सिमानाका समस्या: घरका छाना चुहिँदा फेर्न हस्तक्षेप

0
58

भगीरथ भण्डारी,
इलाम ।

सूर्योदय नगरपालिका–२ हिलेका धनबहादुर राईले सीमा क्षेत्रमा एसएसबीले घर मर्मत गर्न नदिएपछि आफूले सास्ती खेप्नु परेको बताउँछन् ।

दशगजा नछोइकन आफ्नै बारीमा खानेपानीको सार्वजनिक ट्यांकी बनाउन समेत एसएसबीले दिँदैन, आफ्नै जग्गामा चर्पी बनाउन, चुहिएको छानो मर्मत गर्न समेत नदिएको उनको भनाइ छ । सिमामा एसएसबीको बेसक्याम्प राखेर बसेको छ । तर, पहिले नै बनाएका घर मर्मत गर्न नदिएपछि आफूले सास्ती खेप्नुपरेको बताउँछन् ।

एसएसबीले आफ्नो सिमाना भनेर गाडेको खम्बादेखि नेपाल पट्टीका घरका छाना चुहिँदा छानो फेर्नसम्म रोक लगाइरहेको गुनासो छ । पहिलेको सिमाना सारेर नेपाल तिरैको भूमि मिचेर ल्याएर पनि वर्षेदेखि बसिरहेका घरहटाउन पनि दवाव दिइरहेको छ ।

आफू बसिरहेको घर भत्काउन पटक–पटक दवाव दिने गरेको कारण कुन बेला के गर्छ भन्ने त्रासमा बसिरहेको स्थानीयको गुनासो छ । उनीहरु आफू नेपाल सरकारलाई राजश्व तिरेर जग्गामा बसिरहेको र पटक–पटक सरकारलाई गुनासो राख्दा समेत ममाधान हुन नसकेको बताउँछन् । २००७ सालतिर भन्सार रहेको भूमि पनि अहिले एसएसबीले आफ्नो भन्ने गरेको स्थानीयकोे भनाइ छ । यहाँ भन्सार नभएको पनि ३५÷४० वर्ष भई सक्यो यहाँ भन्सार नआउने हो भने एसएसबीले ढाट लगाउन पनि पछि पर्दैन स्थानीय बताउँछन् ।

सूर्याेदय नगरपालिका–२, हिलेमा एक वर्षअघि एसएसबीले वास्तविक सीमाभन्दा नेपालतिरको भू–भाग नै मिचेर खम्बा गाड्यो । त्यसबेला त्यहाँका स्थानीयले प्रतिकार गरेरै सीमा मिच्न रोकेका थिए । जबरजस्ती सिमाना सार्दै गर्दा स्थानीयले प्रतिकार परेपश्चात दुवै टिमको छलफल पछि एसएसबी पछि हट्यो । केही वर्षअघि वास्तविक सीमाभन्दा करिब २० मिटर वर गाडिएको खम्बा अहिले पनि त्यहीँ छ ।
भारतले दशगजा नराखी संरचना निर्माण गरेको छ भने नेपाल पट्टि दशगजाको ठाउँ छोडेर आफ्नो नामको धनीपुर्जा भएको र सधैँ तिरो तिरिरहेको जग्गामा भएका घर मर्मतमा समेत रोक्ने गरेको स्थानीयको गुनासो छ ।

२०६४ सालको संविधानसभा निर्वाचनलाई लक्षित गरी भारतले सीमा क्षेत्रको तीन–तीन किलोमिटरमा एसएसबीको बेसक्याम्प राखेको थियो । ती क्याम्पलाई भारतले अहिलेसम्म निरन्तरता दिएको छ । ती क्याम्प राखिएपछि एसएसबीले सीमा स्तम्भ नै दशगजाभन्दा नेपालपट्टिको भू–भागतिर सार्ने गरेको दीपबहादुर बताउँछन् । गत वर्ष एसएसबीले नेपालपट्टी छिरेरै खम्बा गाड्न खोज्दा यहाँका महिलाले प्रतिकार गरेका थिए । उनी भन्छन्– ‘हामी चुप बसेका थियौं भने यतिबेला यो क्षेत्रको धेरै भू–भाग भारततिर परिसक्थ्यो ।’

