कर्मयोग र ज्येष्ठ नागरिक भवन बनाउन मेघाबारी टोलमा महायज्ञको आयोजना

0
138

बिर्तामोड, झापाको बिर्तामोड–४ स्थित मेघाबारी टोलमा पहिलो पटक कर्मयोग, ज्येष्ठ नागरिक चौतारीसहितको बहुउद्देश्यीय सामुदायिक भवन निर्माण गर्ने उद्देश्यले महापुराण आयोजना गरिने भएको छ ।

फागुन २० गतेदेखि २७ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गर्न लागिएको पुराण आयोजक समितिकी अध्यक्ष भीमा शिवाकोटीले जानकारी दिनुभयो । नगरमा गणेश पाञ्चायन मन्दिर निर्माण गरेर फागुन ९ गतेदेखि १२ गतेसम्म प्राण प्रतिष्ठा पश्चात उद्घाटनसमेत गरिसकिएको उहाँले बताउनुभयो ।

मन्दिर निर्माणका लागि विभिन्न दाता महानुभावहरुबाट १३ लाख ३१ हजार ४९० रुपैयाँ खर्च भएको छ र मन्दिर निर्माणमा बिर्तामोड नगरपालिकाले चार लाख रुपैयाँ समेत प्रदान गरेको छ । श्री सिद्धिविनायक भजन किर्तन मण्डलीको अगुवाइमा निर्माण गरिएको मन्दिरमा आवश्यक रंग युनिक पेन्ट्सले, टायल्स शाकम्बरी ट्रेडर्सले सौजन्य गर्नु भएको छ भने मुर्ति स्थानीय समाजसेवी गणेश खरेलले सौजन्य गर्नुभएको हो ।

पुराण आयोजना गर्न २० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । महापुराणबाट एक करोड रुपैयाँ संकलन गर्ने लक्ष्य रहेको आयोजक समिति अध्यक्ष शिवाकोटीले बताउनुभयो । “सापटी लिएर पुराणको तयारी गरिरहेका छौं”, उहाँले भन्नुभयो, “स्वेच्छिक दान संकलन गर्छौं ।”

पुरानमा करिब २० हजार भक्तजनले आउने अपेक्षा रहेको पुरान आयोजक समितिका सचिव पुष्प खड्काले बताउनुभयो । पहिलो चरणमा जग्गा खरीद गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । दोस्रो चरणमा बहुउद्देश्यीय बहुतले भवन निर्माणको काम थालिनेछ ।

निर्माण हुने संरचना सिंगो बिर्तामोड नगरबासीको मात्र नभएर आसपासका क्षेत्रका मानिसहरुको समेत सम्पत्ति रहेको आयोजकले जनाएको छ । मन्दिर निर्माणका लागि बिर्तामोड–४ का समाजसेवी जग्गादाता गुरुप्रसाद ओझाले निःशुल्क ११ धुर जग्गा प्रदान गर्नुभएको छ भने थप ११ धुर जग्गा खरीदका लागि बैना गरिएको छ ।

महापुराणमा भागवत मञ्जरी पुज्या राधिका दासीको प्रवचन रहने छ । पुराणका लागि भीमा शिवाकोटीको संयोजकत्वमा आयोजक समिति, ३१ सदस्यीय सल्लाहकार समिति र २७ सदस्यीय सचिवालय गठन भइसकेको छ ।

आयोजक समितिका सहसंयोजकहरु सूर्य कन्दङ्वा, छविलाल विश्वकर्मा, जनबहादुर (जेबी) जबेगु, श्री सिटौला, नारायण राजवंशी र शिव खनाल रहनु भएको छ । सचिव पुष्प खड्का, सहसचिवहरु केशव उप्रेती, उमा भट्टराई र दिनेश अधिकारी र कोषाध्यक्ष यामप्रसाद न्यौपाने हुनुहुन्छ ।

केशव भट्टराईको संयोजकत्वमा प्रचारप्रसार र सिता न्यौपानेको संयोजकत्वमा ६५ सदस्यीय स्वयम्सेवक परिचालन उपसमिति गठन भएको छ । विभिन्न २७ वटा उपसमितिहरु निर्माण भएका छन् ।

तीन वटा गेटको फ्लेक्स र हाइजेनिक खाद्य पदार्थ डिलाइट फुड्सले सौजन्य गरेको छ । पण्डाल तथा आसपासको क्षेत्र चौबिसै घण्टा सिसि टिभीको निगरानीमा रहने छ भने उक्त सिसि टिभी नोबेल टेक्नोलोजी सिस्टम्स प्रा.लि.ले सौजन्य गरेको छ ।

पण्डाल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । विभिन्न भजन किर्तन मण्डली, टोल विकास संस्थाहरु, वडा कार्यालय, विभिन्न संघसंस्थाहरु, सामाजिक सञ्जाल, पोष्टरलगायतको माध्यमबाट प्रचारप्रसारको कामलाई तीव्रता दिइएको छ । दान दिन इच्छुक दाताको सहजताका लागि क्युआर कोड, बैंक खातासमेत व्यवस्था गरिएको छ ।

कलश यात्राका लागि नैनकला भट्टराई र रञ्जु प्याकुरेलको संयोजकत्वमा उपसमिति गठन गरिएको छ । १ हजार ८ कलश आयोजक समितिले खरिद गरेको छ भने अनुष्ठान पश्चात उक्त घडा खरिद गर्न इच्छुक महानुभावहरुलाई बिक्री गर्ने गरि बुकिङ खुल्ला गरिएको छ । कलश यात्रामा सहभागिताका लागि विभिन्न संघसंस्थाहरुलाई समेत अनुरोध गरिएको छ । कलश यात्रा २० गते विहान ठीक ९ बजेदेखि शुरु गरिने छ । पुराणस्थलबाट शुरु भएको यात्रा मुक्तिचोकहुँदै फर्कने छ ।

कार्यक्रमको औपचारिक उद्घाटन सम्माननीय सभामुख देवराज घिमिरेबाट हुनेछ । कार्यक्रमको उद्घाटन कलशयात्रा पश्चात दिनको १२ बजे हुनेछ । अनुष्ठानको कथा वाचन फागुन २१ गते आइतबार ११ बजेदेखि हुनेछ भने २७ गते समापनको कार्यक्रम रहेको छ ।

पुराण आयोजक समिति अध्यक्ष शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रसार प्रसार उपसमिति संयोजक केशव भट्टराईले गर्नुभएको थियो

।।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here