आज राम नवमी पर्व

0
151

सनातन हिन्दू सस्ंकृतिभित्रका महत्त्वपूर्ण चाडपर्वहरु मध्ये मर्यादा पुरुषोत्तम रामसँग सम्बन्धित चैत शुक्ल राम नवमी पर्वको तर्पmबाट सम्पूर्ण आदरणीय पाठक मित्रहरुमा सु–स्वास्थ्य एवम् समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना !

यस पर्वमा अयोध्या नगरीको विशेष महत्त्व छ । जहाँ त्रेतायुगीन महान प्रतापि राजा दशरथ आफ्ना रानीहरु कौशल्या, कैकेयी र सुमित्रासहित सम्पूर्ण परिवारका साथमा राज्यसुख उपभोग गरी वैभवपूर्ण जीवन बिताउँदै थिए । लामो समयसम्म पनि सन्तान सुख प्राप्त नहुँदा कुनै गल्ती नै नगरेको भए पनि झेल्दै गरेको ग्लानीबाट मुक्त हुने अवसरको खोजीमा गुरु वाशिष्ठसँगको सल्लाह पश्चात पुत्रकामेष्टी यज्ञ गरे । यज्ञबाट प्राप्त खीर खाएपछि रहन गएको रानीहरुको गर्भमा चैत शुक्ल नवमी अर्थात् आजकै दिन जेठी रानी कौशल्याको कोखबाट भगवान श्रीराम यस धराधाममा पदार्पण हुनुभयो ।

धार्मिक तथा पौराणिक मतानुसार भगवान श्रीराम पालनकर्ता भगवान श्रीविष्णुका सातौं अवतार मानिन्छन् । आजको यो पावन दिनमा नेपाल अधिराज्यभरिका राम मन्दिर, कृष्ण मन्दिर र अन्य देवस्थलहरुमा श्रद्धालु भक्तजनहरुको ठूलो भीड लाग्ने गर्दछ । बिहानै ब्रम्हमुहुर्तमै नुहाई–धुवाई सकेर पूजाआजा गर्ने श्रद्धालु भक्तजनहरु ठाउँ–ठाउँमा भजनकीर्तन गर्दै, खुशीयाली मनाउने कारणले घुइँचो भइरहेको हुन्छ । धार्मिक संघ–सस्ंथाहरुद्वारा रामलीलाको प्रदर्शन, झाँकी प्रदर्शन, आध्यात्मिक प्रवचन आदि कार्यक्रमहरु प्रस्तुत भइरहेका हुन्छन् । जनकपुरधाममा रहेको दर्शनीय प्रसिद्ध राम मन्दिर र जानकी मन्दिरमा आज राम नवमीका दिन सबैभन्दा ठूलो मेला लाग्छ ।

भगवान श्रीरामको जन्मदिन आज राम नवमीलाई असत्य र अन्धकार माथि सत्य अनि मर्यादाको बिजयको दिनका रुपमा हेरिन्छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरुले आजको दिन श्रद्धा, भक्ति र आराधनाका माहौलबीच नेपाल, भारत, बङ्गलादेश, म्यान्मार, थाइल्याण्ड, श्रीलङ्का, फिजीटापू, साउथ अफ्रिका अनि इण्डोनेसिया लगायतमा माता सीता र मर्यादा पुरुषोत्तम भगवान रामको चरण–कमलमा साष्टाङ्ग दण्डवत अर्पण गर्दै हर्षाेल्लासपूर्वक खुशीयाली मनाउने गर्छन् ।

भगवान श्रीरामको वीरगाथाका घटनाक्रमहरुसँग मिश्रित भजनहरु अनि व्याख्यानले रामायणको समग्र प्रस्तुतिलाई एउटा महानग्रन्थ निर्माणमा सहयोग पु¥याएको छ । भगवान श्रीराम अनि सीता माताको बारेमा तुलसी दासले ‘राम चरित्रमानस’लाई अवधि भाषामा मिठो छन्द र शब्दावली दिएर समेटेका छन् । यसै राम चरित्र मानसका अवधि श्लोकहरुका आधारमा रामलीला अनि त्यहाँ रहेका श्लोकहरुको मिठासपूर्ण लय अनि माधुर्यतामा राम–सीताका कथामा आधारित नाटकहरु मञ्चन भइरहेका देखिन्छन् ।

राजधानीको बत्तिसपुतली, ललितपुर, भक्तपुर र झापाका राम मन्दिरहरुमा भक्तजनहरुको भीड लाग्ने गर्दछ । राम नवमीमा जनकपुरस्थित रामजानकी मन्दिरमा छिमेकी मुलुक भारतबाट समेत हजारौं श्रद्धालु भक्तजन सहभागी भई पवित्र गङ्गासागरमा स्नानगरी रामजानकी मन्दिरमा पूजा–आराधना गर्दछन् । आज देशभरका नदी, ताल एवम् कुण्डहरुमा सबेरै स्नान गरी चोखोनितो गरी ब्रत बसेर राम गीता, रामायण वाचन गरिन्छ । रामभक्तियुक्त भजनकिर्तन गर्दै रातभर जाग्राम बस्ने चलन पनि छ ।

