नेपाली साहित्य विधामा स्मृतिग्रन्थको पनि निकै उच्च स्थान रहेको छ । स्मृतिग्रन्थमा समाज र देशका लागि योगदान गर्ने व्यक्तित्वहरुको जीवनीदेखि उनीहरुको किर्तिहरु संकलन गरि सविस्तार समेटिन्छन्, लेखिन्छन् । यसै मेसोमा भर्खर एक स्मृतिग्रन्थ प्रकाशित भएको छ । त्यो ग्रन्थ हो ‘गोपीकृष्ण खनाल स्मृतिग्रन्थ’ ।
स्मृतिग्रन्थमा गोपीकृष्ण खनालको जीवनीदेखि कृतिहरु प्रकाशित भएका छन् । पहिलो लेखको रुपमा सम्झनाको तरेलीमा गोपीकृष्ण दाइ शीर्षकमा अमृतलाल श्रेष्ठको लेख छापिएको छ । सम्झनामा गोपीकृष्ण दाइ शीर्षकमा आरती पोखरेल अनुको लेख, गोपीकृष्ण दाइसँग मेरो आत्मियता शीर्षकमा कृष्ण सुवेदी निराकार, जसभाग गोपीकृष्णको शीर्षकमा गणेश निरौलाको, गोपीकृष्ण खनाल मेरा पुस्तक र पत्रिकाका पृष्ठहरुमा एक झल्को शीर्षकमा चूडामणि रेग्मीको, मेरा स्मृतिमा गोपीकृष्ण खनाल शीर्षकमा देवीचरण भण्डारी सरोजको, मैले चिनेका गोपीकृष्ण खनाल शीर्षकमा बिबि विश्वकर्माको, मेरा नजरमा श्रद्धेय काका शीर्षकमा रमिता प्रसाईको, गोपीकृष्ण खनाललाई सम्झँदा शीर्षकमा विनोद खनालको, गोपीकृष्ण खनाल एक सम्झना शीर्षकमा सरोज ओलीको, सम्झनामा गोपीकृष्ण खनाल शीर्षकमा हस्त परियारको लेख लगायत एक सय २६ जना विद्वान लेखकहरुका गोपीकृष्ण खनाल सम्बन्धी लेख प्रकाशित भएका छन् ।
गोपीकृष्ण खनालकाबारेमा लेखक इन्द्रनारायण सुवेदीको विचार स्मृतिग्रन्थमा प्रकाशित भएका छन्, खनाल सरल, हँसमुख, बोलैया, क्रियाशिल व्यक्ति भएका र सम्मान पुरस्कार र विभुषण हेर्दा २०४३ देखि २०७५ सालसम्मको एउटा लामो सूची नै बन्न सक्ने देखिन्छ । आफ्ना जीवनकालमा उहाँले ३५ भन्दा बढी संघ–संस्थामा रही कुशलतापूर्वक नेतृत्व गर्नुभएको तथ्यबाट उहाँको सामाजिक सद्भाव जनविश्वास र नेतृत्व गर्ने क्षमता र व्यक्तित्व आफैँ प्रष्ट हुन्छ ।
गीता खत्रीको इमान्दार सर्जक गोपीकृष्ण खनाल शीर्षकको लेखमा लेखिएको छ– सन् २०१५ मा उहाँ अमेरिका भ्रमणमा आउनु भएको थियो । त्यसैबेला वाशिङ्टन डिसीमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आयोजना गरेको साहित्यिक कार्यक्रममा गोपीकृष्ण खनाललाई उहाँले नेपाली भाषा साहित्यमा पुर्याउनु भएको योगदानको कदर गर्दै सम्मान गरेको थियो । जीवन जिउने क्रममा उहाँले विभिन्न प्रकारका काम गर्नुभयो । कहिले होटेलको व्यवस्थापक बन्नुभयो भने कहिले छापाखानाका प्रमुख ।
कहिले पत्रकार बन्नुभयो त कहिले साहित्यकार । उहाँका गीतहरुले रेडियो नेपालबाट बज्ने अवसर पाएका छन् । उहाँलाई स्वच्छ छवि भएका साहित्यिक अभियन्ताभन्दा कसैलाई नराम्रो लाग्दैन होला । सत्य र तथ्यबाट कहिल्यै टाढा जानु भएन । उहाँ स्पष्टवक्ता हुनुहुन्थ्यो । कहिले पनि कुनै किसिमको लोभ, लालच, मिलिभगत तथा बेइमानी काममा संलग्न हुनुभएन । पुराना पुस्ता र नयाँ पुस्ताबीच सेतु बनेर उहाँ समाजलाई एक ढिक्का बनाउन कहिल्यै पछि पर्नु भएन ।
