मौलिकताको संरक्षण : गुन्द्रकमा व्यवसायिकता

0
112

पूर्वी नेपालको इलाम जिल्लाको छुट्टै र विशिष्ट पहिचान छ । सूर्योदयको जिल्लाको परिचय बनाएको इलाम आर्थिक गतिविधिका दृष्टिले पनि पूर्वकै अगुवा जिल्ला हो । अदुवा, अम्रिसो, अलैंची, आलु र ओलन उत्पादनमा अग्रणी भएकै कारण इलामलाई पाँच ‘अ’ को जिल्ला पनि भन्ने गरिन्छ । यस हिसाबले पर्यटन तथा आर्थिक क्षेत्रमा पूर्वका चार जिल्लामध्ये इलाम विश्वमै चिनिएको जिल्ला हो भन्दा अतिशयोक्ति ठहरिन्न शायद । चिया रोपणबाट देशकै अगुवा र विदेशी मुद्रा आर्जन गर्ने जिल्लामा दरिएको इलाम पछिल्लो समय चिया लगायत पाँच वटै ‘अ’बाट उत्पादित वस्तुको बिक्रीवितरण र निर्यातबाट आत्मनिर्भर बन्ने अभियानमा प्रयत्नरत छ ।

इलामको दक्षिणी क्षेत्र रोङ गाउँपालिका दक्षिणमा झापा र पूर्वमा भारतसँग जोडिएको पालिका हो । यस क्षेत्रको आर्थिक क्षेत्रलाई चलायमान बनाउन कुटीडाँडास्थित पाथीभरा माताको मन्दिरले अहम् भूमिका निर्वाह गरेको छ । त्यसबाहेक सूर्योदयको दृश्य हेर्न झण्डीडाँडा र रोङदेखि झापाको बाहुनडाँगी आइपुग्ने पदमार्गले पनि सम्भावना बोकेको छ । यही मेसोमा भर्खरै रोङ गाउँपालिकाले नेपाली खाद्य परिकार गुन्द्रुकको व्यावसायिक उत्पादन शुरु गरेको छ । नेपालीको मौलिक खाद्य परिकारलाई विश्वव्यापीकरण गर्दै आयआर्जनको गतिलो माध्यम बनाउँदै स्थानीयबासीलाई आर्थिकरुपले सबल बनाउने पालिकाको प्रयास अनुकरणीय छ । पालिका अध्यक्ष मनिकुमार स्याङ्बोले मुला र रायोको सागबाट उत्पादित गुन्द्रुकको व्यावसायिक उत्पादनबाट स्थानीय सरकार र जनता प्रत्यक्षरुपले जोडिने बताएका छन् ।

गाउँपालिकाको आर्थिक सहयोग तथा अनुदानमा सहकारी मार्फत सञ्चालन गरिएको कारखानाले खाद्य सुरक्षा, गुणस्तर र शुद्धतामा विशेष ध्यान दिने बताइएको छ । यसले रोजगारीको अवसर समेत प्रदान गर्ने भएकाले त्यत्तिकै नष्ट हुने सागबाट स्वस्थकर खाद्यवस्तु निर्माणमा योगदान दिने अपेक्षा गर्न सकिन्छ । आर्थिक क्षेत्रको विकासमा देशमै उत्कृष्ट घोषित सूर्योदय नगरपालिकासँग दुईतर्फ सीमा जोडिएको रोङले सहकार्य समेत गर्न सके त्यहाँको आर्थिक जीवन थप चलायमान हुने निश्चित छ । देशका दुई सय त्रियानब्बे नगरापलिकामध्ये आर्थिक विकासका क्षेत्रमा उत्कृष्ट भई ‘म्युनिसिपल एक्सिलेन्स अवार्ड’ प्राप्त सूर्योदयको स्पर्शले रोङ पनि आलोकित होस् र आर्थिक विकासका लागि गुन्द्रुकको व्यावसायिक उत्पादनसँगै अन्य सम्भावनाको ढोका खोल्न सक्षम होस्, शुभकामना प्रकट गर्दछौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here