पेट्रोलियम पदार्थ: भारतमा भन्दा नेपालमा महंगो

0
101

लक्ष्मी उप्रेती,
मेचीनगर ।

नेपालमा बर्षेनि बढिरहेको पेट्रोलियम पदार्थको माग घट्न थालेको छ । पेट्रोलियम पदार्थ नेपालमा भन्दा भारतमा सस्तो भएको तथा विकास निर्माणको काम कम हुँदा खपत घटेको अनुमान गरिएको छ ।

गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्ष ०७९/०८०को फागुनमसान्तसम्म पेट्रोलियम पदार्थको खपत घटेको मेची भन्सार कार्यालय काँकरभिट्टाले जनाएको छ । भन्सार अधिकारीका अनुसार पूर्वी नाका भएर भित्रिने पेट्रोल, डिजेल, एलपी ग्यास तथा मट्टीतेलको आयात चालूआर्थिक वर्षको शुरुदेखि नै घट्दो क्रममा रहेको छ ।

भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष ०७९/०८०को फागुन मसान्तसम्ममा काँकरभिट्टा नाका भएर ३ अर्ब ५२ करोड ८० लाख ५८ हजार ६ सय ८२ रुपैयाँ मूल्य बराबरको ६१ हजार ५ सय ५६ किलोलिटर पेट्रोल आयात भएको छ । तर, अघिल्लो आवको सोही अवधिमा ३ अर्ब ७१ करोड ६७ लाख ६ सय २६ रुपैयाँ मूल्य बराबरको ६७ हजार ४ सय ८० किलोलिटर पेट्रोल आयात भएको भन्सारको अभिलेखले देखाएको छ । अघिल्लो आवको तुलनामा चालू आवमा पेट्रोलको आयात १८ करोड ८७ लाख ३२ हजार ८ सय २४ रुपैयाँले घटेको छ ।

अघिल्ला वर्षहरूमा वार्षिक १५ प्रतिशतको औसतदरले पेट्रोलियमको खपत बढ्ने गरेको थियो । यो चालू आवमा भने इन्धन खपतमा खासै सुधार नआएको भन्सार अधिकारीहरुको भनाइ छ । डेढ वर्षअघि नेपाल आयाल निगम घाटामा हुँदा भने पेट्रोलियम पदार्थको खपत उच्च थियो । अहिले खपत घट्दा तुलनात्मक रूपमा बढी नाफादर राख्नुपरेको छ ।

एक जना भन्सार अधिकारीका अनुसार पछिल्लो समय नेपालमा पेट्रोलियम पदार्थको खपत घटनुको मुख्यः कारण, भारतमा भन्दा नेपालमा महंगो हुँदाको परिणाम हो । भारतबाट आयात हुने भए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य भारतमा भन्दा सस्तो हुने गरेको छ । कर कटौती तथा अन्य सुविधा दिँदा भने पेट्रोलियमको मूल्य घट्न गई नेपालमा महंगो हुने गर्छ । पछिल्लो केही समयदेखि भारतको तुलनामा नेपालको पेट्रोलियम लगातार महंगो भइरहेको छ ।

‘अघिल्ला आवमा नेपालको तुलनामा भारतमा पेट्रोलियम पदार्थको मूल्य बढी थियो’– नाम नलेखिदिने शर्तमा ती उच्च अधिकारी भन्छन्– ‘नेपालमा सस्तो हँुदा दैनिक ५ देखि ७ सयसम्म भारतीय सवारी साधन नेपालमा तेल हाल्न आउथे, कतिले त ठूल्ठूला ड्रम र आफ्ना सवारी साधनमा अतिरिक्त तेलको ट्याङ्की जडान गरी अबैध रुपमा भारततर्फ यस्ता बस्तु लैजान्थे । अहिले भारतमा सस्तो छ ती सवारी साधनले नेपालमा तेल हाल्नै छाडे त्यसको असर पनि पनि हो आयात घट्नु ।’

नेपालमा महंगो हुँदा यसले भारततर्फ हुने इन्धन तस्करी रोकिएको छ । अघिल्ला आवहरुमा पेट्रोल–डिजेल भारतको तुलनामा प्रतिलिटर ३०देखि ४० रुपैयाँसम्म सस्तो थियो । जसकारण सीमा क्षेत्रका पेट्रोलपम्पबाट ठूलो परिमाणमा इन्धन तस्करी भई भारत जाने गरेको थियो । त्यतिवेला सीमा क्षेत्रका पम्पले पेट्रोल र डिजेल दैनिक दुई ट्यांकर (४० हजार लिटर) सम्म बिक्री गरेको झापाका एक पम्प व्यवसायीले बताए । सीमातिरका पम्पले भारतका ठूला–साना सवारीलाई डिजेल बिक्री गरेर व्यापार गर्ने हो ।

