाललाई प्रशिद्धि दिलाएको छ । हाम्रो भू–बनोट, पहुँच र स्रोतका आधारमा पनि ठूल्ठूला उद्योगधन्दाको सम्भावना त्यति सहज छैन, त्यसैले मुलुकको आर्थिक समृद्धिका लागि पनि सिपयुक्त हात, लगन, धैर्य र निरन्तरताको खाँचो छ ।

यही सत्य र तथ्यलाई झापा भद्रपुरका निर्मल शाक्यले अनुभूत गरेका छन् र आफ्नो सिप खेर जाने वस्तुमा जीवन दिएर आर्थिक विकासको बाटो खोज्दैछन् । त्यसो त हामीकहाँ पुख्र्यौली पेशालाई निरन्तरता दिने मानसिकता क्रमशः हराउँदै गएको छ । काठका, फलाम वा अन्य धातुका चित्र, मूर्ति, हतियार र अन्य सामग्री बनाउनेतर्फ नयाँपुस्ता विकर्षित हुँदै जान थालेको छ । ‘श्रीखण्ड चिन्नेले त्यसलाई निधारमा लगाउँछन्, नचिन्नेले खुर्पामा बीँड हाल्छन्’ –यो व्यवहार सिद्ध कुरा हो । माल पाएर चाल पाइएन भने आफूसँग भएका मूल्यवान वस्तु कौडीमा पनि बिक्दैनन् । त्यसैले आफूसँग भएको, आफ्ना पुर्खाले थामी ल्याएको हस्तकलाका विशिष्ट सिप र कलालाई लोप हुन नदिनेतर्फ राज्यले पनि संरक्षणसहितको पहल गर्नैपर्छ ।

भद्रपुरका निर्मलले खेरजाने बाँसको जरामा जीवन खोजेरै मनग्य आम्दानी गरिरहेको समाचार स्वदेशमा कामै छैन भन्नेहरुलाई जवाफ हुनसक्छ । त्यही जरा, काठ र पातमा सिप पोख्दै गरेका निर्मललाई उनकी श्रीमतीको पनि पूर्ण साथ, सहयोग रहेको छ । माग धान्न कै लागि कामदार थप्नु परेको सुसमाचार हुन सक्यो भने आत्मनिर्मरता र स्वरोजगारीका लागि सहायक हुन्छ नै । आर्थिक अवस्थाका कारण हस्तकलाका सामग्रीहरु नेपालीका लागि पहुँचमा छैनन् । त्यसैले समृद्ध देशहरुमा यस्ता सामग्रीहरु निर्यात हुन्छन् । बढी मेहनत र समय लाग्ने हुनाले लागत बढी हुने यस्ता वस्तु क्यानडा, जापान, अमेरिका र युरोपका देशहरुमा बढी बिक्छन् । माग अनुसार उत्पादन गर्न नसक्दा अहिले पनि अपेक्षित लाभ लिन नसकेको अवस्थामा स्थानीय सरकारले पनि त्यतातर्फ ध्यान दिनु पर्दछ । रोजगारीको प्रशस्त सम्भावना बोकेर यस क्षेत्रमा सहयोग गर्न सके दिगो र समावेशी आर्थिक विकास पनि सहज हुन्छ । यसलाई संरक्षण गर्न सकिए दिनहुँ दुई हजारभन्दा बढी युवाहरुको विदेशिने क्रमलाई पनि रोक्न सकिने थियो । प्राचीनकालदेखि नै निर्यात व्यापारमा उल्लेख्य हिस्सा ओगटेको हस्तकलाका सामग्री विश्वका चालीसभन्दा बढी देशमा निर्यात भइरहेको छ । त्यसैले आवश्यक नीति निर्माण गरी आर्थिक विकास र रोजगारीको सृजना गर्ने नेपालीको पहिचान बनिएको हस्तकलाको प्रवद्र्धनमा राज्यको उचित ध्यान जानुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here