हात्तीको अन्तिम संस्कारमा आएनन् हात्तीहरु नै

0
140

एकाबिहानै कोही किसानले, पानीले छिपछिले परेको चरउमा एक हात्ती लडिरहेको देखे । उनले सोचे, ए के आनन्दले आराम गरिबसेको हो ? हात्ती त । कतै टाढाबाट आउँदाआउँदै थाकेर सुस्ताएको होला ।
किसान केही डर मान्दै भए पनि जमिनमा सुतिराखेको हात्ती नजिक गए । हात्तीले कुनै प्रतिक्रिया जनाएन । किसान अझ नजिक गए आवाज पनि दिए तै पनि हात्ती चुप । किसान असमन्जसमा परे । उनले राम्ररी ठम्याए, हात्तीको देहवसान भइसकेको रहेछ ।

यत्रो विशालकाय हात्ती पनि मर्दो रहेछ । मानिसहरु भन्छन् हात्ती त हजार वर्ष पो बाँच्छ त । यो हात्ती के सय वर्ष पनि बाँच्यो होला त ? किसान सोच मग्न भए, किन हात्तीहरुको पनि उमेर छोटिँदै आउँदो छ ? यो हात्ती के भएर मर्नु परो त ? कतै चोट पनि देखिँदैन । करेन्ट पनि लागेको होइन । केहीले र कसैले केही गरेर मरेको जस्तो पनि छैन, तर हात्ती त मरेछ । किसानले यो खबर सम्बन्धित निकाय समक्ष दिनुपर्छ भन्ने ठाने ।

एक कान दुई कान तीन कान गर्दै गाउँ, बजारमा हात्तीको मृत्यबारेको हल्ला फैलन्छ । मृत हात्ती हेर्नेहरुको भिड लाग्न थाल्दछ । बालबालिका, किशोरकिशोरी, युवावर्ग, प्रौढ र ज्येष्ठहरु मृत विशाल हात्ती हेर्न जम्मा हुन्छन् । उनीहरुका मनमा विभिन्न तर्कनाहरु खेल्दछन् । हात्ती कसरी, केले गर्दा मरेको होला ? आखिर यति ठूलो शरीर भएको हात्ती पनि मर्दो रहेछ । मनका मन धान, मकै, अन्न, थामका थाम केरा आदि खान सक्ने विशाल हात्ती पनि मर्नु पर्दो रहेछ । मृत हात्ती हेर्न आउनेहरुले दुःख माने । हात्तीलाई आफ्नै ठाउँका कोही सदस्य जस्तै ठाने । हात्तीको मृत्यमा दुःख अनि शोक व्यक्त गरे, कतिपयले बोलेर, कतिपयले मनमनै, कतिपयले भावभङ्गीले ।

हात्ती देहवसान भएको ठाउँमा हात्तीबारे जान्ने सरकारी मान्छेहरु पनि आइपुगे । उनीहरुले पनि हात्ती देहवसान भएकै ठम्याए । मृत हात्तीको फोटाहरु खिचिए, अवस्था हेरि, नापजाँज गरिकन हात्तीको मृत्यबारे सरकारी प्रक्रिया पूरा गरे । एक–एक गर्दै सरकारी मानिसहरु हिँडे आ–आफ्ना कर्तव्य पथमा ।

मृत हात्ती हेर्न आउनेको घुइँचो हात्ती वरिपरि झुम्मिए । स्वीकारे हात्तीले पनि कुनै पनि बेला मृत्य वरण गर्नुपर्ने रहेछ । ऊ पनि दैवको खेलदेखि हार खाँदो रहेछ । यसै हात्तीले चाहिँ उप्रदो गरो गरेन ? तर, उसका हात्ती खलकहरुले गाउँलेहरुलाई दिनसम्म दुःख दिए विगतमा, अन्नपात खाएर, केरा खाए, सुपारीका बोट ढालेर, घर फोरेर, मान्छे मारेर । बजारभित्र पसेर पनि मानिसहरुलाई दुःख दिएकै हुन् । हात्ती र मानिसहरुको द्वन्द्व उत्कर्षमा पुगेकै हो । हात्तीको उपद्रो नियन्त्रण गर्न जनस्तर, स्थानीय सरकारदेखि जिल्लातहसम्मका सरकारी संयन्त्र परिचालन भएकै हुन् ।

