झापामा २० वटा आयोजना सञ्चालन गर्न २१ करोड अनुदान

0
61

सुरेन्द्र भण्डारी


सुरुङ्गा, झापामा २० वटा आयोजना सञ्चालनका लागि संघीय सरकारले २१ करोड ८० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।
आर्थिक वर्ष २०८०÷२०८१ का लागि संघीय सरकारले समपुरक अनुदान मार्फत स्थानीय तहबाट सञ्चालन हुने योजनाका लागि सो रकम बिनियोजन गरेको हो । राष्ट्रिय योजना आयोगले सार्बजनिक गरेको बिबरणमा झापाका विभिन्न पालिकाका २० वटा आयोजना रहेका छन् ।

समपुरक अनुदान मार्फत अर्जुनधारा नगरपालिकामा खानेपानीका लागि ७५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । शनिश्चरे खानेपानी तथा लटरे खानेपानी आयोजना स्तरोन्नति तथा विस्तारका लागि बजेट विनियोजन भएको हो । यो सँगै अर्जुनधारा नगरपालिकामा विपद् व्यवस्थापनका लागि ७० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । विनियोजित रकमले ठूलो नेते खोलामा तटबन्धन गर्ने अर्जुनधारा नगरपालिका प्रमुख वलदेवसिंह गोम्देनले बताउनुभयो ।

यता बाह्रदशी गाउँपालिकामा रहेको गौरीशंकर माध्यमिक विद्यालयको भवन निर्माणका लागि ५० लाख रुपैयाँ वजेट विनियोजन भएको छ । बाह्रदशी गाउँपालिका ७ डाँगीवारीमा रहेको सो विद्यालयको भवन निर्माणका लागि संघीय सरकारले शिक्षालाई मूलभूत क्षेत्र मान्दै दुई वर्षभित्र भवन निर्माण सम्पन्न गर्ने गरी बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष देविन्द्र प्रसाद चम्लगाईले बताउनुभयो । सो विद्यालय गाउँपालिकाको नमूना विद्यालयका रुपमा रहेको छ ।

भद्रपुर नगरपालिकामा समावेशीकरण तथा मूल प्रवाहीकरणका लागि दुई करोड रुपैयाँ बजेट विनियोजन भएको छ । तीन वर्षे आयोजनाका रुपमा नगरमा रहेका सन्थाल समुदायका लागि आवास कार्यक्रम अन्तर्गत सो रकम विनियोजित भएको हो ।

यता बिर्तामोड नगरपालिकामा खाद्य सुरक्षा कार्यक्रमका लागि दुई करोड रुपैयाँ बजेट विनियोजन भएको छ । बिर्ताबजार, कृषिबजार तथा सामुदायिक भवन बिर्तामोड–३ का लागि संघीय सरकारबाट बजेट विनियोजन भएको हो । दुई वर्षभित्र काम सम्पन्न गर्ने गरी आयोजना सञ्चालन हुने बताइएको छ ।

बुद्धशान्ति गाउँपालिकामा फोहोरमैला व्यवस्थापनका लागि ९० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । तीन वर्षे आयोजनाको अवधि रहेको छ । सो अवधिमा फोहोरमैला व्यवस्थापनका लागि ल्याण्डफिल्ड साइड विथ इनसिनिरेशनको काम गर्ने जनाइएको छ । बुद्धशान्ति गाउँपालिकामै मूलभूत क्षेत्र शिक्षालाई आधार मान्दै आदर्श मावि जयपुरको भवन निर्माणका लागि ७० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

