सडक निर्माणमा कमसल सामग्री प्रयोग गरेपछि…

0
101

विनोद सापकोटा,
झिलझिले ।

शिवसताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ थोप्रा (रोशन)ले निर्माणाधिन माईधार–दोमुखा कालोपत्रे सडकखण्डमा पर्ने ह्युमपाइपमा जडान भएको हेडवाल भत्काएका छन् ।

पालिकाको जेसीभी आयोजना स्थलमा लगेर उनले ‘हेडवाल’ भत्काएका थिए । ‘हेडवालमा’ प्रयोग भएको ढुंगा कमसल भएको अनुगमनका क्रममा भेटिएको भन्दै उनले नगरपालिकाको जेसीभी बोलाएर ठाउँको ठाउँ ‘हेडवाल’ भत्काएका हुन् । उनले भने– ‘विकास निर्माणमा कसैसँग पनि कुनै पनि विषयमा ‘कम्प्रमाइज’ हँुदैन ।’ उक्त योजना स्थानीय सतासी निर्माण सेवाले ठेक्का लिएको थियो ।

प्राविधिकका अनुसार हेडवालमा ४० प्रतिशत फोस्के ढुंगा भेटिएको थियो । ‘मेयर साहेवले हटाउन निर्देशन दिएपछि तत्काल ती ढुंगा हटाइएको हो’–नगरपालिकाका एक प्राविधिकले भने । ‘फोस्के ढुंगामा माटोको मात्र धेरै हुने हुँदा सिमेन्टसँग सजिलै जोडिँदैन । कमसल ढुंगा प्रयोग हुँदा ह्युमपाइपको हेडवाल कच्चा भएर जुनसुकै बेला पनि क्षति हुने सक्छ’ –ती प्राविधिकले भने ।

ठेकदार होस् या उपभोक्ता समिति मार्फन नै किन नहोस् । नगरमा सञ्चालन भएका हरेक योजनाको अनुगमन नगरपालिकाबाट हुन्छ । पालिकासँग भएको सम्झौता विपरीत निर्माण सामग्री प्रयोग भएको पाइए निर्माणाधीन आयोजना भत्काइने उनले बताए । आयोजनाको म्याद पटक–पटक थट गर्ने, म्याद गुजार्ने र ढिला सुस्ती गर्ने ठेकदार वा उपभोक्ता समितिका पदाधिकारीलाई पालिकाले ‘ब्ल्याक लिष्ट’मा राख्ने पनि उनले बताए ।

माईधार—दोमुखा सडक गएको फागनु ३ गतेदेखि निर्माण शुरु भएको थियो । चार करोड २४ लाख ८३ हजार दुई सय ४५ रुपैयाँको लागतमा निर्माण शुरु भएको सो सडकमा दुई वटा ह्युमपाइप निर्माण हुनेछ । यस्तै तीन वटा बक्स कल्भर्ट पनि निर्माण हुने नगर प्रमुख थोप्राले बताए । उनका अनुसार नालारहीत सडकको सात मिटर चौडा कालोपत्रे हुनेछ ।

आन्तरिक तथा बाहिय पर्यटकका लागि पूर्वको आकर्षक गन्तव्यका रुपमा स्थापित दोमुखासम्म पुग्ने सडक २०३३ सालमा निर्माण भएको थियो । त्यसपछि यो सडकको स्तरोन्नति हुन सकेको थिएन । नगर गौरवको योजना अन्तरगतका रुपमा सञ्चालित उक्त कालोपत्रे योजनाको अनुगमन गर्न मेयर थोप्रा सातामा पाँच पटकसम्म पुग्ने गरेको स्थानीय रामबहादुर दाहालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here