सुरुङ्गामा फुड फेस्टिभल तथा पर्यटन महोत्सव हुने

0
135

सुरुङ्गा ।

झापाको सुरुङ्गामा फुड फेस्टिभल तथा सांस्कृतिक पर्यटन प्रबद्र्धन महोत्सव हुने भएको छ ।

नेपााल पर्यटन बोर्डसंगको सहकार्यमा होटल व्यवसायी सङ्घ झापाको आयोजना, होटल व्यवसायी सङ्घ क्षेत्रीय समिति सुरुङ्गाको सहआयोजना र कनकाई नगरपालिकाको सहयोगमा हुने उक्त महोत्सव बैशाख ११ गतेदेखि २३ गतेसम्म हुने भएको छ । सङघद्वारा शुक्रवार होटल डिलाइट सुरुङ्गामा आयोजित पत्रकार सम्मेलनमा महोत्सवको तयारी सम्बन्धमा जानकारी दिइएको थियोे ।

सुरुङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको कार्यालय दक्षिण र ट्राफिक कार्यालय सुरुङ्गाको उत्तरमा रहेको कृषि उपज बजारमा आयोजना हुने महोत्सवमा विभिन्न जातजातिका भेषभूषासहित खानाका परिकार रहने होटल व्यवसायी सङ्घ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठले जानकारी दिइन् ।

व्यवसायीलाई चलायमान बनाउँदै स्थानीय संस्कृति र पर्यटनलाई प्रबद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको श्रेष्ठले बताइन् । महोत्सव सम्पन्न गर्न विभिन्न उप–समिति निर्माण गरिएको होटल व्यवसायी सङ्घ झापाका सचिव तथा महोत्सवका संयोजक ख्यामप्रसाद ओलीले जानकारी दिए ।

प्रेमप्रसाद चुडालको संयोजकत्वमा अनुगमन उपसमिति, अनिता खनालको संयोजकत्वमा स्वागतसत्कार उपसमिति, आकाश लिम्बूको संयोजकत्वमा स्वयम्सेवक परिचालन उपसमिति, भोजराज बाँस्तोलाको संयोजकत्वमा मञ्च निर्माण उपसमिति, चन्द्रा बुढाथोकीको संयोजकत्वमा स्वास्थ्य तथा खानेपानी व्यवस्थापन उपसमिति, तिलक श्रेष्ठको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, इन्दिरा श्रेष्ठको संयोजकत्वमा आर्थिक उपसमिति र शिवकुमार पौडेलको संयोजकत्वमा सांस्कृतिक उपसमिति गठन गरिएको होटल व्यवसायी सङ्घ क्षेत्रीय समिति सुरुङ्गाका पूर्व अध्यक्ष होमप्रसाद बिमलीले जानकारी दिए ।

उक्त फुड फेस्टिभल तथा महोत्सवमा राष्ट्रिय, अन्तर्राष्ट्रिय र स्थानीय स्तरका संस्कृति र खानाका परिकार रहने संयोजक ओलीले जानकारी दिए । उनका अनुसार महोत्सवमा ३० वटा भन्दा बढी खानाका परिकारका स्टलहरू रहनेछन् । महोत्सव सम्पन्न गर्न अनुमानित २९ लाख खर्च हुने र ३५ लाख रुपैयाँ आम्दानी गरी खर्च कटाएर बाँकी रहेको रकम सङ्घको कार्यालयलाई व्यवस्थित गर्न उपयोग गरिने योजना रहेको संयोजक ओलीले जानकारी दिए ।

महोत्सवमा रोटेपिङ, सिक्स रेस, कार रेस, मोटरसाइकल रेस, एयर बोटिङ लगायत स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने छ । बन्द निषेधित शान्तिक्षेत्रको रूपमा सुपरिचित कनकाई नगर पर्यटनको हिसाबले पनि विशेष महत्त्व बोकेको प्रचुर सम्भावना भएको ठाउँमा पर्छ ।

धार्मिक तथा प्राकृतिक पर्यटकीयस्थलहरू कोटीहोम, जगन पाण्डे दरबार क्षेत्र, धनुषकोटीधाम, झण्डीडाँडा, जामुनखाडी सिमसार क्षेत्र, सेल्फीडाँडा लगायतका स्थलहरूको प्रचार पनि गरिने होटल व्यवसायी कैलाश बरालले जानकारी दिए । होटल व्यवसायी सङ्घले हरेक वर्ष कार्यक्रम तालिका बनाएर महोत्सव आयोजना गर्न सुरु गरेको छ । गत वर्ष बिर्तामोडमा महोत्सव आयोजना भएको थियो ।

स्थानीय जातजातिको लोक कला संस्कृति, आधुनिक, पप र ¥याप गीत संगीत पनि प्रस्तुत हुने आयोजक संस्थाका तिलक श्रेष्ठले जानकारी दिए । फुड फेस्टिभलमा ढिँडोदेखि पिज्जा, बर्गरसम्म पाइने होटल व्यवसायी सङ्घ क्षेत्रीय समिति सुरुङ्गाका अध्यक्ष कुमार श्रेष्ठले बताए ।

होटल व्यवसायीहरू भुमा पोखरेल, कुमार पाठक, सुरेश तिवारी उपस्थिति रहेको पत्रकार भेटघाट कार्यक्रमको सञ्चालन होटल व्यवसायी सङ्घ झापाका महासचिव शिवकुमार पौडेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here