बिर्तामोडका अर्नभलाई जिताउन समर्थकले थाले अभियान

0
174

बिर्तामोड ।

झापा बिर्तामोडका अर्नभ बनलाई जिताउन स्थानीय समर्थकहरु जुटेका छन् । गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन २’ को सेमिफाइनल राउन्डमा प्रवेश गरेका बिर्तामोडका अर्नभ बनलाई भोट गर्न अपिल गर्दै बिर्तामोडका समर्थक युवाहरुले अभियान सञ्चालन गर्दै जुटेका हुन् ।

पछिल्लो राउण्डबाट उत्कृष्ट १६ मा पुगेका अर्नभलाई उत्कृष्ट ८ मा पुराउनका लागि अहिले उनीहरुले भोट अपिल गरेका छन् । आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर उनीहरुलाई अर्नभलाई भोट गरी अघिल्लो चरणमा पुर्याउन सहयोग गर्न झापाबासीसँग अपिल गरे ।

हिमालय टेलिभिजनबाट शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुँदै आएको लाइभ राउन्डमा स्वरका धनी अर्नभको प्रस्तुति र प्रशंसकको समर्थनका कारण उनी सेमिफाइनल राउन्डमा प्रवेश गरेका छन् ।

झापा बिर्तामोडका समाजसेवी आशिष बनका छोरा अर्नभ टिम प्रविशामा छन् । कोच प्रविशा पनि झापा बिर्तामोडकै हुन् । जस्तोसुकै गीतलाई आफ्नै शैलीमा प्रस्तुत गर्न सक्ने क्षमता अर्नभमा भएको प्रतिक्रिया पछिल्लो चरणमा कोच प्रविशाले दिएकी थिइन् ।

पत्रकार सम्मेलनमा अर्नभका बुवा आशिषले छोराको संगीतप्रतिको लगावका कारण ऊ अघि बढ्ने बताए । मामा र आमा जिना सापकोटा बनका कारण नै अर्नभ संगीतमा लागेको उनको भनाइ थियो ।

कार्यक्रममा बिर्तामोडका अभियन्ता प्रकाश लिङदेन, आशा गुरुङ, विकास गिरी, विशाल अग्रवाल लगायतले अर्नभलाई भोटका लागि अग्रह गरे । अर्नभलाई भोट गर्न खल्ती एप डाउनलोड गर्नुपर्ने हुन्छ । १२ वर्षीय अर्नभ बिर्तामोडको ग्रिन फिल्ड वल्र्ड स्कुलमा अध्ययनरत छन् । उनी सानैदेखि पश्चिमा संगीत तथा गिटारमा बढी रुचि राख्ने गरेको उनका अभिभावकले बताएका छन् ।

यसैबीच, अर्नभलाई जिताउन बिर्तामोडमा अर्नभ बन फर भ्वाइस समिति गठन भएको छ । बुवा आशिष बनको संयोजकत्वमा १५ सदस्यीय समिति बनेको हो ।

समितिमा प्रकाश लिङदेन, विशाल अग्रवाल, आशा गुरुङ, विकास गिरी, मनिषजंग बस्नेत, बब रिजाल, आशिष बुढाथोकी, बाप्पा शाह, कविन सापकोटा, प्रज्वल प्रधान, भीम सादेम्बा, निशान न्यौपाने, नोभेम्बर नेम्बाङ र विनोद नेम्बाङ सदस्यमा रहेका छन् ।

यस समितिले झापाका विभिन्न स्थानमा कार्यक्रम गर्दै अर्नभका लागि भोट अपिल गर्ने सदस्य प्रकाश लिङदेनले जानकारी दिए । उनका अनुसार यो समिति अर्नभलाई देश, विदेशबाट भोट गर्नका लागि आधिकारिक रहेको पनि बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here