कोशीका तीन जिल्ला क्षयरोगको उच्च जोखिममा

0
134

पार्थ मण्डल,
भद्रपुर ।

कोशी प्रदेशका तीन जिल्ला क्षयरोगको संक्रमण उच्च जोखिममा रहेको छ । विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य निर्देशनालय धनकुटाले भद्रपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय झापाका अधिकृत विश्वनाथ श्रेष्ठले कोशी प्रदेशका झापा, मोरङ र सुनसरी क्षयरोगको संक्रमण उच्च जोखिम रहेको बताएका छन् । हरेक वर्ष क्षयरोगीको संस्था बढ्ने क्रममा छ ।

आर्थिक २०७७/०७८ मा झापामा नौ सय ९२, मोरङमा नौ सय ६२ र सुनसरीमा आठ सय ८९ नयाँ बिरामी फेला परेको थियो । आर्थिक २०७८/०७९ मा झापामा एक हजार एक सय ८३, मोरङमा एक हजार दुई सय ६२ र सुनसरीमा एक हजार ६० बिरामी फेला परेको अधिकृत श्रेष्ठले बताए । लगभग ५० प्रतिशत नेपाली जनसंख्या क्षयरोगले ग्रसित छ । हरेक वर्ष करिब ६९ हजार नयाँ क्षयरोगीहरू नेपालमा थपिने र ३७ हजार बिरामी हराउने गर्छन् ।

बर्षेनि करिब १७ हजार नेपाली क्षयरोगले मर्ने तथ्याङ्कमा उल्लेख छ । क्षयरोगीहरूको उमेर समूह धेरैजसो उत्पादक उमेर समूह अर्थात् १५ देखि ४९ वर्ष हुने गर्दछ । नेपालमा क्षयरोगको उपचारका लागि चार हजार तीन सय २१ डट सेवा केन्द्रहरू रहेका छन् । सन् २०१६ सम्मा ४५ जिल्लामा मात्र रहेको जिन एक्सपर्ट सुविधा सन् २०२१ सम्मा ७७ वटै जिल्लामा लाने नेपाल सरकारले लक्ष्य लिएको थियो । तर, कोभिडको महामारी र विषम परिस्थितिका कारणले अपेक्षा अनुरूप यो लक्ष्य पूरा भइसकेको छैन । यस प्रविधि क्षयरोग पत्ता लगाउन धेरै भरपर्दो र गुणस्तरीय मानिन्छ ।

यता झापाका १५ वटा पालिका मध्ये मेचीनगर, दमक र बिर्तामोड क्षयरोग संक्रमणको जोखिम पालिकामा पर्छ । चालू आर्थिक वर्ष २०७९/०८० को फागुनसम्म मेचीनगरमा एक सय १७, दमकमा ८९, बिर्तामोडमा ७६, भद्रपुरमा ६५, अर्जुनधारामा ५४ नयाँ बिरामी फेला परेको तथ्याङ्कमा छ । आर्थिक वर्ष २०७८/०७९ मा जिल्लामा १४ जनाको क्षयरोगबाट मृत्यु भएको थियो ।

भद्रपुरमा डिआर सेन्टर स्थापना

स्वास्थ्य निर्देशनालय धनकुटाले भद्रपुर–८ स्थित क्षयरोग निवारण संस्थामा डिआर सेन्टर सञ्चालनमा ल्याएको छ । प्रादेशिक अस्पताल भद्रपुरको पहलमा स्वास्थ्य निर्देशनालयले विश्व क्षयरोग दिवसको सन्दर्भमा पारेर डिआर सेन्टर सञ्चालनमा ल्याएको हो ।

यसअघि कोशी प्रदेशमा विराटनगर, धरान र ओखलढुङ्गामा डिआर सेन्टर सञ्चालनमा आइसकेको छ । साविक मेची अञ्चलका झापा, इलाम, पाँचथर र ताप्लेजुङका क्षयरोगी बिरामीको सेवा सुविधालाई मध्यनजर गरी डिआर सेन्टर सञ्चालनमा ल्याएको हो ।

डिआर सेन्टर सञ्चालनका लागि आवश्यक स्वास्थ्य सामग्री र उपकरण स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको छ, भने प्रादेशिक अस्पतालले चिकित्सकसहितको जनशक्ति खटाएको जनाइएको छ । डिआर सेन्टर सञ्चालनमा आएसँगै औषधि प्रतिरोधी क्षयरोग बिरामीहरूलाई प्रत्यक्ष फाइदा पुग्ने प्रादेशिक अस्पतालका मेसु डा. टङ्कप्रसाद बाह्रकोटीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here