घाइतेको स्वास्थ्य बुझ्दै नेपाली कांग्रेस

0
120

झापा ।

सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएका गजेन्द्र फागो र निर्मला क्षेत्री लिम्बूको उपचार सरकारले व्यहोर्नुपर्ने नेपाली कांग्रेस झापाले जनाएको छ ।

पार्टी सभापति देउकुमार थेवेले वीएण्डसी अस्पतालमा उपचाररत दुवैको स्वास्थ्य अवस्था बुझ्दै उनीहरुको उपचारमा कुनै कुराको कमी हुन नदिन अस्पताल प्रशासनलाई आग्रह गरे । नेता थेवेले पहिचानको आन्दोलनमा सहभागी भएका उनीहरुलाई सरकारले नै घाइते बनाएको र उनीहरुको उपचार समेत सरकारले नै गर्नुपर्ने बताए । उनले भने यही विषयमा म आजै मुख्यमन्त्रीसंग कुरा गर्छु, घाइतेको उपचार सरकारले गर्छ, यसमा तपाईहरु ढुक्क हुनुहोस् ।

मंगलवार साँझ दमकमा आन्दोलनका क्रममा प्रहरीले गोली चलाएको आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरीले बताए । उनले भने– कोशी प्रदेशको नामकरणको विरोध स्वरुप हामीले शान्तिपूर्ण रुपमा राँके जुलुस निकालेका थियौं, त्यही क्रममा प्रहरीले गोली चलाएको हो ।

प्रहरीले चलाएको गोली लागेर कमल–१ स्थित चुलाचुलीका गजेन्द्र फागो घाइते भएका छन् । उनको गोडामा गोली लागेको छ । त्यस्तै अर्जुनधाराकी निर्मला क्षेत्री लिम्बू, उर्लाबारीका सूर्य माझी र मातृका धिमाल पनि घाइते भएका छन् ।

लिम्बू र फागोको बिर्तामोडस्थित वीएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । राँके जुलुसमा प्रदर्शनकारीहरु आक्रामक बन्दा प्रतिकारमा प्रहरीले एक राउण्ड गोली चलाएको र सो गोली फागोको गोडामा लागेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

तनावपूर्ण स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले शुरुमा १९ राउन्ड अश्रुग्याँस प्रहार गरेको थियो । त्यसपछि प्रहरीले ५ राउन्ड डमी फायर, ५ राउन्ड सर्टगनको छर्रा र एक राउन्ड गोली प्रहार गरेको डीएसपी रिजालले जानकारी दिए ।

कोशी प्रदेशको पुनः नामकरण हुनुपर्ने माग राख्दै आन्दोलनरत प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिको पूर्वघोषित कार्यक्रम अनुसार पहिचान पक्षधरहरुले दमकमा राँके जुलुस प्रदर्शन गरेका थिए । जुलुसमा प्रदर्शनकारीहरूले प्रहरीमाथि राँको, इँटा र ढुङ्गा प्रहार गरेको प्रहरीले जनाएको छ ।

यता प्रदेश १ पुनः नामांकन संघर्ष समितिले जारी गरेको वक्तव्यमा राज्य पक्षबाट आन्दोलनमा घुसपैठ गराई मुठभेडको वातावरण सिर्जना गरी प्रहरीले गोली चलाएको आरोप लगाएको छ ।

‘शान्तिपूर्ण आन्दोलनमाथि निरंकुुश पञ्चायती शैलीमा लोकतान्त्रिक सरकारले मानव अधिकारको उल्लंघन गर्दै आन्दोलनकारीमाथि प्रहरीको हतियारबद्ध दमनको घोर भत्र्सना गर्दछौँ’– वक्तव्यमा भनिएको छ ।

यसरी नै सरकार निहत्था जनतामाथि जाइलागेमा त्यसको प्रतिरोधमा उत्रिन बाध्य हुने र त्यसले निम्त्याउने दुष्परिणामको जिम्मेवारी सरकार स्वयम्ले लिनुपर्ने चेतावनी पनि वक्तव्यमार्फत दिइएको छ । शान्तिपूर्ण आन्दोलनमा राज्य पक्षबाट हुने यस प्रकारको दमनको अनुगमन गर्नका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकारकर्मीहरूलाई विज्ञप्तिमा अपिल गरिएको छ ।

घाइतेको स्वास्थ्य अवस्था वुझ्न विहीबार नेपाली कांग्रेसका जिल्ला सभापति थेवे, जिल्ला सचिव कृष्ण हुमागाँईसहितका कांग्रेसको एक टोली बिर्तामोडस्थित वीएण्डसी अस्पतालमा पुगेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here