दुर्गमका बालबालिकामा कुपोषणको समस्या

0
183

ओखलढुङ्गा,

यहाँका दुर्गम क्षेत्रका बालकालिकामा कडा कुपोषणको समस्या देखिएको छ । जिल्ला अस्पताल रुम्जाटारमा आएका बिरामी बालबालिकामध्ये दुर्गम क्षेत्रका अधिकांश बालबालिकामा कडा कुपोषणको समस्या देखिएको हो ।

पछिल्लो समय जिल्ला अस्पतालसहित यहाँका सबैजसो स्वास्थ्य संस्थामा कडा कुपोषणका बिरामीको सङ्ख्या बढेको जिल्ला अस्पतालका सूचना अधिकारी उमा गुरुङले बताउनुभयो । यकीन तथ्याङ्क आइनसकेको भए पनि दैनिक आउने बिरामीमा समस्या बढ्दो देखिएकाले सावधानी अपनाउन र बिरामीको उपचारमा जोड दिन अस्पतालले सरोकारवाला निकायसँग पहल गरिरहेको सूचना अधिकारी गुरुङको भनाइ छ ।

“विगतभन्दा कुपोषणको दर बालबालिकामा निकै बढेको छ, उपचारका लागि स्वास्थ्य संस्थामा आउने धेरैमा कडा कुपोषण देखिन्छ”, सूचना अधिकारी गुरुङले भन्नुभयो, “जङ्क फुडको प्रयोग बढ्दो छ, यसले कुपोषणको दर बढाएको हुन सक्छ, हामी यकीन तथ्याङ्क पनि लिन्छौँ र समाधानका लागि सरोकारवालालाई सुझाव दिन्छौँ ।” अभिभावकले आफ्ना बालबालिकाको स्वास्थ्यका बारेमा ख्याल गर्नुपर्ने उहाँको भनाइ छ ।

कुपोषणका बिरामी बढेपछि जिल्ला अस्पतालले स्थानीय सरकारसँगको साझेदारीमा गाउँ–गाउँमा पुगेर कुपोषणको दर पत्ता लगाउँदै बच्ने उपायबारे सचेतना दिन सुरु गरेको छ । यसैबीच खिजिदेम्बा गाउँपालिकाका १३ बालबालिकामा कडा कुपोषण फेला परेको छ । जिल्ला अस्पताल रुम्जाटार र खिजिदेम्बा गाउँपालिकाले गाउँगाउँमा पुगेर गरेको परीक्षणबाट १३ बालबालिकालाई कडा कुपोषण भएको फेला परेको हो ।

खिजीदेम्बाका वडा नं १, २, ३, ६ र ९ मा पुगेर पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको अवस्था परीक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख इन्द्र गौतमले बताउनुभयो । अन्य बालबालिकालाई मध्यम कुपोषण पाइएको गौतमको भनाइ छ । कडा कुपोषण फेला परेका बालबालिकालाई जिल्ला अस्पताल लगेर उपचार गरिने स्वास्थ्य शाखा प्रमुख गौतमले जानकारी दिनुभयो । मध्यमखालको कुपोषण भएका बालबालिकालाई बाल भिटा वितरण गर्दै पौष्टिक आहार खुवाउन सुझाव दिइएको छ ।

अधिकांश विपन्न परिवारका बालबालिकामा कडा तथा सामान्य कुपोषण देखिएको छ । उपचारका लागि रुम्जाटार लैजानुपर्ने बालबालिकालाई गाउँपालिकाको स्वास्थ्य शाखामार्फत यातायात खर्च व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here