तिब्बतमा ८० लाख रुपैयाँ धरौटी राख्नुपर्ने नियममा नेपाली पर्यटन व्यवसायीको आपत्ति

0
56

काठमाण्डौं । 

चीनको तिब्बत र कैलाश मानसरोबरमा पर्यटक लैजाने नेपाली व्यवसायीहरूलाई ८० लाख रुपैयाँ अनिवार्य धरौटी राख्नुपर्ने नियममा नेपालका पर्यटन व्यवसायीहरुले आपत्ति जनाएका छन् ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) र एसोसिएसन अफ कैलाश टुर अपरेटर्स नेपाल (एक्टोन)ले मंगलबार काठमाडौंस्थित चिनियाँ दूतावास र बेइजिङस्थित नेपाली दूतावासलाई संयुक्तपत्र लेख्दै तीन वर्षपछि सुरु भएको तिब्बत र कैलाश मानसरोबरको यात्रामा सहजीकरण गरिदिन आग्रह गरेका छन् ।
कोभिडका कारण तीन वर्षसम्म बन्द रहेको कैलाश यात्रा र तिब्बत भ्रमण हालै चीनले खुला गरेको छ । तर, त्यहाँ टुर सञ्चालन गर्दै आइरहेका नेपाली पर्यटन व्यवसायीहरूले तीर्थयात्रीहरूको परमिट जारी गर्ने तिब्बत स्वशासित क्षेत्रमा रहेको फरेन एक्सचेन्ज सेन्टरले भारतीय तीर्थयात्रीलाई कैलाश मानसरोबर यात्रा सञ्चालन गराउने नेपाली व्यवसायीहरूले ६० हजार अमेरिकी डलर (करिब ८० लाख रुपैयाँ) अनिवार्य डिपोजिट गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरेपछि यसमा आपत्ति व्यक्त गर्दै यो नेपालकै कानुनविपरीत रहेकाले सहजीकरण गरिदिन माग गरेका हुन्।

‘यो नियम नेपालको अहिलेको आर्थिक अवस्था र नेपाल राष्ट्र बैंकको नितिविपरीत छ,’ नाट्टाको नेतृत्व सम्हालिसकेका एक पर्यटन व्यवसायीले भने, ‘अहिलेको राष्ट्र बैंकको नीतिअनुसार कुनै पनि विदेशी बैंकमा रकम जम्मा गर्न पाइँदैन । यसले कोभिडका कारण थलिएको नेपालको पर्यटन क्षेत्रलाई अत्यन्तै ठूलो मर्का पर्ने भयो ।’

व्यवसायीहरूले चिनियाँ राजदूत छन् सोङलाई लेखेको पत्रमा ८० लाख धरौटीको प्रावधानसहित ६ वटा विषयमा ध्यानाकर्षण गराएका छन् । उनीहरूले तिब्बतको ल्हासा टुर र कैलाश मानसरोबर यात्रा सञ्चालनमा बाधा गर्ने अर्को नियम बायोमेट्रिक रहेको उल्लेख गरेका छन् । अहिले तिब्बतको भिसा लिनका लागि बायोमेट्रिक अनिवार्य गरिएको छ । पहिले समूहमा यात्रा परमिट दिइन्थ्यो । व्यवयासीहरूले बायोमेट्रिक काठमाडौंस्थित दूतावासमा नगराई चीनको सिमानामा गर्नुपर्ने माग राखेका छन् ।

त्यस्तै चीनले भारतीय तथा तेस्रो मुलुकबाट नेपाल हुँदै तिब्बत भम्रणमा सहयोगी भई जाने नेपालीलाई चर्को भिसा शुल्क लिने गरेकाले यसलाई पनि सम्बोधन गर्न ज्ञापनपत्रमा उल्लेख गरेका छन् । उनीहरूले चिनियाँ राजदूतलाई नेपाल सरकारले चिनियाँ नागरिकलाई काठमाडौंमा छुट दिएको स्मरण गराउँदै यसमा सहजीकरण गरिदिन आग्रह गरेका हुन् ।

त्यस्तै भारतीय तीर्थयात्रीको भिसाको सम्बन्धमा दिल्लीबाट भिसा लिन झन्झटिलो प्रक्रिया भएकाले नेपालको दूतावासबाट भिसा दिन माग गरेका छन् । त्यस्तै चीनले अहिले भिसा लिन कम्तीमा ४–५ जनाको समूह हुनुपर्ने नियम ल्याएको छ । यसलाई व्यवसायीहरूले अव्यावहारिक भएको जनाउँदै हटाउनुपर्ने र १ वा २ जनाको समूहलाई पनि भिसा दिनुपर्ने माग राखेका छन् ।

त्यसैगरी तेस्रो मुलुकको दाँजोमा तिब्बत जाने भारतीयलाई बढी शुल्क लिइने नियमले विभेद भएको जनाउँदै उनीहरूले सबै पर्यटकको भिसा शुल्कमा एकरुपता गर्न माग गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here