भारतसँग छलफल नगरी बनाइएको गौतमबुद्ध विमानस्थल संचालनमा समस्या

0
96

काठमाण्डौ,

अन्तर्राष्ट्रिय उडानका लागि चाहिने हवाई रुटको अनुमति, आवश्यक उपकरण जडानमा सरकारले समयमै काम नगर्दा विमानस्थल सञ्चालनमा आउन सकेको छैन। भैरहवा विमानस्थलको प्रमुख समस्या हवाई रुट हो।

भैरहवा ।भैरहवामा गौतमबुद्ध विमानस्थल निर्माण सकिँदै गर्दा मुलुकमै उत्साह थियो। तर, अहिले झन्डै ४० अर्ब लागतमा बनेको विमानस्थलको संरचना कर्मचारीले कुरेर बस्नेमा मात्रै सीमित भएको छ। अन्तर्राष्ट्रिय उडानका लागि चाहिने हवाई रुटको अनुमति, आवश्यक उपकरण जडानमा सरकारले समयमै काम नगर्दा विमानस्थल सञ्चालनमा आउन सकेको छैन। भैरहवा विमानस्थलको प्रमुख समस्या हवाई रुट हो।

यो विमानस्थलको गत जेठ २ गते उद्घाटन भएको थियो। कुवेतको जजिरा एयरवेजले उद्घाटन उडान गर्दै कात्तिकसम्म सातामा दुई उडान गर्‍यो। जाडो मौसमसँगै भैरहवा विमानस्थलका सबै अन्तर्राष्ट्रिय उडानहरू ठप्प छन्। मौसम खराबीका कारण तीन पटक अन्तर्राष्ट्रिय उडान भारतको लखनउ विमानस्थलमा विमान डिभाइर्ट गर्नुपर्दा यात्रुहरूले समस्या झेल्नु परेको थियो।

भैरहवा विमानस्थलबाट कुवेतको जजिरा एयरवेजले नियमित उडान र हिमालयन एयरलाइन्सले चार्टर उडान भर्दै आएको थियो। जजिराले मौसम खराबी र हिमालयन एयरलाइन्सले प्राविधिक समस्याका कारण केही समयका लागि उडान स्थगित गरिएको विमानस्थल कार्यालयलाई जानकारी गराएयता उडान भएको छैन।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दराज दाहाल विमानस्थल नै बन्द नभएको नभई केही समय अन्तर्राष्ट्रिय उडानहरू मौसमका कारण रोकिएको बताउँछन्। उनले अब उडानहरू नियमित हुने तालिका बनिरहेको बताए।

विमानस्थलमा क्याटोगरी–१ को आइएलएस उपकरणहरूका साथै क्याटोगरी–२ का उपकरण पनि प्रयोग गरिएको छ। आइएलएस क्याटोगरी–१, क्याटोगरी–२, क्याटोगरी–३ को ए, बी, सी उपकरणले पनि क्रमशः खराब मौसममा पनि विमानलाई उडान–अवतरण गर्नमा सहजता प्रदान गर्ने हो। क्याटोगरी–२ मा केही थप उपकरण जडान गरेर खराब मौसममा पनि विमानस्थल सञ्चालन गर्न सकिने विषय भए पनि आइएलएस सूचारु गर्दा भारतको भूमिमा रेन्ज पुग्ने हुँदा उक्त कार्य नगरिएको दाहालले बताए।

अनुमतिबिना उक्त कार्य गरिएमा विमान दुर्घटना वा कुनै समस्याको क्षतिपूर्तिको दाबी गर्न नमिल्ने उनी बताउँछन्। सरकारबाट अनुमतिका लागि गम्भीर भएर भारतसँग छलफल भएको छैन। अर्बौं ऋणमा बनेको विमानस्थल सञ्चालनको दैनिक खर्च लाखौं रुपैयाँमा छ। गौतमबुद्धबाट उडान भर्नका लागि २०/२५ वटा मुलुकका विमान कम्पनीहरूले छलफल गरेका छन्। तर सुविधा, सुरक्षा, नाफा लगायतका विषयमा कुनै न कुनै कमी भएकाले तत्कालै उडान भर्न इच्छुक नदेखिएको विमानस्थल कार्यालयका एक कर्मचारीले बताए।

एअर रुट सिधा नभएको, बी ३४५ टु वे हुन नसक्नु हाल वान वे मात्र भएको, नो अब्जेक्सन लेटर भारतीय नागरिकलाई विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्नका लागि आवश्यक पर्नेमा सो नभएको, आइएलएस सञ्चालन मुख्य चुनौती रहेको विमानस्थल कार्यालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here