
नर्सरी (बालकक्षा)देखि कक्षा १२ सम्म निरन्तर १४–१५ वर्षसम्म हामीले नानीहरूलाई शिक्षा दिन विद्यालयमा पठाउँछौं । तर, खाजाका रूपमा प्याकिङ खाना र स्वास्थ्यलाई असर पु¥याउने खाजा खुवाउने काम अल्पपोषक वा पत्रुखाना भनेर जानिने जङ्कफुड १४ वर्षसम्म खुवाइरहने हो भने राम्रो शिक्षा दिनुको के अर्थ हुन्छ, जब कि उनीहरूको स्वास्थ्य चाहिँ बिग्रिसकेको हुन्छ ! स्वास्थ्य बिग्रिसकेका बच्चाले के गर्न सक्छन् ? जङ्कफुडमा प्रोटिन तथा कार्बोहाइड्रेडको उच्च मात्रा हुने गर्छ । शरीरलाई हानी पु¥याउने विविध प्रकारका वस्तुको समेत प्रयोग गरिएका जङ्कफुडहरू बजारमा छ्याप्छ्याप्ति पाइन्छन् । प्लाष्टिकमा प्याकिङ गरिएका खानामा हाम्रा बच्चा आश्रित हुँदै गएको आजको वास्तविकता हो र घरमै बनाएका ताजा खानेकुरालाई नानीहरूले खाजा भनेर स्वीकार नगर्ने परिस्थिति हामीकहाँ विकास हुँदै गएको छ ।
यथार्थ के हो भने, चिनी र सोडाको मात्रा बढी भएका बजारिया खानाहरू बालस्वास्थ्यमैत्री छैनन् । यिनीहरूले अल्कोहल र धुम्रपानले जस्तै असर पु¥याउने चिकित्सकहरूको भनाइ छ । ५० प्रतिशतभन्दा बढी हाम्रा पसलहरू जङ्कफुडले भरिएका छन् र लाग्छ हामी जङ्कफुडको भयावह चक्रव्यूहबाट कहिल्यै मुक्त हुन सक्दैनौं । द्रूत बेगमा बढ्दै गएको जङ्कफुडको प्रयोगबाट पोषणविज्ञ र शिक्षाविद् पनि चिन्तित बन्दै गएको आजको स्थिति हो । बढी क्यालोरीयुक्त तर असन्तुलित खानाले स्वास्थ्यमा प्रतिकूल असर पु¥याउँछ भन्ने बुझाउन ज्यादै कठीन छ किनभने सारा सञ्चारमाध्यमहरू तिनै जङ्कफुडको प्रचारमा छन् र हामी सबैको दिमाग भुटिएको छ ।
जङ्कफुडबाट सबैभन्दा पीडित भएको देश अमेरिका हो । आधुनिक जीवनशैली र व्यस्तताले अमेरिकीहरू तयारी खाना प्रयोग गर्न बाध्य छन् । अबेसिटी अर्थात् मोटोपनबाट पीडित हुनेहरूको सङ्ख्या पनि अमेरिकामा बढिरहेको छ । अहिले अमेरिकी मात्र होइन युरोपेली तथा चिनीयाँहरू समेत स्वस्थ खानपिन र बानीव्यहोरामा परिवर्तन गर्न र तौल घटाउन के–के गर्न सकिन्छ भनेर चिन्तनशील छन् । तर, हामी नेपालीहरूको दिमाग यसरी भुटिएको छ कि विज्ञापन र बजारको भाषा मात्र हामीलाई सत्य लाग्छ । अमेरिकीहरू जङ्कफुडबाट मुक्तिको उपाय खोजिरहेछन् भने हामी नेपाली जङ्कफुड प्रयोग गर्नुलाई सभ्यताको सूचक सम्झिरहेछौं । हामी अस्वस्थ खाना किन्न र खान उत्प्रेरित भइरहेछौं । बिस्कुट बनाउने बेकरी, मिठाइ बनाउने कन्फेक्सनरी तथा कोल्डडिूंक्स बनाउने बिभिरेज कम्पनीहरू नाफाको ध्याउन्नमा छन् । उनीहरूलाई पैसा भए पुग्यो । पोषणतत्व कम हुनु वा असन्तुलित हुनुसँग उत्पादनकर्तालाई कुनै सरोकार छैन ।
फलफूल खानु र सागसब्जीको बढी प्रयोग गर्नु अब त बिरानो लाग्न थालेको छ । स्वस्थ खाना जङ्कफुडभन्दा पनि सस्तो हुनसक्छ भन्ने मान्यता र सोच हामीमा छैन । बालबालिकाका लागि शिक्षा पाउनु जसरी महत्त्वपूर्ण हामी ठान्छौं, भयरहीत वातावरणमा बस्न पाउनुपर्ने उनीहरूको अधिकारको कुरा जसरी हामी ठान्छौं, त्यसरी नै हामीले उनीहरूले स्वस्थ खाना खान पाउनुपर्छ भन्ने कुरालाई उनीहरूको अधिकारको रूपमा बुझेर सोही अनुरूप स्वस्थ खाना दिलाउने वातावरण तयार पार्न पनि आवश्यक छ ।
