बिर्तामोडको बुद्धनगरमा गुरुङ संग्राहलय निर्माण हुने

0
106

बिर्तामोड ।

झापाको बिर्तामोड–३ स्थित बुद्धनगरमा गुरुङ संग्राहलय निर्माण हुने भएको छ ।

गुरुङ समुदायको संस्कार र संस्कृति बारे नयाँ पिढीहरुलाई जानकारी दिने उद्देश्यले उक्त संग्राहलय निर्माण हुन लागेको संग्राहलयका परिकल्पनाकार एवम् तमू ह्युल छोंज धी राष्ट्रिय परिषद्का केन्द्रीय सदस्य आनन्द गुरुङले बताए ।

तमू ह्युल छोंज धी गुरुङ समाज बिर्तामोड नगर समितिको दुई कठ्ठा जमिनमा निर्माण हुने संग्राहलयको बुधबार एक कार्यक्रमकोबिच शिलान्यास गरिएको छ ।

संग्राहलय निर्माण समितिका अध्यक्ष कुमार गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईंले शिलान्यास गरेकी थिइन् ।

तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको सो संग्राहलय तीन तलाको हुने बताइएको छ । स्टीमेट अनुसार तीन करोड रुपैयाँ कुल लागत रहेको संग्राहलय निर्माण गर्न बिर्तामोड नगरपालिकाबाट चालु आर्थिक वर्षमा १५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
निर्माण हुने संग्राहलयको तेस्रो तलामा सभाहल, दोस्रो तलामा कार्यालय एवम् बैठक कक्ष र पहिलो तलामा परम्परागत गरगहना, भेषभूषा, बाजागाजा, हातहतियार आदिको प्रदर्शनी स्थल रहने समाजका अध्यक्ष सलबहादुर गुरुङले जानकारी दिए ।

कार्यक्रममा तमू ह्युल छोंज धी राष्ट्रिय परिषद्का सल्लाहकार जलकुमार गुरुङ, वडाध्यक्ष मदन बुढाथोकी, नेपाली काँग्रेसका नगर सभापति भोजराज सिटौला, नेकपा एमाले नगर अध्यक्ष सुवास भट्टराईलगायतले मन्तव्य राखेका थिए ।

समाजका सल्लाहकार आनन्द गुरुङले औचित्यसहित स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव लीला गुरुङले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here