झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा भएको सुरुङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनको मत परिणामले अनेकौं प्रश्नहरू जन्माएको छ । सो निर्वाचनमा दलीय गठबन्धनलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार विजयी बनेपछि नयाँ बहस सृजना भएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र राप्रपा जस्ता ठूला पार्टीबाट अनुमोदित उम्मेदवारलाई बिना दलका स्वतन्त्र उम्मेदवारले पराजित गरे । कतिपयले यो मत परिणामले दलीय व्यवस्थालाई खुल्ला चुनौति दिएको बताए । दुई पटकसम्म साविकको सुरुङ्गा गाविस र एक पटक खानेपानीको नेतृत्व लिएका अधिकारी पारदर्शी, सुशासन र इमान्दार नेतृत्वकर्ताका रूपमा जनतामाझ परिचित छन् । उपभोक्ताले अधिकारीको जीतको मुख्य आधार उनको भ्रष्टाचारमुक्त छवि, मितव्ययी र एक कुशल योजनाकार व्यक्तित्वलाई मतदान गरेर अनुमोदन गरेका छन् । उनी आफ्नो कर्तव्यप्रति जागरुक र परिणाममुखी छन् ।

वास्तवमा सामाजिक संस्थामा गैरराजनीतिक व्यक्तिले काम गर्न सक्छन् । राजनीतिक दलले सबै ठाउँ र अवसर लिनुपर्छ भन्ने छैन । दल बाहेकलाई दिनुहुन्न वा दल इतरकाले गर्न सक्दैनन् भन्ने घमण्ड राख्नु पनि हुँदैन । ठूला दलका ठूला नेताले आफू निकटका व्यक्तिलाई उम्मेदवार सिफारिस गर्ने बित्तिकै जनता वा उपभोक्ताले स्वीकार गर्छन् भनेर अब मान्न सकिँदैन । सुरुङ्गाको चुनावमा नेका, एमाले, राप्रपा, जनता समाजवादी पार्टी (जसपा) र माओवादी केन्द्र मिले पनि मतदाता दलको आग्रह अस्विकार गर्न तयार भए । ताली बजाएर समर्थन गर्दै चुनावी मैदानमा पठाउनु अघि जनताको आवाज पनि बुझ्न आवश्यक छ । त्यसैले त ठूला नेताको सिफारिस र पाँच दलको समर्थन पाएर पनि अध्यक्षका प्रत्यासीले चुनावी मैदानमा हार व्यहोर्नुप¥यो ।
संसदीय क्षेत्रमा भइरहेको भागबण्डालाई त जनताले मान्दै आएका हुन्, तर हरेक संघ–संस्थामा पनि दलले भागबण्डामा पद लिने दिने काम शुरु गरेपछि मतदाता विकल्प खोज्न तयार भएका मात्र हुन् । सामाजिक संघ–संस्थाको नेतृत्व राजनीतिक वा राजनीतिक दल इतरका कार्यक्षमता भएका, रचनात्मक दृष्टिकोण भएका र सबैलाई समेटेर काम गर्न सक्ने जो कोही व्यक्तिले गर्न सक्छन् भन्ने सच्चाइलाई बुझ्न जरुरी छ । अर्को महत्त्वपूर्ण कुरा सामाजिक संघ–संस्थाको निर्वाचनलाई संसदीय निर्वाचन जस्तो तडकभडकपूर्ण बनाउनु नै गलत हो । राजनीतिक दलप्रतिको आस्थालाई संघ–संस्थाको नेतृत्व चयनमा उपयोग गर्ने नेपालमा आम प्रचलन भएको छ, जसका कारण सदैव संस्थाले असल नेतृत्व पाउँछ भन्ने छैन । संघ–संस्थाको चुनावलाई राजनीतिक रङ्ग दिनु सामान्य जस्तो लागे पनि संस्थाको बृहत्तर र दीर्घकालीन हितमा हुँदैन । संघ–संस्थालाई राजनीतिक क्रिडास्थल बनाउनु राम्रो होइन । संस्थाले जो नेतृत्व पाए पनि इमान्दार, कर्तव्यनिष्ठ र संस्थालाई दीर्घकालसम्म असल बाटोमा डो¥याउने नेतृत्व छनोट गर्न आवश्यक हुन्छ ।




