‘व्यक्तिगत रुपमा गोपीकृष्ण खनाल दाइ सादा जीवन उच्च विचारका धनी, शालीन, मृदुभाषी र मिलनसार हुनुहुन्थ्यो । उहाँले आफ्ना भावी कार्य योजना र सपनाहरु थुप्रै–थुप्रै छोडेर जानु भएको छ, साथै समाजका लागि धेरै गरेर पनि जानु भएको छ । उहाँका भावी कार्ययोजना र सपनाहरु अब यो समाजले गर्नुपर्नेछ । मान्छे भएर जन्मिएपछि समाज र राष्ट्रका लागि केही न केही त गर्नैपर्छ नि नत्र पशु र मान्छेमा के फरक हुन्छ र देवी भाइ ? भनेर बेला बेला मलाई दोहोर्याई रहनुहुन्थ्यो गोपीकृष्ण दाइ ।’ –यी उद्गारहरु साहित्यकार देवीचरण भण्डारी सरोजको लेखमा उल्लेख भएका छन् ।
मैले चिनेका गोपीकृष्ण खनाल शीर्षकमा बीबी विश्वकर्माको लेखमा खनालबारे यस्तो उल्लेख छ, तिनी विभिन्न संघ–संस्थाद्वारा प्रकाशित स्मारिका र पत्रपत्रिकामा सम्पादक भएका थिए । लगभग ३६ वटा संघ–संस्थामा विभिन्न महत्वपूर्ण पदमा आसीन भएर चौकी मात्र तताएनन् ओष्ठमात्र चलाएनन् उनले परिश्रम गरे रातदिन समाजकै उत्थानको काम गरे । त्यसैकारण उनी लगभग १७ वटा संघ–संस्थाबाट विभिन्न सम्मानपत्र, पुरस्कारहरुले सम्मानित भएका छन् भने नेपाल सरकारबाट पनि एघार वटा पुरस्कार र सम्मानपत्र ग्रहण गरिसकेका व्यक्ति नेपाली समाजको एकजना ऐतिहासिक मानिस मान्नुपर्ने हुन्छ ।
विद्वान साहित्यकार सरोज ओलीको शब्दमा गोपीकृष्ण खनाल, गोपीकृष्ण खनाल बहुआयामिक प्रतिभाका धनी थिए । उनी पत्रकार, सम्पादक, लेखक, कविका साथै एक कुशल संगठक पनि थिए । उनले नयाँ कामनामा थुप्रै स्तम्भकारहरुलाई स्थान दिएका थिए । उनको पक्षघात कविता संग्रहले नेपालको समसामयिक अवस्थाको चित्रण गरेको छ । भारतका विभिन्न तीर्थ स्थानहरुको संस्मरणमा लेखिएको यात्रानुभूति पनि अध्येताहरुका लागि उपयोगी पुस्तक हो ।
बेला–बेलाका वैचारिक बिम्ब पुस्तक उनको धेरै महत्वपूर्ण निबन्ध संग्रह हो । गोपीकृष्ण खनाल व्यक्तिको कामको मूल्यांकन गरेर सम्मान गर्ने व्यक्तिहरु मध्येका एक सक्षम व्यक्ति थिए । गोपीकृष्ण एक संघर्षशील व्यक्ति थिए । यसरी विभिन्न विद्वान, लेखक, साहित्यहरुका उद्गारहरुबाट गोपीकृष्ण खनाल देशका एक होनाहार प्रतिभा भएका तथ्य तथा भाव व्यक्त भएका छन्् ।
यस स्मृति ग्रन्थमा, शुरुमा अध्यक्षको कलम, सम्पादकीय र प्रकाशकीय छापिएका छन् । जसमा यो ग्रन्थ तयार पारिनुका उद्देश्य लेखिएका छन् । साथै गोपीकृष्ण खनालका खास विशेषताहरु र उच्च विचारहरु प्रकाशित भएका छन् जस्तै गोपीकृष्ण सधैँ राष्ट्रिय पोशाक लगाएर राष्ट्रको सम्मान गर्दै चिनारी दिन नसके पनि टोपी लगाउन सकिन्छ, टोपी मात्र लगाएर पनि राष्ट्रप्रति सम्मान गर्न सकिन्छ, परिचित हुनुपर्छ भन्नुहुन्थ्यो । आपूm सधैँ टोपी लगाउनुहुन्थ्यो, अरुलाई पनि टोपी लगाउन विशेष आग्रह गर्नुहुन्थ्यो ।