मोटोपनका कारणमध्ये जङ्कफुडको प्रयोग महत्वपूर्ण कारण हो । चिप्स, क्यान्डी र नुडल्सहरू किनेर खान जति सजिला छन्, तिनीहरू स्वास्थ्यका लागि त्यत्ति नै हानिकारक पनि छन् । जङ्कफुडलाई प्रश्रय दिने विज्ञापनको उत्पादन, प्रकाशन र प्रशारणलाई रोक नलगाउने हो भने यसको प्रयोगको गतिलाई रोक्न मुश्किल छ । घरमा तयार गरिएका खानाहरू जङ्कफुडका तुलनामा ज्यादै स्वस्थ हुन्छन् भन्ने मान्यतालाई पुनस्र्थापित गर्न आवश्यक छ । हरेक गाउँ र बस्ती, विद्यालय र महाविद्यालयका चमेनागृहहरू जङ्कफुडका चाङले भरिएका छन् । विद्यालयको निश्चित क्षेत्रभित्र यस प्रकारका प्याकेजिङ गरिएका खाना बिक्रीवितरणमा प्रतिबन्ध लगाउने हो भने र विद्यालयका चमेनागृह बालमैत्री बनाउने हो भने बालबालिकाको स्वास्थ्यमा सुधार हुन्छ । परिणाम स्वरूप गुणात्मक शिक्षा दिने नारा पूरा गर्न सहयोग पनि पु¥याउँछ ।
बाल्यावस्थादेखि नै शुरु भएको जङ्कफुडको बानीले १४ वर्षसम्मको विद्यालयीय जीवनमा र त्यसपछि पनि निरन्तरता पाउने हो भने जीवनमा यो कुराले धेरै ठूलो जटिलता ल्याउने निश्चित छ । यो कमजोरी कसको हो ? जङ्कफुड बेच्नेको कमजोरी होइन, खाने बच्चाको कमजोरी होइन, विद्यालयका प्रधानाध्यापक र शिक्षकको पनि कमजोरी होइन, राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्रीहरू र सांसदको पनि कमजोरी होइन, अभिभावकहरू यस सम्बन्धमा अनविज्ञ छन् । जिम्मेवारी कसको हो ? यो सम्पूर्ण सभ्यतालाई सक्ने मन्दविष जस्तो नानीहरूको जीवन सम्पूर्ण रूपमा ध्वंश गर्ने जङ्कफुडको प्रयोगमा कमी कसले ल्याउने ? घरायशी खानाप्रति नाक खुम्च्याउने र स्वादबिनाको खाना सम्झिने हाम्रा नानीहरूको बानी कसरी बदल्ने ? नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा विभागले जङ्कफुड विद्यालय परिसरमा नबेच्न मातहतका निकायहरूलाई पाँच वर्षअघि नै निर्देशन गरे पनि कसैले त्यसको चर्चा सम्म पनि गरेन ।

सरकारी विद्यालयका शिक्षक र प्रशासकहरू सरकारी तलबको आशामा छन्, उनीहरूको ध्यान त्यसैमा छ । शिक्षक अभिभावक सङ्घ र विद्यालय व्यवस्थापन समिति पनि मौन छन् । दल राजनीतिमा छन्, बच्चाको भविष्यमा छैनन् । निजी विद्यालयका सञ्चालकहरू नाफाका पछि छन्, उनीहरूलाई पैसासँग मतलब छ, बच्चाको स्वास्थ्यसँग होइन । हामी अभिभावकहरू पनि बच्चाबच्चीको मागलाई प्रमुख मान्छौं र उनीहरूको स्वास्थ्य हाम्रो लागि दोस्रो महत्वको हुन्छ, कतिपय अवस्थामा यी सबै कुरा चेतनाको कमजोरीका कारणले भइरहेका छन् । उच्च प्रशोधित खाना हेर्नमा र खानमा आकर्षण रहे पनि साँचो अर्थमा तिनीहरू स्वास्थ्यमैत्री छैनन् भन्ने कुरा बुझाउने कसरी ?
