नयाँ कविता संग्रहः पर्दाफास

0
178

नेपाली साहित्यको भण्डारमा एउटा अर्को कविता संग्रह थपिएको छ । त्यो कविता संग्रह हो– कवि उपेन्द्रप्रसाद आचार्यको सिर्जना पर्दाफास । जीवनको लामो समयसम्म प्राध्यापन सेवामा रहेका विद्वानका सिर्जनाहरु अबश्य नै सुन्दर, मिठा, उत्कृष्ट र सन्देशमूलक छन् । छोटा–छोटा तथा मझौला आकारका कविताहरुले युक्त यस नवीन कविता संग्रह एक या दुई बसाईमा नै पढि सकिन्छ ।

कवि आचार्यका कविता संग्रहका विशेषता तथा गहनताबारे सहप्राध्यापक तथा साहित्यकार कमल गुरागाईको विचारबाट बुझौं– ‘उपेन्द्र आचार्य उदाउन लागेका, भर्खरै उदाएका कलिला घाम होइनन् । कविता, काव्य, निबन्ध, नियात्रा आदिमा फक्रिएका कवि एवम् आख्यानकार हुन् । विचारलाई समाजमा जोड्ने साहित्यकार हुन् र समाजलाई प्रगतिपथमा डो¥याउने द्वन्द्ववादी विश्लेषक हुन् । मान्छेमा अनेकौँ सोच, चिन्तन हुन्छन् । विभिन्न आरोह अवरोहमा खारिँदै, घोटिदैँ, माझिदैँ, टुंगोमा पुग्न सफल सर्जक हुन्– साहित्यकार उपेन्द्र । सर्जक उपेन्द्रको भाषा परिष्कृत छ । नेपाली जनजीवनमा प्रयोग भइरहेका ठेट शब्द, सरल ग्रामीण जनताले बुझ्ने उखान टुक्काकोे प्रयोगले सिर्जनालाई चम्किलो र खिरिलो बनाउने काम गरेको छ । देखेका कुरा भोगेका कुरा बोल्न र लेख्नमा उपेन्द्रको कलम आतुर छ । हात नमर्काई सचेत भएर कविताका शब्द शब्दमा समाज पर्गेलिएको छ ।

जनताको भोगाइका पीडा, व्यथा, वेदना, हर्ष, आशा, विश्वास यस काव्य भित्रका शीर्षक र उपशीर्षकका कविताहरु जीवित विषय बनेका छन् । यस काव्यले वर्तमानको समाज, सामाजिक भोगाई, जनआकांक्षा, घात प्रतिघात यसले जन्माएका मानवीय कुण्ठाबाट फुत्किने बाटाहरु र बाटामा पुनः लागेका तगाराहरु छिचोल्ने उपायहरु यस कृतिका गहकिला मेरुदण्डहरु हुन् । यसमा आमाको ममतामयी वात्सल्य प्रेमको हाँसो छ, बुबाको जोसिलो संघर्षशील समाज रुपान्तरणको दृढ नेतृत्व छ, प्रेयसीको मधुर मुस्कानमा प्रेरणाको स्रोत घोलिएको छ । बाल्यकालीन गोठाले जीवनमा खेलिएका पाङ्ग्रा र भेडीगाठो अनि स्कुले जीवनका गुच्चा, फुटबल, भलिबल खेलका पक्ष–विपक्षको द्वन्द्व, द्वन्द्ववाद नै पढाएको महशुस गर्र्दै काव्यले विषय बनाएको छ ।

हो एउटा द्वन्द्ववादी सर्जक प्रत्येक भोगाइमा द्वन्द्वको खोजी गर्छ र समाज रुपान्तरण गर्ने दिशामा अग्रसर हुन्छ । अन्याय अत्याचार, दमन, उत्पीडन, शोषण देख्ने सर्जक सृजनामा बोल्छ । अत्याचारीले दण्ड पाउनुपर्छ । जड यही हो द्वन्द्ववादी रचनामा पाइने रुपान्तरण यसैलाई मुक्त लेखक वा समीक्षक नारा भयो भन्छन् । यो सत्य हो, सत्य देखाउनु प्रगतिशील वा प्रगतिवादी लेखकको धर्म हो । यिनै धर्मको निर्वाह यस कविता संग्रहमा भएको छ । यो कृति संग्रहणीय मात्र होइन पठनीय छ ।’

सहप्राध्यापक तथा साहित्यकार कमल गुरागाँईको विचारबाट यस कविता कृति गहन रहेको बुभ्mन सकिन्छ । अन्य थुप्रै गहन कृतिहरु जन्माइसकेका कृतिकार आचार्य निश्चय पनि उच्चकोटीका लेखक हुन् । जीवनको लामो समय इलाम बसेर हजारौँ विद्यार्थीहरुमा उच्च शिक्षा प्रवाह गरी अनुभवले खारिएका लेखक आचार्यको यो कृति निकै पठनीय मान्न सकिन्छ ।

