वित्तीय साक्षरताको अभावमा समस्या झेल्दै नेपाली कामदार

0
144

बेदकोट,

पच्चीस वर्षअघि भारत जानुभएका बझाङको दुर्गाथली गाउँपालिका–७ मोरगाउँका धर्मराज मोर हरियाणामा काम गर्नुहुन्थ्यो । सुरुआत मजदुरको रुपमा काम गर्ने उहाँले केही वर्षदेखि चिया, नास्ता र खाना खाने सानो ढावा चलाउनुभएको थियो ।

धर्मराजसँगै उहाँको परिवारका सदस्य पनि ढावामै काम गर्थे । आफूले कमाएको र ऋणदान गरेर छोराको बिहे खर्च जोहो गरेर उहाँ केही दिन अघि हरियाणाबाट घर फर्किनुभयो । तर सँगै ल्याएको रु दुई लाख बढी रकम पश्चिमी सीमा नाका गड्डाचौकीपारी भारतीय सीमा सुरक्षा बल (एसएसबी) नियन्त्रणमा लियो । भारतबाट कति रकम ल्याउन पाइन्छ भन्ने जानकारी नहुँदा बेखर्ची घर पुगेको धर्मराज बताउनुहुन्छ ।

“छोराको बिहे गर्न वर्षौको कमाइ र ऋणदान गरेर ल्याएको रकम बाटोमै खोसियो, भारतबाट कति रकम ल्याउन पाइन्छ भन्ने जानकारी भएन”, उहाँले भन्नुभयो, “त्यो कुरा थाहा भए त सबैले २०/२५ हजार राख्थ्यौँ, पहिले पनि आउथे केही हुँदैनथ्यो, यसपटक कमाइ सबै एसएसबीले राख्यो ।” भारतबाट रु २५ हजारभन्दा बढी रकम बोकेर नेपाल ल्याउन प्रतिबन्ध छ । यसबारे जानकार नहुनु र भारतबाट फर्किदा गाउँभरिका अन्यको पनि रकम ल्याएर आउँदा सीमाभन्दा बढी रकम हुने हुनाले नेपाली कामदारले समस्या झेलिरहेका छन् ।

भारतीय सुरक्षा बलले केही दिनयता नेपालीबाट रु १३ लाख भारु रकम बरामद गरेको छ । भारतमा खाता खोल्न नपाउने तथा बैंकिङ प्रणालीबाट रकम पठाउन नसक्ने भएका कारणसँगै बोकेर आउनुपर्ने बाध्यता रहेको धर्मराजले बताउनुभयो । “भारतीय बैंकमा खाता खोल्न आधार कार्ड अनिवार्य छ, हामीसँग त्यो नहुँदा खाता खोल्न सकिँदैन”, उहाँले भन्नुभयो ।

कामको खोजीमा भारत जानेलाई वित्तीय साक्षरता नहुँदा नेपाली कामदारले समस्या झेल्नुपरेको नेपाल–भारत श्रमिक आप्रवासनमा विद्यावारिधि गर्नुभएका सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक डा दीपकचन्द्र भट्टले बताउनुभयो । “भारतमा मजदुरी गर्न जाने पढे लेखेका हुँदैनन्, केही मात्रै साक्षर हुन्छन्”, उहाँ भन्नुहुन्छ, “कति रकम लैजान पाइन्छ वा बैंकबाट कसरी पठाउन सकिन्छ भन्ने जानकारी नभएर समस्या हुने गरेको छ ।”

अधिकांश कामदारले वर्षभरिको कमाइसँगै बोकेर आउने गरेको उहाँले बताउनुभयो । सरकारले भारतको रोजगारीलाई अझै पनि वैदेशिक रोजगारी मानेको छैन । यही कारणले भारतको रोजगारी व्यवस्थित हुन सकेको उहाँको भनाइ छ । मजदुरी गर्न भारत जानेलाई वित्तीय साक्षरता आवश्यक रहेको उहाँ बताउनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here