काठमाडौं ।
![]()
नेपाल आउने विदेशी पर्यटकमध्ये भारतीयपछि चिनियाँ नागरिकको संख्या सबैभन्दा धेरै छ ।
नेपालका लागि चिनियाँ पर्यटकप्रति जति आकर्षण छ, त्यसले निम्याइरहेको आपराधिक घटना पनि उतिकै गम्भीर देखिँदै गएको छ । अवैध कल सेन्टर सञ्चालन गरेर ठगीमा संलग्न हुँदै आएका चिनियाँले नेपाली नागरिकको बैंक खातामा समेत पहुँच राख्न थालेपछि समस्या थप जटिल देखिएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले गत साता अनलाइन ठगीको आरोपमा पक्राउ गरेका १९ मध्ये ९ जना चिनियाँ छन् । उनीहरु लाओस र भियतनामबाट नेपाल आएर ९ महिनादेखि बस्दै आएको देखिन्छ । पक्राउ परेकामध्ये दुईजनाको मात्रै भिसा छ । चारजनाको त राहदानीसम्म छैन । उनीहरुको धन्दा नेपालमा बसेर अनलाइन ठगी गर्ने भएको खुलासा भइसकेको छ । त्योभन्दा डरलाग्दो त केही नेपालीको बैंक खाताको विवरण उनीहरुको हातमा पुगेको छ । पाँचवटा बैंकमा १४ जना नेपालीको नाममा खोलिएका बैंक खाता उनीहरुको नियन्त्रण रहेको खुलेको हो ।
नेपालीलाई बैंकमा खाता खोल्न लगाउने र त्यसको एटीएम, खाता नम्बर र हस्ताक्षर गरिएको चेकबुक सबै चिनियाँले नै प्रयोग गर्दै आएका थिए । नेपालीको खाता नियन्त्रणमा राखेर उनीहरुले १० करोड रुपैयाँको कारोबार गरेको देखिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख मनोज केसीको भनाइ छ ।
नेपालका बैंकमा चिनियाँ आपराधिक गिरोहको पहुँच पुगेको मात्रै होइन । अहिलेसम्म कारोबार गरेको भनिएको १० करोड रुपैयाँ कहाँ पुग्यो भन्ने खुलेको छैन । यसले प्रहरीलाई समेत झस्काएको छ ।
बैंक खाता दुरुपयोग भइरहेको बारे जानकारी दिन राष्ट्र बैंकले अस्वीकार गरेको छ । त्यसो त नेपालमा पछिल्ला केही वर्ष यता चिनियाँ नागरिकको आपराधिक घटनामा संलग्नता बढ्दै गएको छ । नेपालमा चिनियाँ नागरिक अपराधमा संलग्न भएकामा दूतावासले समेत चासो राख्ने गरेको छ । अध्यागमन विभागको तथ्यांकअनुसार अवैध काम संलग्न भएको आरोपमा पछिल्लो चार वर्षमा मात्रै ८३७ जना चिनियाँ देश निकालामा परेको अध्यागमन विभागका निर्देशक कमलप्रसाद पाण्डेले जानकारी दिए ।
देशभरका कारागारमा रहेका २७ हजार कैदीबन्दी मध्य १४ सय ४ जना विदेशी छन् । सरकारले जुन भिसा लिएर आएका हुन् त्यसबाहेकको काममा संलग्न हुनेको निगरानीका लागि निर्देशिका बनाएको थियो । तर त्यसको प्रभावकारी कार्यान्वयन नहुँदा वित्तीय क्षेत्रमै पहुँच पुग्नेसम्मको अवस्था आएको हो ।































