सामुदायिक विद्यालय सुधारमा अभिभावकको भूमिका

0
154

‘विद्या धनम् सर्वधनम् प्रधानम्’ अर्थात् जीवनको सबैभन्दा श्रेष्ठ सम्पत्ति मानिने शिक्षाले बौद्धिक, सामाजिक, आर्थिक, नैतिक लगायतको सर्वाङ्गीण विकास गर्दै अन्धकार हटाएर उज्यालोतर्फको यात्रामा व्यक्तिलाई अघि बढाउँछ । बालबालिकाको पहिलो पाठशाला घर हो भने आमाबाबु पहिलो शिक्षक हुन् । परिवारका सदस्यहरूबाट सिकेर नै बालबालिकाको शारीरिक, मानसिक एवम् सामाजिक पक्षको विकास हुन्छ । जीवनलाई सहज बनाउन विद्यालय शिक्षाको आवश्यकता पर्ने हुँदा बालबालिकालाई विद्यालयमा भर्ना गरेर शिक्षित बनाइन्छ । बालबालिकालाई विद्यालयमा भर्ना गर्दैमा अभिभावकको दायित्व पूरा हुँदैन । विद्यार्थीहरू शिक्षकसँग बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म केबल ६ घण्टामात्र रहन्छन् भने बाँकी १८ घण्टा त अभिभावकसँग नै हुने हुँदा विद्यार्थीको पठनपाठन सुधारमा अभिभावकको महत्त्वपूर्ण भूमिका हुन्छ ।

विद्यालयमा सिकाएर मात्र बालबालिकाको पढाइ पूरा नहुने हुँदा उनीहरूलाई घरमा पढ्ने वातावरण सिर्जना गर्नु अभिभावकको कर्तव्य हुन आउँछ । वास्तवमा बालबालिकाको सिकाइ सुनिश्चितता गर्न अभिभावक स्वयम् सजग बन्नुपर्ने हुन्छ । शिक्षाको गुणस्तर वृद्धिका लागि विद्यालय तथा घरमा बालबालिकाको अध्ययन गर्ने बानी विकास गर्दै सिकाइ निरन्तरतामा सहयोग पु¥याउने अभिभावकहरू अघि बढ्न आवश्यक छ । हाम्रो देशमा सामुदायिक विद्यालय भन्ने बित्तिकै गरीबको विद्यालय बुझिन्छ । अधिकांशतः सामुदायिक विद्यालयको भौतिक संरचना असाध्यै पुराना र जीर्ण अवस्थामा छन् । भद्रगोल किसिमको व्यवस्थापन, विद्यार्थी र शिक्षक विद्यालय होइन, समय बिताउन मात्र आए जस्ता कुराहरू, महिनौंदेखि सफा नगरिएका शौचालयहरू सामुदायिक विद्यालयका केही तस्वीर हुन् ।

विद्यालयको स्तरोन्नतिको मापन त्यस विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीहरूको सिकाइमा अपेक्षित उपलब्धिले संकेत गर्दछ । विद्यालयको स्तरोन्नतिका लागि प्रत्यक्ष रूपमा संलग्न सरोकारवालाहरूको भूमिका जिम्मेवार र इमान्दारीपूर्ण रहन आवश्यक छ । सरोकारवालाहरूको गुणात्मक र मात्रात्मक संलग्नताले नै विद्यालयको रूप र सार परिवर्तन गराउनमा मुख्य भूमिका खेल्छ । सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक र विव्यसको एकअर्काप्रतिको धारणा बुझ्न आवश्यक छ जसले आगामी दिनमा गर्नुपर्ने कामका क्षेत्र र प्राथमिकता निर्धारण गर्ने आधार निर्माण हुन्छ ।

समग्र सामुदायिक विद्यालयको स्थिति सुधारका लागि प्रधानाध्यापक र शिक्षकको भूमिका प्रबल भए पनि अभिभावक र विद्यालय व्यवस्थापन समितिले महत्त्वपूर्ण भूमिका नखेल्ने हो भने विद्यालय लथालिङ्ग भएका धेरै उदाहरण छन् । सबै सम्बन्धित सरोकारवाला सामुदायिक विद्यालय सुधारका कार्यमा लाग्न र सबैका लागि कामको क्षेत्र स्पष्ट हुनुपर्ने स्पष्ट छ । सम्बन्धित सबैलाई आफ्नो काम, कर्तव्य र अधिकारको बोध भएमा सार्वजनिक शिक्षाको स्थिति अवश्य सुध्रिने छ । वर्तमान परिप्रेक्ष्यमा विद्यालय शिक्षामा सरकारी तथा गैरसरकारी लगानी बढे पनि सो अनुपातमा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको संख्या र सिकाइ गुणस्तर अपेक्षित रूपमा बढ्न सकेको छैन । सामुदायिक विद्यालय सुधारका धेरै पाटा पक्षहरू छन् । अभिभावकका तर्फबाट सार्वजनिक शिक्षाको सबलीकरणका लागि खेल्नुपर्ने भूमिका अति नै ठूलो छ ।

