द्रुतमार्गको अनुगमन गर्न प्रधानमन्त्री दाहाल मकवानपुरमा

0
68

वागमती,

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्माणाधीन निजगढ–काठमाडाँैं द्रुतमार्गको अवलोकन अनुगमनका लागि आज मकवानपुरको बकैया आउनुभएको छ । सो अवसरमा उहाँले बकैया–५ राजदमारमा निर्माणाधीन सडक र सुरुङमार्गको अवलोकन गर्नुभयो ।

अवलोकनका क्रममा प्रधानमन्त्री दाहालले दु्रतमार्ग निर्माणको काम सन्तोषजनक रहेको बताउनुभयो । दु्रत मार्ग देशको अति महत्वपूर्ण आयोजना भएकाले यसलाई उच्च प्राथमिकतामा राखेर काम अघि बढाएको बताउनुभयो ।

उहाँले दु्रतमार्ग निर्माणमा उत्पन्न समस्या समाधान गरिने बताउनुभयो । यससँग सम्बन्धित आवश्यक विषयलाई मन्त्रिपरिषद्को बैठकले निर्णय गरेर सहजीकरण गर्ने प्रधानमन्त्री दाहालको भनाइ थियो ।

“यस मार्गको निर्माणको अवस्थाबारे नेपाली सेनाबाट मैले धेरै जानकारी लिइसकेको छु”, उहाँले भन्नुभयो । प्रधानमन्त्री दाहालले राजदमारसहित बकैयाको लेनडाँडास्थित सुरुङमार्ग तथा भीमफेदी–८ महादेवटारमा निर्माणाधीन सुरुङमार्गको स्थलगत अनुगमन गर्नुभएको हो ।

झण्डै चार वर्ष अगाडि मन्त्रिपरिषद्बाट विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) पारित भएपछि नेपाली सेनाले काम थालेको हो । काठमाडौँलाई देशको पूर्वी भाग तथा मधेशसँग जोड्ने द्रुतमार्गको लम्बाइ ५५ दशमलव पाँच किलोमिटर, १० दशमलव छ किलोमिटर पुल तथा छ दशमलव पाँच किलोमिटर सुरुङ रहेको छ । निर्माण सम्पन्न गर्न करिब रु दुई खर्ब १५ अर्ब खर्च हुने अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here