फरार प्रतिवादी धमाधम पक्राउ

0
42

झापा, 

जिल्ला प्रहरी कार्यालय झापाले आपराधिक घटनाका फरार प्रतिवादीलाई धमाधम पक्राउ गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालका अनुसार चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा मात्र एक सय ३२ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ परेका प्रतिवादीलाई अदालतको आदेशानुसार कतिपयलाई जरिवना लिएर छाडिदिएको छ भने कतिपयलाई कैद भुक्तानका लागि जिल्ला कारागार झापामा पठाइएको उहाँले जानकारी दिनुभयो । उहाँले पक्राउ गरिएकामध्ये एक सय १८ पुरुष र १४ महिला भएको बताउनुभयो ।

अपराधका २६ मुद्दामा पक्राउ परेकामध्ये सबैभन्दा बढी चोरी घटनामा संलग्न रहेको पाइएको छ । आर्थिक वर्ष २०७९/८० को पुसदेखि वैशाखसम्ममा चोरी घटनामा २१, लागुऔषधमा २०, कीर्तेजालसाजीमा ११, वनसम्बन्धी मुद्दामा ११, सवारी ज्यान मुद्दामा १० जना छन् ।

प्रहरीले फरार प्रतिवादीलाई पक्राउ गर्न विशेष सक्रियता बढाएको प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताउनुभयो । विभिन्न आपराधिक घटनामा संलग्न भएर अदालतबाट दोषी ठहर भइसक्दासम्म फरार रहेकालाई पक्राउ गर्न प्रहरीले सक्रियता बढाएको उहाँको भनाइ छ ।

हाल फौजदारी र देवानी मुद्दामा दोषी ठहर भइसकेका अपराधीलाई दैनिकजसो पक्राउ गरिरहेको उहाँले जानकारी दिनुभयो । उहाँले प्रहरीले प्रतिवादीलाई पक्राउ गरेर बुझाएपछि अदालतले कैद सजाय भुक्तान र जरिवानाका लागि कारागार चलान गर्ने गरेको बताउनुभयो ।

जिल्लामा गोरु मारेका, चिठ्ठासम्बन्धी कसुर, जबर्जस्ती करणी उद्योग, जुवासम्बन्धी कसुर, ठगी, बालयौन दुरुपयोग, विदेशी विनिमय, सम्बन्धविच्छेद, लेनदेन, बहुविवाह, आपराधिक उपद्रव, हिसाब यकिन गरी पाउ, नाता कायम, डाँका, गाली बेइज्जतीलगायतका मुद्दाका प्रतिवादी पक्राउ परिरहेको उहाँले बताउनुभयो ।

“कैद तथा जरिवाना भुक्तान नगरिकन भागिरहेकालाई धमाधम पक्राउ गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “अपराधमा संलग्न भएर फरार हुनेलाई गोप्य सूचनाका आधारमा पक्राउ गरेर कानुनको दायरामा ल्याई पीडितलाई न्यायको अनुभूति दिलाउँछौँ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here