एसएसबीले एक वर्षअघि पुस महिनामा रातको समयमा खम्बा गाड्ने प्रयास ग¥यो । भारतीय पक्षले दशगजामा एकलौटी रूपमा खम्बा गाड्ने प्रयास गरेपछि स्थानीयले प्रतिकार गरेपछि एसएसबी पछि हट्यो । स्थानीय कमला सुब्बा शेर्पाले सीमा मिच्न खोज्दा आफूूहरूले प्रतिकार गर्ने गरेको बताइन् । ‘पोहोर एसएसबीले राति आएर नेपाली भू–भागमा खम्बा गाड्दा हामी महिलाले नै लखेटेका थियौं’ –उनीहरूले गाढेको खम्बा उखेलेर फालिदिएका थियौं । हिलेको ७१–११ देखि ७२–२५ नम्बर पिलरको बीचमा गाडेको खम्बा हटाउन एसएसबी बाध्य भएको थियो ।’

हिलेमात्र होइन पशुपतिनगरको फाटकमा भारतीय प्रहरीको चेकपोस्ट नै नेपालपट्टिको दशगजामा छ । त्यसको नजिकै भारतले गुम्बा बनाएको छ । सन्दकपुरमा घर बनाउन समेत हस्तक्षेप गर्ने गरेको छ । कालपोखरी, मेघमा, गैरीबास, तुम्लिङ, मानेभञ्ज्याङ, छब्बिसे, फाटक, लगायतका ठाउँमा पनि दशगजा अतिक्रमित छ । जसमध्ये भारतले दशगजाको धेरै स्थानमा पक्की सडक नै बनाइसकेको छ भने हिले, छब्बिसे, गैरीबास र सन्दकपुर क्षेत्रको दशगजामा एसएसबी क्याम्प नै छन् ।

सिमानामा पर्ने दशगजामा नेपाल–भारत दुबैतर्फबाट ३२ घर बनेको तथ्यांक छ । मानेभञ्ज्याङमा नेपाल तर्फबाट १२ र भारततर्फबाट १० घर बनेका छन् । मानेभञ्ज्याङको मानेडाँडामा नेपालतर्फबाट दुई, सिमानामा भारतपट्टि चार, नेपालपट्टि दुई तथा पशुपतिनगरमा दुवैतर्फ एउटा–एउटा घर बनेका छन् । सन्दकपुर, रोङ, माइजोगमाई गाउँपालिका र सूर्याेदय नगरपालिकाले भारतीय सीमा छोएका छन् । सुरक्षा निकायले दुई वर्षअघि गरेको निरीक्षणमा इलामभित्र पर्ने भारतीय सीमामा १७ मुख्य सीमास्तम्भ हुनुपर्नेमा १६ वटामात्रै फेला परेका थिए ।

जसमध्ये १२ वटा मर्मत गर्नुपर्ने अवस्थामा छन् भने एउटा सीमास्तम्भ हराएको छ । रोङ गाउँपालिका–६, मेचीखोलाको ८१ पिपी–१० नम्बरको सीमा स्तम्भ फेला परेको छैन । ८३ सहायक सीमास्तम्भ हुनुपर्नेमा ७२ वटा मात्रै छन् । ४६ साना सीमा स्तम्भ हुनुपर्नेमा २१ मात्रै भेटिएका छन् । मुख्य १२, सहायक ५० र साना १९ गरी ८१ सीमास्तम्भ मर्मत गर्नुपर्ने अवस्थामा छन् । यी बाहेक सहायक सात र साना दुई सीमास्तम्भ पुनर्निर्माण गर्नुपर्ने अवस्थाका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here