महाभूकम्पको सम्झना

0
102

गोरखाको बार्पाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको त्रासदीको स्मरण गर्ने दिन हो आज । ०७२ साल बैशाख १२ गते अर्थात् आजकै दिन गएको ७.८ रेक्टर स्केलको भूकम्पमा परी नौ हजारभन्दा बढी नेपालीले मृत्युवरण गर्नुपरेको थियो । त्यसैगरी भूकम्पकै कारण पैंतीस लाख नेपाली घरबारविहीन भएका थिए भने हजारौं मानिस घाइते भएका थिए । भूकम्पका कारण भौतिक पूर्वाधारमा ठूलो क्षति पुग्यो, ऐतिहासिक एवम् धार्मिक तथा सांस्कृतिक सम्पदाका संरचनाहरु भत्किए । त्यसक्रममा राजधानीस्थित ऐतिहासिक तथा गौरवपूर्ण सम्पदा घरहरा पूर्णरुपले नष्ट भयो । प्रधानमन्त्री भीमसेन थापाले निर्माण गराएको भनिएको उक्त संरचना पुननिर्माण त गरियो तर त्यो सर्वसाधारणले अवलोकन गर्न पाउने गरी सम्पन्न भएको छैन ।

यस्ता धेरै महत्वपूर्ण सम्पदा र संरचनामा क्षति पु¥याउँदै ठूलो संख्यामा मृत्युवरण गर्नु परेको कालो दिनको सम्झना गराउँछ यस दिनले । अपरान्ह १२ बजेपछि एकाएक शुरु भएको महाभूकम्पले उत्पन्न गरेको अत्यास, भय र त्रासदीको आठौं वर्ष पूरा भइसक्दा पनि परिवारका सदस्य गुमाउन पुगेका, आर्थिक, भौतिक तथा शारीरिक क्षति व्यहोर्न बाध्य नेपालीका मनमा बैशाख १२ जहिल्यै ‘निको नहुने घाउ’ भएर बसेको छ । त्यही भूकम्पपछिका तारन्तार गएका परकम्पनले नेपालीको मनमा बसेको त्रास अझै पनि मेटिएको छैन । भूकम्प लगायतका प्राकृतिक विपदासँग जतिसुकै ‘मै हुँ’ भन्ने देश र मानिसले निरीह बन्नुपर्छ भन्ने उदाहरण खोज्न कहीँ जानै पर्दैन ।

महाभूकम्पको यतिका वर्ष बितिसक्दा पनि हाम्रो मौलिकता, इतिहास र ऐतिहासिक अभिलेखहरु सिधा भएर उभिन सकेका छैनन् । सरकार र राजनीतिक दलहरुको अक्षमताका कारण कतिपय धरोहरहरु आधुनिकताको जलपले भद्दा बनिएका छन् । धरहरा ठडियो, काष्ठमण्डप उभियो, दरबार स्क्वायरहरु मौलिकता गुमाएर भए पनि रुन्चे हाँसो हाँस्ने प्रयास गर्दैछन् । तर, त्यस विपदाले उत्पन्न गरेको भय नेपालीको मन मस्तिष्कबाट हट्न सकेको छैन । नेपाल यसै पनि भूकम्पीय जोखिममा रहेको देश हो । अनि पनि जोखिम न्यूनीकरण गर्नेतर्फ सरकार गम्भीर देखिएको छैन । यस्ता विपत्तिहरु जहाँ पनि, जतिसुकै बेला, जोसुकैलाई आउन सक्छ । त्यसैले सूचना नदिई आउने यस्ता विपद्हरुबाट क्षति कम गर्नकै लागि सरकारले अग्रसरता देखाउनुपर्छ । त्यसका लागि हामी सबैको सहयोग, सहकार्य र समन्वय देखिनुपर्छ । आगामी दिनमा भूकम्पको क्षति कम गर्न सक्ने क्षमता र दृढता सरकारमा देखियोस् । त्यही पीडामा जीवन गुमाएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here