२०७९ साल : नेतृत्वमा नयाँ अनुहार‚ चीनसँगको नाका नखुल्दा आयात-निर्यातमा समस्या

0
55

ताप्लेजुङ,

२०७० को दशकलाई बिदा गरी ८० को दशकलाई स्वागत गरिरहँदा जिल्लामा यतिबेला अघिल्लो दशकको समीक्षा भइरहेको छ । ७० को दशकले चिल्ला गाडी चड्ने डेढ दर्जन पालिका प्रमुख जन्माए पनि उपलब्धि कति भयो भन्ने बहस पनि सुरु भएको छ ।

एक नगरपालिका र ८ गाउँपालिका गरी नौ स्थानीय तह रहेको जिल्लाका नागरिकले पाँच वर्षको अन्तरालमा भएको निर्वाचनमा सबैजसो जनप्रतिनिधि परिवर्तन गरे । यसले दुर्गम तथा हिमाली क्षेत्रका नागरिक पनि तीव्र परिवर्तन चाहन्छन् भन्ने सन्देश दिएको पाथीभरा बहुमुखी क्याम्पसका पूर्वप्रमुख मोहन राई बताउँछन् ।

भौगोलिक हिसाबले नेपालको डोल्पा र हुम्लापछिको तेस्रो ठूलो जिल्ला ताप्लेजुङमा भएको जनसंख्या टिकाउन र बढाउन सकेन । २०७८ को जनगणनाअनुसार एक दशकमा झन्डै ८ हजार जनसंख्या कम भयो । सुविधाको खोजीमा भइरहेको बसाइँसराइ, जन्मदरमा कमीजस्ता कारण १ लाख २० हजारमा सीमित भयो । २०६८ को जनगणनामा १ लाख २८ हजार रहेको थियो । निर्वाचन प्रक्रियामार्फत जनप्रतिनिधि चयन गरेपछि काम र परिणाम खोज्ने नागरिकको चाहना दोहोरियो ।

२०७४ सालमा १२ हजार ५ सय ९१ मतान्तरले प्रतिनिधिसभामा निर्वाचित एमाले सांसद योगेशकुमार भट्टराई यो पटक २ सय ८ मतले निर्वाचित हुन पुगे । कोशी प्रदेशमा नयाँ अनुहारको रुपमा एमालेका तिलकुमार मेन्याङबो र कांग्रेसका खगेनसिंह हाङगामले बाजी मारे र मेन्याङ्बो खानेपानी तथा ऊर्जामन्त्री भए ।

फुङलिङ नगरपालिकाले निवर्तमान नगरप्रमुख एमालेका छत्रपति प्याकुरेललाई पराजित गर्दै कांग्रेसका अमिर मादेनलाई अनुमोदन गर्‍यो । फक्ताङलुङका निवर्तमान अध्यक्ष एमालेका सरोज एभेङ पराजित भए र माओवादीका राजल लिम्बू, आठराई त्रिवेणीमा कांग्रेसका विश्वनाथ सिटौला पराजित हुँदा एमालेका दीपेन्द्र पोमु र मैवाखोलामा एमालेका राजन थत्लुङ हार्दा माओवादीबाट विजय वनेम अनुमोदित भए । संघीय संरचनापछि ७४ र ७९ मा गरी १७ जनाले पालिकाको नेतृत्व पाए । झिनो मतले जितेका पाथीभरा याङवरकका केशर मेन्याङवोबाहेक दुई निर्वाचनमा सबै नयाँ अनुहार आए ।

चीन र भारत दुवै देशसँग सिमाना जोडिएको जिल्ला भए पनि ताप्लेजुङले सिमानाको उपयोग गर्न पाएन । चीनमा कोरोना संक्रमण देखिएपछि बन्द भएको ओलाङचुङगोला टिप्ताला भन्ज्याङ नाका अझै खुलेको छैन । नाका खुलाउन पालिका अध्यक्षदेखि प्रतिनिधिसभाका सांसदसम्मले हारगुहार गरेपछि सुनुवाइ भएको छैन ।

नेपालको सीमावर्ती क्षेत्र ओलाङचुङगोला, याङमा, घुन्सामा बनेका गलैचा निर्यात हुन सकेको छैन । वस्तु आयात/निर्यात गर्न नपाउँदा चौरी याकलगायत पशुपालनमा समस्या देखिएको छ । नेपालमा उत्पादन हुने वार्षिक ७ हजार टनमध्ये २८ सय टन अलैंची उत्पादन गर्ने जिल्लाले अपेक्षाकृत मूल्य पाउन सकेको छैन ।

यही दशकको प्रारम्भमा १ लाख २० हजार प्रतिमन (४० किलोको एक मन) पुगेको अलैंची दशकको अन्त्यमा ३५ हजारमा सीमित भएको छ । ३० हजारमाथिको मूल्य यो वर्ष गोदाम गर्न सक्ने किसानले मात्रै पाउन सके । अलैंची व्यवसायी महासंघका जिल्ला अध्यक्ष भद्रवीर रेग्मीका अनुसार यो वर्ष एक दिन ३८ हजारसम्ममा कारोबार भयो । औसत मूल्य २८ हजारमा सीमित रहेको उनले बताए । तमोर नदीमा निर्माणाधीन ७३ मेगावाटको मध्यतमोर जलविद्युत् आयोजना सम्पन्न हुन सकेन । अझै एक वर्षपछि मात्रै निर्माण सम्पन्न हुने आयोजनाले स्थानीय र जिल्लावासीलाई सेयर निष्काशनसम्म गर्‍यो ।

वर्षको अन्तमा चिराइतो र कुचोले भने राम्रो मूल्य पाए । राम्रो मूल्यका लागि कहिले चीनको तिब्बत र कहिले भारतको पश्चिम बंगाल कुदाएका व्यापारीहरूले २०७९ सालमा धेरै दौडधुप गर्नुपरेन । झापाको बिर्तामोडमा चिराइतोले प्रतिकिलो एक हजार रुपैयाँ पाएको चिराइतो व्यापारी हरि मिश्र बताउँछन् ।

मेची राजमार्गलाई चौँडा बनाउने फुङलिङ नगरपालिका प्रमुख अमिर मादेनको चाहना ८० को दशकका लागि सरेको छ । सडक साँघुरो भएकाले सडक दुर्घटना बढेको र सहरको सुन्दरता पनि नभएको भन्दै उनले ड्रेनसहितको १५ मिटरको सडक बनाउने योजना ल्याएका छन् । १५ मिटरभित्र जग्गा पर्ने उपभोक्ताले पुर्‍याएको अवरोधका कारण सडक चौँडाको योजना भने सफल भएको छैन ।-ekantipur

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here