भारतीय भूमिमा दाहसंस्कार गर्ने परिपाटीको अन्त्य, : नेपालमै मलामी विश्राम गृहको उद्घाटन

१८ जेष्ठ २०८०, बिहीबार मा प्रकाशित

 

झापा, नेपाली नागरिकको मृत्यु पश्चात् भारतीय भूमि लगेर दाहसंस्कार गर्ने परिपाटीको अन्त्य भएको छ । झापाको भद्रपुर नगरपालिका–५ शान्तिटोल (मेची नदी किनार)मा निर्माण गरिएको मलामी विश्राम गृहको बुधबार एक कार्यक्रमकाबीच उद्घाटन तथा हस्तान्तरण गरिएसँगै नगरबासीले भोग्दै आएको सो परिपाटीको आजदेखि अन्त्य भएको हो ।

भद्रपुर नगरपालिका र सामुदायिक प्रहरी सेवा केन्द्र, भद्रपुरले संयुक्त रुपमा निर्माण गरेको मलामी विश्राम गृहको नगर प्रमुख गणेश पोखरेल र उपप्रमुख राधा कार्कीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

२०७६ सालमा मेची नदी किनारको भारतीय भूमिमा मलामी गएका सीताराम कामतीको अत्यधिक गर्मीका कारण मृत्यु भएपछि स्थानीयले नेपाली भूमिमै शव दाह स्थल र मलामी विश्राम गृहका निर्माणका लागि स्थानीय सरकारसँग जोडदार माग गरेका थिए । स्थानीयको उठाएको माग बमोजिम गरी भद्रपुर ५ नम्बर वडा अध्यक्ष वडाध्यक्ष बन्धु कार्कीको पहलमा नगरपालिकाले आ।व।२०७७÷०७८ मा मलामी विश्राम घर निर्माणको लागि नगर सभाबाट बजेट विनियोजन गरेको थियो ।

२०७७ असोज ५ गते सरोकारवालाहरूको भेलाले सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुरलाई मलामी विश्राम गृहको जिम्मेवारी दिएपछि २०७७ माघ २८ गते भद्रपुर नगरपालिका र सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुरबीच योजना सञ्चालनको सम्झौता भई निर्माण कार्य सुचारु भएको थियो ।

तोकिएको समयावधि भन्दा ढिलै मलामी विश्राम गृह निर्माण कार्य सम्पन्न भए पनि मलामी जाँदा भोग्दै आएको पीडाको अन्त्यले नगरवासी बल्ल खुसी महसुस गरेका छन् । नगरपालिकाले पहिलो चरणमा दुई वटा शव दाह स्थल निर्माण गरेको थियो, भने दोस्रो चरणमा मलामी विश्राम गृह निर्माण गरेको हो ।

सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुरका अध्यक्ष शिला खड्का श्रेष्ठको अध्यक्षता तथा नगर प्रमुख पोखरेलको प्रमुख आतिथ्यता भएको उद्घाटन कार्यक्रममा उपप्रमुख राधा कार्की, निवर्तमान नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) भद्रपुर नगर अध्यक्ष शिवकुमार राजभण्डारी, वडा अध्यक्ष बन्धु कार्की, देवकोटा स्मृति भवनका अध्यक्ष राजेन्द्र चापागाईँ, प्रेस क्लब भद्रपुरका अध्यक्ष राजबाबु शङ्कर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुरका महासचिव दीपक अधिकारीको सञ्चालन तथा उपाध्यक्ष देवकुमार घिमिरेको स्वागत मन्तव्य रहेको सो कार्यक्रममा सामुदायिक प्रहरी केन्द्र, भद्रपुरका अध्यक्ष खड्काले नगर प्रमुख पोखरेललाई मलामी विश्राम गृहको साँचो हस्तान्तरण गरेका थिए ।

सोही कार्यक्रममा मलामी घर नजिक भद्रपुर–८ कि शोभा श्रेष्ठको सहयोगमा निर्माण गरिएको भूतनाथ महादेवको मूर्तिको पनि अनावरण गरिएको थियो ।

 

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here