मेची पेट्रोलियम डिलर्स एशोसिएशनका अध्यक्ष नवीन कोइरालाका अनुसार पेट्रोलियम पदार्थको आयात परिमाण घट्नुमा भारतमा मूल्य सस्तो हुनु र नेपालमा विकास निमार्णमा काम कम हुनु प्रमुख कारण हो । पेट्रोलियम पदार्थको माग देशभरकै अनुपातमा झापामा ५० प्रतिशत र अन्य समयको तुलनामा जिल्लामा ३५ प्रतिशतले कमी आएको छ । यसको मुख्यः कारण मूल्यमा उतारचढावनै रहेको ठहर उनको छ । केही दिनदेखि भारतको तुलनामा नेपालमा पेट्रोल प्रतिलिटर ८ रुपैयाँ महँगो छ ।

अहिले पेट्रोलियम पदार्थको मूल्य नेपालमा भन्दा भारतमा कम छ । ‘गत वर्ष नेपालमा भन्दा भारतमा मूल्य महँगो थियो । जसको कारण सीमापार क्षेत्रका भारतीय गाडीहरू नेपालमा आएर पेट्रोलियम पदार्थ खरिद गर्दथे’ कोइरालाले भने– ‘अहिले नेपालमा भन्दा भारतमा पेट्रोलको मूल्य कम छ । जसले गर्दा सीमा क्षेत्रका नेपालीहरुले भारतमा गएर पट्रोल खरिद गर्छन् । जसको कारण आयात परिमाणमा कमी आएको छ ।’ साथै, सामान ढुवानीको लागि भारत गएका गाडीहरुले पनि उतैबाट पेट्रोल लोड गरेका आउँदा नेपालमा पेट्रोल आयात परिमाण घटेको उनको धारणा छ ।

अघिल्लो आवको तुलनामा चालू आवमा पूर्वीनाकाबाट हुने डिजेलको आयात समेत ३९ करोड ३७ लाख ६५ हजार ६ सय ८२ रुपैयाँले कम छ । भन्सारको तथ्याङ्क अनुसार चालू आवमा यो नाका भएर १ अर्ब ९७ करोड ४५ लाख ७४ हजार ७ सय ३५ रुपैयाँ मूल्य बराबरको ४५ हजार ५ सय ५२ किलोलिटर डिजेल आयात भएको छ । तर, अघिल्लो आवमा भने २ अर्ब ३६ करोड ८३ लाख ४० हजार ४ सय १७ रुपैयाँ मूल्य बराबरको ६२ हजार ६ सय ८३ किलोलिटर डिजेल आयात भएको अभिलेखमा उल्लेख छ ।

खाना पकाउने ग्यास (एलपीजी) को आयात समेत घटेको छ । कार्यालयले दिएको जानकारी अनुसार गत आवमा काँकरभिट्टा नाका भएर ३४ करोड ३९ लाख ३४ हजार ३ सय ४५ रुपैयाँ मूल्य बराबरको १६ करोड ५७ लाख ४ हजार ३३ केजिएम खाना पकाउने ग्यास (एलपीजी) को आयात भएको थियो । चालु आवमा भने त्यो परिमाण घटेर ३२ लाख ८१ हजार ५९ हजार ५ सय ३० रुपैयाँ वा १५ करोड ५७ लाख ५६ हजार ६ सय ६० केजिएममा सिमित रहेको छ । जुन रकम र केजिएम अघिल्लो आवको तुलनामा १ करोड ५७ लाख ७४ हजार ८ सय १५ रुपैयाँले कम हो ।

मट्टितेलको आयात समेत कम छ । अघिल्लो आवको यही अवधिमा काँकरभिट्टा नाका भएर ३३ करोड ६ हजार ४८ हजार रुपैयाँ मूल्य बराबरको २ हजार ८ सय ८ किलोलिटर मट्टितेल आयात भएको थियो । तर, चालू आवमा भने, १५ करोड ६४ लाख ८ हजार रुपैयाँ मुल्य बराबरको १ हजार ३ सय ४ किलोलिटर मट्टितेल आयात भएको छ ।

पेट्रोलियम पदार्थको खपत कम हुँदा आयातमा समेत गिरावट आई सरकारको राजस्व संकलनमा प्रत्यक्ष असर परेको छ । कम राजश्व संकलन हुनुमा पेट्रोलियम पदार्थको आयातमा भएको कमीले यस क्षेत्रबाट उठ्ने राजस्वमा आएको गिरावट नै हो । ‘राजश्व घट्ने मुख्य कारण पेट्रोलियम पदार्थको आयात कम नै हो’– एकजना भन्सार अधिकारीले भने– ‘कूल राजस्वको ४० प्रतिशत पेट्रोलियम पदार्थले ओगटेको छ । कार्यालयले भन्सार महशुल, अन्तशुल्क, मुल्य अभिवृद्घि कर शीर्षकमा राजश्व संकलन गर्ने गरेको छ ।
यसरी आयात परिमाण घट्दा सरकारले प्राप्त गर्ने राजश्व समेत कम उठ्ने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here