वैदिक सनातन हिन्दू धर्मसस्ंकृतिमा सबैभन्दा बढी पुजिने भगवानका रुपमा मर्यादा पुरुषोत्तम भगवान रामलाई लिइन्छ । मन थाम्नै नसकिने कथारुपी श्रीरामको जीवनीमा भोलि बिहान सबेरै अयोध्याका युवराज श्रीरामको राज्यभिषेक र राजगद्दी अर्पणको भव्य तयारीको चारैतिर ढ्वाङ् पिटाइएको थियो । सानीआमा कैकेयीले आफ्नो कुटील चाल र अचानकको छलछामबाट परिवन्दमा पारेर रामलाई १४ बर्ष वनबास पठाउने निर्णय सुनाउन राजा वा एउटा निरपराध बाबुलाई बाध्य पारिन् । विचित्रको संयोग थियो, तापनि सहज स्वीकार गर्दै मुस्कुराउँदै पिताको आज्ञा भन्दै वनबास जान तैयार भएका थिए– भगवान श्रीराम । यस्तै धेरै कारणहरुले उनलाई ‘मर्यादा पुरुषोत्तम राम’को नामबाट प्रसिद्ध बनाएको छ ।

रामलाई १४ बर्ष वनबास पठाउने निर्णय गराएकी उनै माता कैकेयी तर्पmका छोरा भरतले वनबासी रामलाई जंगलमा गएर खोजेर भेटेर रामले लगाइरहेको खराउ दरबारमा ल्याएर सिंहासनमा राखेर राज्य शासन गरेको भन्ने सुन्दा अनौठो पनि लाग्छ, भातृ प्रेमको अनुकरणीय नमूना तथा उदाहरण । रामका भाइहरु भरत, लक्ष्मण र शत्रुघ्न तीनै जना भाइहरु भगवान श्रीरामका कट्टर अनुयायी र परमभक्त भएकाले अत्यन्त श्रद्धा र भक्तिभावका दृष्टिबाट हेर्ने गरिएका दृष्टान्तहरु पाइन्छन् ।

भगवान श्रीराम अनि रावणको सन्दर्भलाई खोतल्दा दक्षिणी भारत श्रीलङ्का, माल्दिभ्सतिर रावणलाई श्रद्धापूर्वक पूजा गर्ने चलन रहेको सुन्न पाइन्छ । रावण अत्यन्त ज्ञानी भएको बिषय उनका क्रियाकलाप र भनाइहरुबाट पुष्टि हुने गरेका छन् । रावणलाई थाह थियो ईश्वरको अवतारका रुपमा पदार्पण भएका श्रीरामको हातबाट मृत्यु प्राप्त भएमा परम्गति प्राप्त हुन्छ । त्यही मृत्युपछिको परम्गतिका लागि रावणले अनावश्यक रुपबाट निहुँ खाजेको भन्ने पनि भनाइ छ । तापनि ज्ञानी भए पनि पछिल्ला दिन परस्त्रीमा नजर लगाएका कारणबाट नै उनको शौर्यता, बिद्धता र ज्ञानमा बद्नामी आउँदा अन्त्य निश्चित बन्न गयो । यसैकारण अत्याचारी रावणको बध गरी जनतालाई सुख–शान्ति प्रत्याभूत गराउँदा भगवान श्रीरामलाई युगपुत्रका रुपमा पुज्ने गरिएको देखिन्छ ।

अयोध्याका राजा दशरथका जेठा छोराका रुपमा जन्मलिएका रामको मिथिला नरेश तथा राजा जनककी छोरी सीतासँग विवाह भएको थियो । हिन्दू सनातन धर्मका अनुयायी तथा भक्तहरु राम, कृष्ण, हनुमान लगायतलाई केवल हिन्दूका सम्पत्तीका रुपमा मात्र ब्याख्या नगरी भागवत गीतारुपी सागरदेखि पुराणहरुको अध्ययन र श्रवणले हिन्दूधर्मलाई धर्मभन्दा पनि जीवन जिउने शैली र कलाको रुपबाट ब्याख्या गर्न थालिएको छ । यसैकारण पनि यस लोकमा भगवान श्रीरामको आगमनलाई आज हजारौं बर्षपछिसम्म पनि उत्तिकै उत्साह, श्रद्धा र खुशीयालीका रुपमा मनाउने गरिएको पाइन्छ ।

राम नवमीका दिन श्रीरामको व्रत, उपवास गरी पूजा, आराधना गर्नाले यो लोकमा सुख, शान्ति र परलोकमा सद्गति पाइने रामायण लगायत धर्मग्रन्थमा उल्लेख गरिएको छ । आफ्ना पिताको आज्ञालाई कठोर नमानि सहजतापूर्वक ग्रहण गरेर मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिनुभएकाले उहाँको सम्झनामा राम नवमी पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख छ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा राम नवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ । विगतदेखि एक युग अगाडि त्रेतायुगमा आजकै दिन व्रत बसी श्रीरामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा बैकुण्ठ बस हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ ।

रामको सत्यता अनि मर्यादित स्वभाव संसारमा सबैका लागि एउटा अनुकरणीय बिषय बनेको छ । सत्यको जीत अनि सबैमा सत्य बोल्ने सामथ्र्य बृद्धि भइरहोस् । यिनै सत्यवक्ता, मर्यादा पुरुषोत्तम अनि ज्ञानी रघुकूलका शिरोमणि राम नामको कृपाले हामी सबैमा सत्मार्गरुपी ज्ञानको ढोका सदासर्वदा खुलिरहोस् । जय श्रीराम !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here