झापा ।

बितामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको जेठ १५ गते हुने निर्वाचनका लागि स्वतन्त्र प्रगतिशील प्यानलले उम्मेद्वारी घोषणा गरेको छ ।
स्वतन्त्र प्रगतिशील प्यानल निर्वाचन परिचालन तथा प्रचार समितिले शनिवार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी उम्मेदवार घोषणा गरेको हो । अध्यक्षमा देवेन्द्र सिटौला, उपाध्यक्षमा प्रदीप खरेल, सचिव विष्णुप्रसाद चुडाल, कोषाध्यक्षमा विनिता राजवंशीले उम्मेदवारी घोषणा गरेका हुन् ।
त्यस्तै खुला सदस्यमा छत्रबहादुर श्रेष्ठ र रमेश उप्रेती, महिला सदस्यमा तारा राई, पुनम अधिकारी र सीमा सिलवाल ढुंगानाले उम्मेदवारी घोषणा गरेका हुन् ।
स्वतन्त्र प्रगतिशील प्यानल निर्वाचन परिचालन तथा प्रचार समितिका संयोजक देबराज कार्कीको अध्यक्षतामा भएको उम्मेदवारी घोषणा कार्यक्रममा प्रदेशसभा सदस्य एकराज कार्कीको प्रमुख आतिथ्य रहेको थियो ।
नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), समाजवादी लगायतको संयुक्त स्वतन्त्र प्रगतिशील प्यानल निर्माण गरी उम्मेदवार घोषणा गरिएको हो । उम्मेदवारी घोषणासँगै आज आइतवार उम्मेदवारी मनोनयन दर्ता गरिने जनाइएको छ ।
खानेपानी संस्था उपभोक्ताहरुको योगदानमा सञ्चालित सामाजिक संस्था भएकाले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने मान्यता विगतदेखि नै रहिआएको अध्यक्ष पदका उम्मेदवार सिटौलालले बताए ।
तर, त्यस्तो हुन नसकेकाले बिर्तामोडका क्रियाशील मुख्य राजनीतिक शक्तिहरु तथा स्वतन्त्र सामाजिक व्यक्तिहरु मिलेर निर्वाचनमा सामुहिक प्रतिष्पर्धा गर्ने उद्देश्यले स्वतन्त्र प्रगतिशील प्यानल निर्माण गरेको अध्यक्ष पदका उम्मेदवार सिटौलालले बताए ।
उम्मेदवार सिटौलालले आफू नेतृत्व प्यानलले जिते हाल १३ हजारमा जडान गरिँदै आएको धारा ९ हजार रुपैयाँमा जडान गर्ने, महशुल घटाउने, ठाउँ–ठाउँमा सार्वजनिक धारा जडानलगायत कार्य गर्ने प्रतिबद्धता गरेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि कार्की, नेकपा (माओवादी केन्द्र) प्रदेश कमिटी सदस्य कँुवेर श्रेष्ठ (अरुण) लगायतले आ–आफ्नो धारणा राखेका थिए ।































