दुधे ।

तेस्रो कर्णबहादुर नेम्बाङ स्मृति भेट्रान प्रतियोगितामा बिहीबार भएको खेलमा तरहरा भेट्रान क्लब सुनसरी अन्तिम चारमा प्रवेश गरेको छ ।
दुधे रंगशालामा भएको खेलमा बिर्तामोडलाई ट्राइबेकरमा ४–२ गोलले पाखा लगाउदैँ तरहरा अघिल्लो चरण प्रवेश गरेको हो । पहिलो हाफको १९ औं मिनेटमा बाबुलाल हस्तीको गोलले अग्रता लिएको तरहरा धेरै समय टिक्न सकेन। पहिलो हाफको २४ औं मिनेटमा बिर्तामोडका केसान्त शेर्माले गोल गरेसगैँ खेल १–१ को बराबरीमा पुग्यो। दोस्रो हाफमा दुवै टिमले कुनै पनि गोल गर्न नसकेपछि खेल ट्राइब्रेकरमा धकेलिएको हो ।
ट्राइब्रेकरमा तरहराका सन्तोष बस्नेत,रमेश गुरुङ,मित्र बस्नेत र प्रेम लिम्बूले गरेको प्रहार गोलमा परिणत भयो । बिर्तामोडका लागि पुर्णबहादुर लिम्बू र लोक बहादुर आलेले मात्र गोल गरे। बिर्तामोडका दिपेन गिरिको प्रहार तरहराका रक्षक सन्तोष राईले उत्कृष्ट बचाउ गरेका थिए । बिर्तामोडका मोहन विश्वकर्माको प्रहार पोलमा लागेसगैँ खेल तरहराको पक्षमा बन्यो ।
खेलको म्यान अफ दि म्याच विजेता टिमका गोलरक्षक सन्तोष राई घोषित भए । भोली पहिलो सेमिफाइनलको खेल आयोजक दुधे भेट्रान क्लब र हाम्रो इटहरी भेट्रान क्लब सुनसरीबिच हुने आयोजक समितिका सन्तोष नेम्वाङले जानकारी दिए ।
प्रतियोगिताको विजेताले रु १ लाख १ हजार र उपविजेताले रु ५१ हजार सहित मेडल,ट्रफि र प्रमाणपत्र पाउने छन् ।प्रतियोगिताको सर्वोकृष्ट खेलाडी,उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट टुनामेन्टलाई पुरस्कृत गरिने छ । प्रतियोगितामा सहभागि मध्ये टिमबाट प्रत्येक खेलमा उत्कृष्ट खेलाडिलाई म्यान अफ दि म्याचको रुपमा पुरस्कृत गरिने छ ।


























