रायमाझी र खाणसहित १४ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

0
141

काठमाण्डौ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १४ जनालाई नै हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाण्डौले प्रहरीलाई तीन दिनको म्याद दिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार उनीहरूमध्ये १३ जनामाथिको प्रारम्भिक बयान लिने काम जिल्ला सरकारी वकिलको कार्यालयले सकेको छ । पछिल्लो समयमा पक्राउ परेको पूर्वसभासद् आङटावा शेर्पासँग भने आज बुधवार बयान चलिरहेको छ ।

यसअघि यस प्रकरणमा मुछिएका पूर्वमन्त्री बालकृष्ण खाण र पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसँग सोमवार र मङ्गलवार बयान लिइएको थियो ।

अन्य ११ आरोपीको बयान भने आइतवार सकिएको छ । अब तीन दिनमा आवश्यक बाँकी अनुसन्धान गरी अन्तिम प्रतिवेदन बनाएर सरकारी वकिलको कार्यालयमा पेश गर्ने तयारी प्रहरीको छ ।

उनीहरूमाथि प्रहरीले सङ्गठित अपराध र ठगीमा अनुसन्धान गरिरहेको छ । अब प्रहरीलाई उनीहरूमाथि अनुसन्धान गर्न सात दिनको मात्रै समय छ ।

नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर करोडौँ रुपैयाँ ठगी भएको फेला परेपछि प्रहरीले त्यस घटनामा जोडिएका पूर्वमन्त्री र बहालवाला सचिवसहित १४ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here