जङ्कफुडको माखेसाङ्लोबाट फुत्किन अत्यन्तै कठीन छ, तर असम्भव छैन । यो साझा चुनौति हो यो र यसको समाधान पनि सामूहिक प्रयत्नबाट मात्र सम्भव छ । व्यावहारिक सल्लाहसुझावबाट यसको न्यूनीकरणको प्रक्रिया शुरु हुन्छ । यसको समाधान दीर्घकालीन अभियानबाट मात्र सम्भव छ । यो समस्या एक–दुई वर्षमा शुरु भएको होइन र यसको समाधान पनि धेरै लामो समय लगाएर हुन्छ । तसर्थ, यो अभियान चुनौतिपूर्ण छ । जनस्वास्थ्य र मातृ तथा शिशुको स्वास्थ्य सम्बन्धी विषयमा निरन्तर खोज, अनुसन्धान गर्दै विभिन्न सञ्चार माध्यममार्फत आफ्ना विचार सम्प्रेषण गर्दै आफ्ना नानीबाबुलाई जङ्कफुडबाट टाढा राख्न सबै अभिभावकलाई सल्लाह दिने धेरै डाक्टर तथा स्वास्थ्यकर्मीहरू छन् ।
त्यसमध्ये एक हुन्– डा. अरुणा उप्रेती । उनको विचारमा बाबुआमा, समाज र नाफा कमाउने होडमा जनस्वास्थ्यलाई ख्याल नगर्ने द्रव्यपिचाशी मानसिकताका कारण बालबच्चाहरू जङ्कफुडको डरलाग्दो दलदलमा फँसिरहेका छन् । किशोर तथा युवा (टिनएजर्स)लाई सोध्नै पर्दैन, के खान मनपर्छ भनेर । किनभने उनीहरूको रेडिमेड जवाफ हुन्छ– ‘पिज्जा, बर्गर ।’ उनीहरूको दैनिक खान्कीमा दालभात होइन, मम, चाउमिन लगायत फास्टफुड हुन्छ । त्यस बाहेक कुरकुरे, लेज, आलुचिप्स, कोल्ड ड्रिंकमा उनीहरूको जिब्रो लोभिएको छ । त्यही कारण त टिनएजर्स आफ्नो भान्साभन्दा बढी रेष्टुरेन्ट चाहरिरहेका हुन्छन् ।
जङ्कफुड भन्नाले आम रूपमा विश्वमै चिप्स, मिठाइ जस्ता अल्पाहारलाई बुझिन्छ । बर्गर, पिज्जा जस्ता फास्टफुडलाई पनि जङ्कफुडकै रूपमा मानिन्छ । उच्चवर्गका लागि जङ्कफुडको सूची लामो हुन सक्छ भने मध्यम वर्गका लागि यही कुरा भिन्न हुन सक्छ । गएको दुई दशकमा नेपालमा जङ्कफुडका कारण रोगीहरूको सङ्ख्या बढ्दै गएको पाइएको छ । जङ्कफुड खाँदा त मीठै लाग्छ, तर यसले शरीरलाई अपेक्षित फाइदा पु¥याउँदैन । यस्ता खाद्यपदार्थको सेवनपछि शरीरमा तुरुन्त बोसो जम्मा हुन्छ । यस्तो बोसो शरीरको कम्मर, नितम्ब र खुट्टामा जम्मा हुन्छ । अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकले यो दाबी नयाँ अनुसन्धानपछि गरेका हुन् । त्यसमा बताइए अनुसार, जङ्कफुड सेवनको केही घन्टापछि शरीरमा बोसो एकत्रित हुन थाल्छ, जुन निरन्तर बढ्दै जान्छ । खाना खाएपछि बोसो रगतको माध्यमले शरीरभरि फैलिन थाल्छ । यसको उपयोग मांसपेसीले आवश्यकता अनुसार गर्छ । तर, बाँकी रहेको चिल्लो बोसोयुक्त तन्तुको रूपमा कम्मर, नितम्ब र खुट्टामा जम्मा हुन्छ ।
