युवाहरुमा राजनीतिप्रति वितृष्णा बढदा संकटको सम्भावना

0
70

दमक,

झापाको दमकमा आयोजित एक कार्यक्रमका वक्ताहरुले युवाहरुमा राजनीतिक वितृष्णा बढदै जाँदा मुलुकनै संकटमा फस्न सक्ने सम्भावना औंल्याउँदै चिन्ता व्यक्त गरेका छन ।

युवाहरुमा विदेशप्रतिको आकर्षण रोकेर स्वदेशमा गरिखाने वातावरण मिलाउन नसके विदेश पलायनले मुलुकको भविष्यनै डामाडोल बन्ने खतरा रहेको उनीहरुको निष्कर्ष छ । युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा परिषदको आयोजना र दमक जेसीजसँगको सहकार्यमा आज शुक्रबार भएको कार्यक्रममा युवाहरु स्वयं कसैको प्रयोगको माध्यम बन्नु राम्रो नभएको उनीहरुले बताए ।

राष्ट्रिय युवा परिषदका कार्यकारिणी उपाध्यक्ष सुरेन्द्र बस्नेतले २०७८ को जनगणना अनुसार १६ देखि ४० बर्ष उमेर समुहका युवाहरुको संख्या ४२.५६ प्रतिशत रहेको उल्लेख गर्दै युवाहरु भविष्यका आधार मात्रै नभएर अंशियार समेत भएको उल्लेख गरे । उनले युवाहरु देशको समृद्धिका लागि राज्य र समाजका हरेक अंगसँग सहकार्य गर्न तयार रहेको बताए । उपाध्यक्ष बस्नेतले वैदेशिक मोहका कारण भविष्यमा आइपर्न सक्ने चुनौतीको समयमै आंकलन गरेर देशको मुल नीतिको मुहान राजनीतिलाई सुधार्नु पर्नेमा जोड दिए । राजनीतिक दलहरुका मुल नेतृत्वलाई सही ट्रयाकमा हिंडाउन र सच्याउन युवाहरुले रचनात्मक भुमिका निर्वाह गर्नुपर्नेमा बस्नेतले जोड दिए ।

कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले युवाहरु नक्कली भुटानी शरणार्थीको प्रकरणमा राँको लिएर सडकमा उत्रिनुपर्नेमा चुपचाप बसेको भन्दै आलोचना गरे । उनले भने– यतिबेला युवाहरु राँको लिएर चोकमा निस्किनुपर्नेमा चुपचाप बसेको र कसैले केही नलेखेको भनि पत्रकार शब्द उच्चारण नगरी सांकेतिक विरोध गरे । राप्रपाका कोशी प्रदेश अध्यक्ष समेत रहेका थापाले नक्कली शरणार्थी प्रकरणमा भइरहेको छानबिनको प्रशंसा नगरे पनि सडकमा युवाहरु विरोधका लागि उत्रिनु पर्ने धारणा राखे । युवाहरुको शीर्षकमा कुनै पार्टीका कार्यकर्ताहरुलाई आफूले पैसा नबाँडने पनि थापाले उल्लेख गरे ।

कार्यक्रममा दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाइँले राम्रो र सकारात्मक कामका लागि युवाहरुले खबरदारी गर्नुपर्ने बताउँदै सामुदायिक बिद्यालयहरुमा रहेको शैक्षिक समस्याको एकैसाथ समाधान गर्न कठिन भएकाले यसलाई कसरी सम्बोधन गर्ने भन्ने बिषयमा नगरपालिकामा आफनो दृष्टिकोण र योजनासहित छलफल अघि बढाइएको बताइन । उपप्रमुख भट्टराईले स्थानीय सरकारमा अल्पमत र बहुमतको गलत अभ्यास हुँदा विभिन्न महत्वपूर्ण समितिहरुमा आफूले जिम्मेवारी पाउन नसकेपनि आफनो दृष्टिकोण र योजनाहरुका बारेमा युवा पुस्तामाझ बहस र छलफल गर्दै अघि बढने दृढता व्यक्त गरिन ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकूल श्रेष्ठले युवाहरुलाई आर्थिक तथा व्यवसायिक क्षेत्रमा जोडनु नितान्त आवश्यक रहेको बताउँदै सामाजिक सञ्जालहरुमा आउने नकारात्मक बिषयहरुका कारण युवा पुस्ता अलमलिने खतरा रहेको औंल्याए । कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष प्रकाशप्रसाद अधिकारीले युवाहरु प्रयोगका साधन मात्रै बन्न नहुने बताउँदै गलत तत्वका बिरुद्ध युवा आवाज बुलन्द गरिनु आवश्यक भएको औंल्याए ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकका सभापति प्रकाश बुढाथोकीले युवाहरुलाई आर्थिक समृद्धीको बाटोमा डोहोरयाउने स्पष्ट नीति र कार्यक्रमको खाँचो औंल्याउँदै दमकमा पूर्व प्रधानपञ्च स्वर्गीय धनबहादुर श्रेष्ठले शुरु गरेको पशुहाट र उनको कार्यकालमा शुरु भएका आर्थिक बिकासका कृयाकलापहरुले जतिको आर्थिक क्षेत्रमा योगदान अरु कुनै कार्यक्रमहरुले दिन नसकेको जिकिर गरे । कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँले पनि व्यवसायमा युवाहरुको आकर्षणलाई टिकाइ राख्न र मुलुकको समृद्धीका लागि युवा जनशक्तिको भुमिका महत्वपूर्ण हुने चर्चा गरे ।

दमक जेसीजका अध्यक्ष मुकेश अग्रवालको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित केन्द्रीय सदस्य गोकूल श्रेष्ठलाई सम्मानसहित स्वागत पनि गरिएको दमक जेसीजका कार्यकारिणी उपाध्यक्ष सहदेव भट्टराईले जानकारी दिए । कार्यक्रमको सञ्चालन महासचिव रामचन्द्र अधिकारीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here