दूध चिस्यान केन्द्र सञ्चालन भएपछि कटहरडाँडाका कृषकहरु लाभान्वित

0
94

अमित खम्बू,
अर्जुनधारा ।

चालु आर्थिक वर्ष ०७९/०८०को स्वीकृत वार्षिक नीति तथा कार्यक्रमको दुग्ध पकेट प्याकेज कार्यक्रम अन्र्तगत अर्जुनधारा–९ स्थित कटहरडाँडा प्रगति कृषक समूहले सञ्चालन गरेको दूध चिस्यान केन्द्रबाट कृषकहरु लाभान्वित भएका छन् ।

स्थानीयस्तरमा रहेका कृषकहरुको आर्थिक सम्वृद्धी गर्ने उद्देश्यले नगर पशुपन्छी तथा मत्स्य विकास शाखाको ८० प्रतिशत र समूहको २० प्रतिशत लगानीमा उक्त चिस्यान केन्द्र सञ्चालन भएको हो । चिस्यान केन्द्र सञ्चालन भए पछि ग्वाला र बिचौलियाहरुबाट कृषक ठगिने कार्यको पनि अन्त्य भएको समूहका व्यवस्थापक हरि तिम्सिनाले दावी गरे ।

गत चैत ६ गतेदेखि ३७ लिटर दूध संकलन गरि सञ्चालन सुरु भएको चिस्यान केन्द्रमा हाल कृषकहरुबाट दैनिक औषतमा तीन सय लिटर दूध संकलन हुँदै आएको व्यवस्थापक तिम्सिनाले जानकारी दिए । नेपाल सरकारको मापदण्ड अनुसार गुणस्तरको आधारमा दूधको मूल्य निर्धारण गरि कृषकहरुलाई प्रति लिटर न्यूनतम ६० रुपैयाँ देखि एक सय दुई रुपैयाँसम्म भुक्तानी दिने गरेको उनले बताए ।

५३ जना कृषक सदस्य रहेको समूहले प्रत्येक १५ दिनमा दूधको भुक्तानी दिने गरेका छन् । सोही क्रममा कृषकहरुलाई पहिलो चरणमा ४९ हजार एक सय रुपैयाँ, दोस्रो चरणमा ६५ हजार रुपैयाँ, तेस्रो चरणमा एक लाख १० हजार रुपैयाँ, चौथो चरणमा एक लाख ६५ हजार रुपैयाँ, पाँचौं चरणमा दुई लाख २० हजार रुपैयाँ र छैंटौं चरणमा दुई लाख ३६ हजार रुपैयाँ रकम भुक्तानी दिएको बताइएको छ । “समूहले डेरीलाई बिक्री गरि आफ्नो दूधको मूल्य बाहेक प्राप्त नाफा संस्थामा रहने हुँदा त्यसमा पनि उहाँहरुको अधिकार रहने छ ।”– व्यवस्थापक तिम्सिनाले प्रष्ट पारे ।

विगतमा चिस्यान केन्द्र सञ्चालन अघि ग्वालाहरुले कृषकहरुलाई गाईको दूध प्रति लिटर ५० रुपैयाँ र भैंसीको दूध प्रति लिटर ६०–६५ रुपैयाँ दिने गरेको थियो । चिस्यान केन्द्र सञ्चालनसँगै ग्वालाहरुको एकाधिकार तोड्न यस किसिमको कार्यक्रमका लागि पहलसँगै बजेटको व्यवस्थापन गरिदिने नगर पशुपन्छी तथा मत्स्य विकास शाखासँगै अर्जुनधारा नगरपालिकालाई उनीहरुले धन्यवाद दिएका छन् ।

पाँच सय लिटर क्षमताको उक्त चिस्यान केन्द्रमा क्षमता अनुसारको दूध उत्पादन र संकलनमा वृद्धी गर्ने समूहको लक्ष्य रहेको सचिव धनबहादुर राईले जानकारी दिए । त्यसैगरी कृषकहरुका लागि आवश्यक अन्य कार्यक्रमसँग चिस्यान केन्द्रको स्तोरन्नतीका लागि वडा, नगरपालिका, प्रदेश र संघीय सरकारसँग पहल गर्ने कार्य भइरहेको उनले बताए ।

यता समूहले सञ्चालन गरेको कार्यप्रति वडा र नगरपालिका सन्तुष्ट रहेको र आगामी दिनमा पनि सहयोग गर्ने वडाध्यक्ष भीष्म मिश्रले बताए ।

यसैबीच समूहमा आवद्ध कृषकहरुलाई लक्षित गरि पशुपन्छी तथा मत्स्य विकास शाखाको आयोजना र समूहको संयोजनमा मंगलबार थुनेलो रोग नियन्त्रण, दूध परीक्षण तथा निःशुल्क औषधी वितरण कार्यक्रम सम्पन्न भएको छ ।

समूहका कार्यावाहक अध्यक्ष एवम् उपाध्यक्ष पूण्यप्रसाद अधिकारीको अध्यक्षता र वडाध्यक्ष मिश्रको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा कृषकहरुलाई थुनेलो रोग नियन्त्रण बारे प्राविधिक ज्ञानसँगै निःशुल्क औषधी वितरण गरिएको थियो ।

थुनेलो रोगको विषयमा जानकारीसँगै कृषकहरुको पशुधनको सुरक्षा गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको शाखा प्रमुख एवम् सहजकर्ता पदमलाल राईले बताए ।
समूहका व्यवस्थापक तिम्सिनाले स्वागतसहित समूहको वर्तमान अवस्था बारे जानकारी गराएको कार्यक्रममा नगर कार्यपालिका सदस्य एवम् आर्थिक समितिकी संयोजक गौरीमाया चिमरीयाले आफ्नो धारणा राखेकी थिइन् । उक्त कार्यक्रमको सञ्चालन शाखा प्रमुख राईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here