उता दमक नगरपालिकामा शिक्षालाई मूलभूत क्षेत्र मान्दै विद्यालयहरुको पूर्वाधार निर्माणका लागि दुई करोड रुपैयाँ बजेट विनियोजन भएको छ भने गौरादह नगरपालिकामा खानेपानीका लागि एक करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ । गौरादाह नगरपालिका–५ को चान्दु खोला ८ नम्बरको बाँध (चान्दु) खानेपानी तथा सरसफाई आयोजनाका लागि सो रकम छुट्टिएको हो ।
त्यस्तै गौरीगञ्ज गाउँपालिकामा खानेपानी आयोजनाकै लागि ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । खजुरगाछी खानेपानी आपूर्ति आयोजनाका लागि सो बजेट विनियोजन भएको हो ।
त्यस्तै फोहोरमैला व्यवस्थापनका लागि गौरीगञ्ज गाउँपालिकालाई ७० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । विनियोजित रकमले ल्याण्डपिल्ड साइड निर्माण तथा व्यवस्थापन गरिने जनाइएको छ ।
हल्दिबारी गाउँपालिकामा खानेपानी आयोजना सञ्चालनका लागि एक करोड १५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । विनियोजित बजेटले हल्दिबारी गाउँपालिकाका विभिन्न स्थानमा खानेपानीको पाइप बिस्तार गरिने गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनले बताउनुभयो ।

झापा गाउँपालिकामा आदिवासी, जनजाति, मधेशी, मुस्लिम, दलित लगायत विपन्न वर्गका लागि आवास निर्माण गर्न एक करोड १५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । विनियोजित बजेटले झापा गाउँपालिकाको ३, ४ र ५ नम्बर वडामा आवास निर्माण गरिने गाउँपालिका अध्यक्ष जयनारायण साहले बताउनुभयो । समावेशीकरण तथा मूलप्रवाहीकरणलाई मूल क्षेत्र बनाएर संघीय सरकारबाट विपन्न आवास कार्यक्रमका लागि सो रकम प्राप्त हुने अध्यक्ष साहको भनाइ छ ।

कचनकबल गाउँपालिकामा खानेपानीका लागि एक करोड १५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । गाउँपालिकाको ३, ६ र ७ नम्बर वडामा खानेपानी पाइपलाइन बिस्तारका लागि सो रकम विनियोजन भएको हो ।

यता कमल गाउँपालिकामा शिक्षा क्षेत्रका लागि एक करोड रुपैयाँ बजेट विनियोजन भएको हो । विनियोजित रकमले महेन्द्र रत्न मावि कमल–२ को भवन निर्माण गरिने जनाइएको छ । कमल गाउँपालिकामा रहेको लगनपुर स्वास्थ्यचौकीको भवन निर्माणका लागि ८० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
कनकाई नगरपालिकामा फोहोरमैला व्यवस्थापनका लागि दुई करोड रुपैयाँ बजेट विनियोजन भएको छ । संघीय सरकारबाट प्राप्त बजेटले जामुनबारीचोकबाट वनपथ हुँदै बायोग्यास प्लान्टसम्म जाने पूर्वाधार निर्माण गरिने बताइएको छ । आयोजनाको अवधि तीन वर्षे रहने नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभयो ।

मेचीनगरपालिकामा विपद् व्यवस्थापनका लागि एक करोड रुपैयाँ बजेट विनियोजन भएको छ । निन्दा रिभर बैंक इन्बैंकमेन्ट निर्माणका लागि सो रकम विनियोजन भएको हो । त्यस्तै आदर्श माविको विद्यालय भवन निर्माणका लागि एक करोड १५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
शिवसताक्षी नगरपालिकामा फोहोरमैला व्यवस्थापनका लागि एक करोड १५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । शिवगञ्ज बजार, ढल व्यवस्थापन तथा पूर्वाधार निर्माण शिर्षकमा तीन वर्षे आयोजना अवधि राखेर बजेट विनियोजन गरिएको हो ।
सरकारले समपुरक अनुदान मार्फत प्रदेश सरकार तथा स्थानीय तहबाट कार्यान्वयन हुनेगरी योजना छनौट गर्दै बजेट विनियोजन गरेको हो ।–––

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here