मानिसहरुले हात्तीलाई करेन्ट लगाए, टाङमुनी पटक पड्काए, कुटे, पुच्छर लुछे, भाला हाने, सुँड काटिदिए । के–के पो गरेनन् मान्छेहरुले हात्ती उपर तर हात्तीहरुकै व्यहोराले मानिसहरुले त्यसो गर्न बाध्य भएका हुन् । हात्तीले मानिसहरुलाई यतिबिघ्न दुःख दिँदा पनि हात्तीको मृत्यमा कसैले खुचिङ भनेनन् बरु शोक मनाए । हात्तीको मृत्यलाई आफ्नै मृत्युसँग दाँजे । हात्ती जस्तै मानिसहरु पनि कुनै दिन पुक्लुक्क मर्नुपर्छ । मानिसहरुले हात्तीको मृत्युप्रति दुःख व्यक्त गर्दै बरु विधिपूर्वक हात्तीको अन्तिम संस्कार गर्ने सल्लाह गरे । कसैले के सामान जुटाए कसैले के । वैदिक विधि अनुरुप हात्तीको अन्तिम संस्कार गरे मानिसहरुले । उसको अन्तिम संस्कारमा हजारौँ मानिसहरु भेला भए । हजारौँ मानिसहरु हात्तीको मलामी आए ।

हिजोसम्म हात्तीले मानिसहरुलाई दुःख दियो, तर तिनै मानिसहरुले मानिसको मृत्यु संस्कार जस्तै गरी हात्तीको अन्तिम संस्कार गरेर अलबिदा गणेश देउता भने । मानिसहरुले माटो दिए मृत हात्तीलाई । अन्न खाने, कोला खाने, घर भत्काइदिने र मानिसहरु मारी नै दिने हात्तीलाई मानिसहरुले आफ्ना आफन्त मरे जस्तै शोक मान्दै विदाइ गरे ।

हजारौँ मानिसले मृत हात्तीको अन्तिम विदाइ गरे । मानिसहरु भावुक बने हात्तीको मृत्युमा तर त्यहाँ हात्तीलाई हेर्न, अन्तिम विदाइ गर्न कुनै पनि हात्तीहरु देखा परेनन् । किन ? एउटा काग मर्दा सयौं कागहरु कहाँ–कहाँबाट आइपुग्दछन् र शोक मनाउँछन् । एउटा बाँदर मर्दा पनि सयौं बाँदर भेला हुन्छन् ।

बाँदरको बुद्धि हुँदैन भन्छन्, तर बाँदरहरु निकै संगठित हुन्छन् । मानिसहरु हात्तीलाई बुद्धीमान मान्दछन् र गणेश देवता भनेर मान–सम्मान र पूजा समेत गर्दछन् । तर, तिनै बुद्धीमान हात्तीहरु हात्ती मर्दा किन आएनन् अरु बुद्धीमान हात्तीहरु ? सोचनीय विषय भयो । जबकी हात्तीहरु मृत हात्ती कै नजिकका जंगलमै बसेका छन् । देवताको कोटीमा रहेका हात्तीहरुले आँखाले देखिरहन पर्दैन आफ्ना साथी या आफन्त मरेको । उनीहरुले यसै पनि अलौकिक शक्तिका भरमा थाह पाएका हुन्छन् । तर, पनि मरेको हात्तीको नजिक अनि अन्तिम विदाइ गर्न, शोक जनाउन कुनै हात्ती आएनन् ।

मृतक हात्ती पोथी अर्थात् ढोई थिइन् । तिनी कसैको मायालु या प्रेमीका दिइन् होलीन् । कसैको दिदी–बहिनी थिइन् होलीन् या कसैको आमा अनि धेरैका साथीसंगी, हितैसी पनि तर पनि कोही आएनन् । हात्तीहरुको यस्तो व्यवहारले मानिसहरुलाई साह्रै दुःखी बनायो । बरु मानिसहरुले आफैलाई दुःख दिने हात्तीको अन्तिम संस्कार, मानिसलाई जस्तै विधिपूर्वक पूजा गरेर फूलमाला अर्पण गरेर, माटो अर्पण गरेर अन्तिम विदाइ गरे । यो दृष्य या घटना अनौठो जस्तो लागे पनि एक उत्कृष्ट दृष्य या घटना भयो । आखिर मानिस भनेका मानिस नै हुन् । मानिस जस्ता उत्कृष्त विवेकी प्राणी धर्तीमा अरु केही छैनन् रहेछन् । मानिसहरुको यस्तो मित्रवत व्यबहार देखेर अबदेखि भने हात्तीहरुले मानिसहरुलाई दुःख दिदैनन् कि ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here