यसपछि गोपीकृष्ण स्मृति प्रतिष्ठान शीर्षकमा प्रतिष्ठानका भनाइ प्रकाशित भएका छन् । त्यसपछि भने स्मृति ग्रन्थको मूल खण्ड शुरु हुन्छ । मुल खण्डमा विभिन्न विद्वान, लेखक तथा साहित्यकारहरुका १२५ लेख प्रकाशित भएका छन् । त्यसपछि परिशिष्टहरु प्रकाशित भएका छन् । जसबाट स्रष्टा, समाज तथा देश सेवक गोपीकृष्ण खनालका विशेषता, प्रतिभा, योगदान र लेखकहरुसँगका रोचक प्रसंगहरु समेटिएका छन् । जसले पाठकवर्गलाई एक महत्वपूर्ण सन्देश प्रवाह गर्दछ ।
गोपीकृष्ण खनाल एक राष्ट्र चिन्तक थिए । लामो समय पत्रकारिता कर्ममा सम्बद्ध भएर सम्पादकीय मार्पmत देशप्रति अगाध प्रेम दर्शाउने एक सच्चा राष्ट्रवादी थिए । मोफसलमा लामो समयसम्म पत्रकारितामा टिक्नु चानचुने त्याग पक्कै होइन । स्रष्टा खनालका कृतिभरी देशको प्रणाली, वैचारिक, बौद्धिक कमजोरीहरु प्रति पिरलो पाइन्छ । चाहेमा र जानेदेखि छोटै अवधिमा नेपाल संसारकै समृद्ध र उत्कृष्ट राष्ट्र हुनसक्ने सम्भावना रहँदारहँदै पनि राजनीतिक नेतृत्वहरुले देशलाई शताब्दियौँ पछाडि धकेलेका प्रति खनालका कृतिहरुमा अत्यन्त चिन्ता व्यक्त गरिएका छन् । त्यस्तै गरि प्रस्तुत स्मृतिग्रन्थमा गोपीकृष्ण खनालका कामहरुकाबारे विस्तृत रुपमा वर्णन गरिएका छन् ।
पिता मनोरथ खनाल, माता पवित्रा खनालका पुत्र गोपीकृष्ण खनालको जन्म वि.सं. २००४ पौष २९ गते खाम्लालुङ्ग सामथाङ्ग तेह्रथुममा भएको हो । बिर्तामोड–४ झापामा स्थायी बसोबास रहेका खनाल अंग्रेजी, हिन्दी, बङ्गाली भाषा पनि जान्दथे । बेलायत, अमेरिका लगायत दर्जन विदेश र नेपालको ५० जिल्लाभन्दा बढी भ्रमण गरी नेपालका विभिन्न आयामहरुबारे अनुभव आर्जन गरेका थिए । उनका धेरै फुटकर सामग्रीहरु लगायत थुप्रै कृतिहरु प्रकाशित भएका छन् ।
बाडुली द्वैमासिक, विवेचना मासिक, भानु साहित्य मासिक, रहर साहित्य मासिक, साप्ताहिकहरुमा नयाँ विचार, मनकामना, नयाँ कामना र मोती समस्या पूर्ति प्रकाशन जस्ता पत्रपत्रिकाका लागि सम्पादनको जिम्मेवारी बहन गरेका अग्रज पत्रकार गोपीकृष्ण खनालले समयसान्दर्भिक, रोचक, चोटिला र निर्भिक कलमका माध्यमबाट समाज र देशका लागि अथाह योगदान गरेका छन् । राष्ट्र प्रमुखसम्मबाट विभुषण पाएका छन् । कैयन पुरस्कार र सम्मानबाट सुशोभित भएका छन्, स्मृति ग्रन्थबाट जान्न सकिन्छ । गोपीकृष्ण खनाल स्मृति प्रतिष्ठानद्वारा प्रकाशित यस ‘गोपीकृष्ण खनाल स्मृतिग्रन्थ’ कृति लगायत उनका समस्त कृति र किर्तिहरुले पत्रकार, स्रष्टा तथा समाज तथा देश सेवक खनाललाई अमर बनाइराख्ने छन् र नोपली समाजमा महत्वपूर्ण सन्देश प्रवाह गरिरहने छन् ।