विगतमा विद्यालयमा अभिभावकको संलग्नता प्रमुख थियो र राज्यको सहयोग नगण्य थियो । समुदायले नै विद्यालय खोली त्यसको बन्दोबस्त गर्थे । तर, राष्ट्रिय शिक्षा पद्धतिको योजना अर्थात् नयाँ शिक्षा नीति २०२८ सालमा लागू भएयता सामुदायिक विद्यालयको जिम्मा राज्यले लिने भयो । शुरूमा तीन कक्षा, पछि पाँच कक्षासम्मा निःशुल्क पढाउने काम भयो । २०४६ सालपछि १० कक्षासम्म निःशुल्क शिक्षा दिने घोषणा पनि भयो । यो अवधिमा धेरै निजी विद्यालयहरू पनि खुले । तिनमा अभिभावकको रुची बढ्दै गयो । राज्यद्वारा सञ्चालित सामुदायिक विद्यालय, औसतमा भन्ने हो भने निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगे ।

अंग्रेजी भाषाको मोहका कारण नेपालको विद्यालयीय शिक्षा पनि तीव्ररूपमा पश्चिमा शैलीको राज्य व्यवस्थातिर हुँइकिँदै थियो । कथनीमा २०२८ मा समुदायबाट सम्पूर्ण शिक्षाको जिम्मा सरकारले लियो र एउटा औपचारिक विद्यालय सञ्चालन समिति गठन गर्ने व्यवस्था ग¥यो । पछि यो सहयोग समिति हुँदै आएर फेरि व्यवस्थापन समिति भयो । समुदायको निकट निगरानीबिना सरकारका प्रयत्नको परिणाम अपेक्षाकृत नभएको कुरा महशुस गरी यो समितिलाई निकै अधिकार दिएर सरकारले विद्यालय समुदायलाई फिर्ता दिने प्रयास ग¥यो । यसबीच राज्यले निःशुल्क घोषणा गर्ने तर पर्याप्त स्रोत नदिने गर्नाले सरकारी विद्यालयहरू खस्कँदै गए । विद्यालय र समुदायबीचको जैविक सम्बन्ध सरकारीकरणका प्रयासमा टुटिसकेको थियो । सरकारी भनिएका विद्यालयको अवस्था सुधार नभएपछि अभिभावकको अपेक्षा सम्बोधन गर्न सक्ने स्थिति देखिएन र नाफा कमाउने उत्प्रेरणा राखेका निजी विद्यालयहरू मन पराइन थाले । समुदायलाई फेरि विद्यालय जिम्मामा लिन थप प्रोत्साहन पनि गरियो, तर त्यो प्रयत्न जैविकभन्दा यान्त्रिक थियो । नेपालको शिक्षा क्षेत्रका लागि २०२८ साल एउटा पानीढलो भए पनि विद्यालय सरकारका पनि भएनन् र अभिभावकका पनि भएनन् । प्रजातान्त्रिक आन्दोलनका मूल सहयोगीका रूपमा रहेका शिक्षक र विव्यसहरू बीच दलको साइनो नजिकिँदै थियो ।

आजको अवस्था धेरै फरक भइसकेको छ । सामुदायिक विद्यालयमा अभिभावकको संलग्नता बढ्नुपर्ने भइसकेको छ । सरकारी वा सामुदायिक विद्यालयहरूले गुमेको विश्वास आर्जन गर्नुपर्नेछ । सामुदायिक विद्यालयहरू साँच्चै गरीब परिवारका शरणार्थी विद्यार्थी जम्मा हुने थलो जस्तो बन्न पुगेको आजको अवस्थालाई परिवर्तन गर्न जरुरी छ । राज्यका नीति र समाजका विचार निर्माता सबैजसोका केटाकेटीहरू सार्वजनिक विद्यालयमा नहुनुले पनि सामुदायिक विद्यालयप्रति जनताको विश्वास कमजोर बन्न पुगेको हो । सुन्दा नराम्रो लागे पनि नेपालमा सरकारी विद्यालय छैनन् । अहिले सरकारी नामका सामुदायिक विद्यालयहरू शंखेकिरा जस्तो जसरी–तसरी घस्रिरहेका छन् । विद्यालयलाई समुदायबाट अलग गर्न पनि नसकिने र अलग गर्दा पनि विद्यालयको व्यवस्थापन र सिकाइको गुणस्तर कायम हुन नसक्ने भएकाले सार्वजनिक विद्यालयका सन्दर्भमा समुदायको सहभागिता र अपनत्व अनिवार्य देखिन्छ ।