साहित्यकार पुण्यप्रसाद खरेलको विचारबाट पनि कवि आचार्यका कृतिका सबलपक्ष जानौं, ‘कविका यस संग्रहमा आएका कविताहरु हाम्रो वर्तमानको गज्याङ्…गज्याङ्… भएको राजनीति, कविले राजनीति सङ्ल्याउनका लागि आफ्नो उमेर बैँश सब चढाएको अवस्था, समाज भने चुचे ढुंगो उही टुंगो भएको र राजनीतिक आदर्श स्खलित भएको जस्तो लागेको कुराबाट जन्मिएका छन् । आफ्नो आदर्शलाई नै सामान्यतया उचित आदर्श लागेकाले कविले अरुलाई पनि त्यही बमोजिम चले राम्रो हो भन्ने लागेर त्यही कामनाका साथ लेखिएका धेरै कविता छन् । देशमा परिवर्तनका लागि ठूला–ठूला आन्दोलनहरु भए, आन्दोलनहरु सफल पनि भएकै भन्यौँ, तर आधारभूत रुपमा त्यो जनतामा नपुगेको, अवसरवादीहरुले फाइदा लिएको र नेताहरुका जीवनमा मात्र क्रान्तिले परिवर्तन दिएको देखियो । यही देखाइबाट जन्मेका कविता छन् ।

नयाँ वर्ष आउँछ, तर तिथि मिति मात्र परिवर्तन हुन्छ, जनजनको मनमा नयाँपन नआएको लाग्छ, नेताहरुका अगुवारुका कुरामा क्रान्ति देखिन्छ, व्यवहारमा दिक्क लाग्दो हुन्छ । कुरा र व्यवहार कहिल्यै मेल खाँदैन । यस्तो कुरा पनि कवितामा व्यक्तिएका छन् । कम्निष्ट पनि सुकुलगुण्डो भए । बाहिर देखिँदा बडो सादगी जस्तो देखिने, भित्रभित्र भने के हो–के हो भए । यसबाट प्रभावित भएर पनि कविता जन्मेका छन् । कविले धेरै दुःखकष्ट बेहोरेको, पञ्चायतकालदेखि आजसम्म समाज परिवर्तनकै लागि लागेर आएको, देशको प्राध्यापक पनि भइसकेको हुँदा कवि आउँदो पिँढीलाई यसो यसो गर्नु राम्रो भनेर र उसो उसो नगर्नू भनेर सुझाउ दिने हक राख्ने हुँदा धेरै कविताहरु त्यस्तै उपदेशात्मक भएर पनि लेखिएका छन् ।’

साहित्यकार पुण्यप्रसाद खरेलको विचारबाट, कवि आचार्यका सिर्जनाहरुले देशबारे चिन्तन गरेका बुभ्mन सकिन्छ । देशका लागि सटिक चिन्तन र राम्रो विचार प्रवाह गर्नेहरुको कमीका बीच आएको यस कृतिले त्यो कमी पूरा गर्नेछ । यस नयाँ कृतिमा म नेपाल राष्ट्र, मेरो गाउँ, सत्य बोल्न नलगाऊ, मात्र प्रश्नहरु छन्, सातु चपाएर तिर्खा मेट्न सकिन्न, केही त गर्छु म, भाषणको खेस्रा लेखिदेउन, कुरौटे हामी, मै हुँ नेता, भोकको भौँतारमा, विचारहरुको विचरण लगायत जम्मा ५१ वटा मझौला तथा छोटा कविताहरु प्रकाशित भएका छन् ।

समय बलवान देखिँदैछ शीर्षकको कविताको केही लाईन पढौँ, हे रछ्यान चलाई मुख छिटा बनाउनु भन्दा, चुपचाप चुपचाप हातपाउ बाँधेर, उँघिरहनु ठीक होला । मौकामा चौका हान्नेहरुले, वल्ला घरको नरे पल्ला घर सरेको, अभिनयमा दौडधुप गरिरहेछन्, धूपबाती बाल्दै तेल लगाइरहेछन् । भोटको भिख शीर्षकको कविताको चार लाइन् यस प्रकार छन्, ब्यूँझाई आयो सबमा चुनाव, दलभित्र कुद्ने अब जाग जाग, मेरा सबै ठीक अरुको निकम्मा, टोल टोलमा झुण्ड भएर जम्मा ।

अब यस कृतिकै नाम रहेको पर्दाफास शीर्षको कविताका केही लाइन पढौँ र कविले के चाहिँ कुरा पर्दाफास गरेछन् । जानौँ, म अब अर्थहीन कामहीन बन्न पुगेँ, या त कामै नलाग्ने भाँडो भएँ र फ्याँकिएँ त्यतै कतै, हो अनि त आफ्ना भोगाइहरुको, बिस्कुन हालिरहेछु, सुकाइरहेछु रापिलो स्थानमा, असरल्ल पोखिरहेछु फिँजाइरहेछु र वर्तमानलाई भोग्दै र छिचोल्दै अगाडि बढिरहेछु ।

प्रस्तुत कृतिभित्र यशनाथ शर्मा र देवेन्द्र शक्तेनका पनि कवि आचार्यका यस नवीन कृतिबारेका विचारहरु प्रकाशित भएका छन् । अर्जुनधारा नगरपालिका वडा नं. ३ खुदुनाबारी झापा निवासी महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाममा लामो समयसम्म भूगोल शिक्षाका उपप्राध्यापक तथा कवि साहित्यकार उपेन्द्रप्रसाद आचार्यका यसअघि कविता संग्रह, नियात्रा, कथा, संस्मरणात्मक निबन्ध, निबन्ध, आत्मवृत्तान्त गरी १० वटा कृति प्रकाशित भइसकेका छन् । प्रस्तुत कृति पर्दाफासका लागि कविले कहिले कविता लेखे, कस्तो अवस्थामा लेखे, यस पर्दाफास कृति मार्पmत कृतिकारले के–के कुरा पर्दाफास गरेका छन् ? पढ्ने जिम्मा पाठक वर्गमा ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here