भद्रता बिर्सनु हुँदैन

0
79

पूर्वका विभिन्न कार्यक्रममा सहभागी हुन झापा आएका एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी ओलीबिरुद्ध पहिचानवादीहरुले प्रदर्शन गरेका छन् । शान्तिपूर्ण ढंगले बिरोध गर्न पाउने अधिकार भए पनि जस्ता नाराबाजी गरियो त्यो कुनै पक्षले गरे पनि मर्यादित मान्न सकिन्न । प्रदर्शनका क्रममा पूर्व प्रधानमन्त्री सवार सवारीलाई लक्षित गर्दै गरिएको ढुंगा प्रहार त हिंसाकै उदाहरण हो । एमाले अध्यक्ष कार्यकर्ता भेटघाटसँगै केन्द्रीय कमिटी बैठकका लागि बुधबार झापा आएका थिए । त्यसक्रममा जिल्लाको पूर्वोत्तर पालिका बुद्धशान्ति पुगेका उनीमाथि पहिचानवादीहरुले नाराबाजी गर्दै ढुंगामुडा गरेका थिए । प्रदेश नम्बर १ लाई नामकरण गर्दै कोशी राखिएपछि पहिचानवादी समूह आन्दोलनमा छ ।

प्रदेशको नामाङ्कनको विषय विधानतः प्रदेशसभाले प्रजातान्त्रिक ढंगले गर्ने व्यवस्था छ । सबैभन्दा पछि नामकरण गरिएको कोशी प्रदेशसभाका ९० प्रतिशत सांसदको समर्थन रहेको मुख्यमन्त्रीले बताएका पनि छन् । त्यही संवैधानिक व्यवस्था अनुसार प्रदेशसभाकै दुईतिहाई मतले प्रदेशको नाम बदल्न पनि सकिन्छ । त्यसैले नाममा चित्त नबुझाउनेले विधिकै बाटोबाट प्रदेश संसदमा बहुमत अझ दुईतिहाई उपस्थिति जनाउनु सान्दर्भिक हुन्छ । अनि पनि प्रजातन्त्रमा अल्पमतको समेत सम्मान गर्नुपर्ने हुँदा सरकारहरुले मसिनो आवाज र शालीन विद्रोहलाई विधिपूर्वक नै सम्बोधन गर्नैपर्छ ।

तेह्रथुमसम्मका विभिन्न कार्यक्रममा सहभागी हुन गृह जिल्ला हुँदै एमाले अध्यक्ष इलाम गएका छन् । कोशी प्रदेश प्रदेश सरकारको दोस्रो कार्यकालले नामकरण गरेको हो । मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको प्रदेश सरकार र प्रदेशसभाले कचल्टिएर रहेको नामको विवादको अन्त्य गर्दै ठूलो मतले कोशी प्रदेश नामकरण गरेको थियो । त्यसलगत्तै विभिन्न संगठनहरु सम्मिलित प्रदेश नम्बर १ पुनः नामाङ्कन संघर्ष समितिले प्रदेश राजधानी केन्द्रीत आन्दोलन गर्दै आएको छ । त्यसक्रममा भएको झडपमा पहिचानवादी समूहका एक व्यक्तिको मृत्यु भएको थियो । वाक तथा प्रकाशन स्वतन्त्रता नागरिकको मौलिक अधिकार हो, त्यसैले बिरोध वा प्रदर्शन सामान्य ठानिन्छ । तर, त्यसका नाममा हुने कुनै पनि हिंसाजन्य गतिविधिले कसैको पनि भलाइ गर्दैन । संयमित, मर्यादित र सभ्य विरोध वा प्रदर्शन एक्लै गरिए पनि त्यसले अपेक्षित परिणाम दिन्छ । किनकि सत्यको जित भएका दृष्टान्तहरुकै बलमा हामी आजसम्म सुरक्षित छौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here