अनुसन्धान अन्तर्गत यो प्रयोग केही व्यक्तिमा गरिएको थियो । उनीहरूलाई बोसोले परिपूर्ण खाद्यपदार्थ खान दिइयो । खाएको एक घण्टाभित्र त्यस्तो बोसो सम्पूर्ण शरीरमा रगतमा ससाना थोपाको रूपमा उपस्थित भएको पाइयो । अनि पछि शरीरका अन्य भागमा एकत्रित भएको देखियो । फास्टफुड र जङ्कफुडमा बालबच्चा मात्र होइन युवा वर्ग पनि सामेल भइरहेका छन् र जङ्कफुडले अत्यधिक रूपमा समस्या बढ्दै गएकाले पोषण विशेषज्ञ र चिकित्सकहरू जङ्कफुडको उपयोग घटाउन र सन्तुलित आहार बढाउन आवश्यक रहेकोमा जोड दिइरहेका छन् । जङ्कफुडले खाद्यान्न तथा खाद्यपदार्थमा परनिर्भरता बढाउँछ । विज्ञापनले यसलाई बढाउने काम गरिरहेको छ । सजिलो र आफ्नो सहजताका लागि बच्चालाई जङ्कफुड दिनु भनेको उनीहरूलाई कमजोर बनाउनु हो । हामी जसरी आफ्ना बालबच्चालाई धूमपान गर्न, रक्सी सेवन गर्न, गाँजाभाङ सेवन गर्न अभिप्रेरित गर्न सक्दैनौं, त्यसरी नै जङ्कफुडबाट बचाउन पनि त्यतिकै मेहिनेत गर्नुपर्छ ।
घरमा बनाइएका ताजा खाना र खाजालाई नमिठो मान्ने, त्यस्तो खाना खाँदा अरु साथीको सामु अपमान महशुस गर्ने बालबालिकाका लागि जङ्कफुडमुक्त वातावरण निर्माण गर्न कार्ययोजनासहित अभिभावक र विद्यालय परिवार समर्पण भावका साथ लागीपर्ने हो भने जङ्कफुडको महामारीलाई रोक्न सम्भव छ । जङ्कफुडका जङ्कीहरूलाई ‘स्वस्थ खाना नै जीवन हो र धेरैजसो रोगको औषधि पनि स्वस्थ खाना नै हो’ भने आधुनिक औषधिविज्ञानका जनक हिप्पोक्रेटसले भनेको कुराको शिक्षा दिन आवश्यक छ । जङ्कफुड सम्बन्धी कानुनको आवश्यकता छ हाम्रो देशमा र दोस्रो महत्त्वपूर्ण घरको रूपमा रहेको विद्यालय नै यस्तो ठाउँ हो, जहाँबाट यसको दीर्घकालीन समाधानका लागि काम गर्न सकिन्छ ।
अभिभावक, विद्यालय, सञ्चारमाध्यमहरू, महिला स्वास्थ्य स्वयम्सेविकाहरू, स्थानीय स्वास्थ्य कार्यकर्ताहरूले जङ्कफुडका बेफाइदा र साधारण स्वस्थ खानाको फाइदाको बारेमा नानीहरूलाई प्रष्ट पार्नुपर्छ । स्वस्थ खाना खाने बानीको विकास गर्न सबै पक्षको सकारात्मक सोच हुन जरुरी छ । कलिला नानीहरू र उदाउँदा युवाको स्वास्थ्य रक्षाका लागि सबै सजग बन्न आवश्यक छ । बालबालिकालाई जङ्कफुड दिनु भनेको स्वास्थ्य बिगार्न, शरीर कमजोर बनाउन, पूरा उमेर नबाँची अल्पायुमै मर्न र दुःख–मेहिनेतले कमाएको सम्पत्ति पनि अस्पताल र चिकित्सकलाई बुझाउन शुभाशिष दिएको ठहर्छ । अब जङ्कफुडमुक्त सुन्दर समाज निर्माण गर्न ढिला गर्न हुँदैन र यसका लागि मुख्यतः घरपरिवार, समाज र विद्यालय सजग, सतर्क र क्रियाशील हुनुपर्छ । ‘स्वस्थ खाना, स्वस्थ सन्तति, उज्ज्वल भविष्य’ को मूलमन्त्रलाई सबैले आत्मसात गर्न आवश्यक छ । अल्पपोषक खाना वा जङ्कफुडको प्रयोग रोक्नु वा न्यूनीकरण गर्नु सबै पक्षको कर्तव्य हो ।


