मुलुकका लगभग एक सय सामुदायिक विद्यालयलाई छोडेर भन्ने हो भने अन्य सामुदायिक विद्यालयको अवस्था राम्रो छैन । यो निराशाजनक अवस्था बन्नुमा नेपाल सरकारको नीति नै प्रमुख जिम्मेवार छ, तर अहिले विद्यालय बिग्रनुमा शिक्षक र अभिभावकको भूमिकालाई पुनर्परिभाषित गर्न पनि जरुरी छ । शिक्षाको सम्पूर्ण कुरा एक पछि अर्काे सरकारले ‘जिम्मा लिन्छु’ र ‘शिक्षा निःशुल्क हुन्छ’ भन्न थालेपछि पर्याप्त स्रोत नभए पनि समुदाय अब विद्यालयमा एक पैसो खर्च गर्न मान्दैन जस्तो देखिन्छ । तर, सचेत अभिभावकले सरकारसँग साझेदारी, समन्वय र सहकार्य गर्दै विद्यालय शिक्षाका सवालमा बहस–पैरवी गर्दै गुणस्तरीय शिक्षाको प्रत्याभूतिका लागि भूमिका खेल्न सक्छन् । मुलुकमा रहेका २८ हजारभन्दा बढी सामुदायिक विद्यालय सबै एकै स्तरका नभए पनि तिनीहरूका समस्या समान प्रकृतिका छन्, जसका हल पनि समान प्रकारका हुन सक्छन् । जुन–जुन ठाउँका अभिभावक सजग, सतर्क र आफ्ना सन्तानको भविष्यप्रति साँचो अर्थमा क्रियाशील छन्, त्यो ठाउँको सार्वजनिक शिक्षा सुधारिएको पाइन्छ । सामुदायिक विद्यालयको सुधार नगरिकन सार्वजनिक शिक्षालाई सुदृढ गर्न सम्भव छैन । विद्यालय सुधारका लागि चालिनुपर्ने पहिलो कदम अभिभावकको विद्यालयप्रतिको चासो र दृष्टिकोणमा परिवर्तन ल्याएर मात्र सम्भव छ ।

परिवर्तनको प्रमुख पहलकर्ता अभिभावक बन्ने अवस्था सृजना भएमा मात्र शिक्षक, पुस्तक, शैक्षिक सामग्री, भौतिक व्यवस्थापन आदिको सहज व्यवस्थापन हुँदै जान्छ । अभिभावकलाई जिम्मेवार, सचेत र सक्षम बनाउन सके उनीहरू आफ्ना नानीबाबु पढ्ने विद्यालय सुधार्न बहस, छलफल तथा अन्तरक्रिया गर्छन् र समस्याका समाधानका उपायहरू पहिल्याउँदै अघि बढ्छन् । गुणस्तरीय सार्वजनिक शिक्षाका लागि छोराछोरी विद्यालय पठाएर मात्र अभिभावकको दायित्व पुरा हुँदैन । सामुदायिक विद्यालयको समग्र सकारात्मक परिवर्तनका लागि समुदायको चासो, चाख, र चिन्ता हुन आवश्यक छ । समुदायको अभिभावकत्व र सहकार्य विना विद्यालयको समुचित सुधार हुन्न । सार्वजनिक शिक्षा सुधारको केन्द्रविन्दु विद्यार्थी र चालक शिक्षक भए पनि दिशानिर्देशक र लगानीकर्ता स्वयम् अभिभावक हो । अभिभावकबाट सामुदायिक विद्यालयलाई आर्थिक, भौतिक, व्यवस्थापकीय, प्राविधिक, शैक्षिक सबै प्रकारका लगानी चाहिएको छ ।

विद्यालय शिक्षालाई सुधार गर्न गुणस्तरीय अभिभावकको खाँचो छ । गुणस्तरीय अभिभावकको पहिलो विशेषता भनेको उनीहरूले आफ्ना सन्तानलाई गुणस्तरीय समय दिन सक्नुपर्छ भन्ने हो । अभिभावकत्व, मातृवात्सल्य र पितृवात्सल्य बच्चाको अधिकार हो । सार्वजनिक शिक्षाको पहिलो पहलकर्ताको रूपमा रहेका अभिभावकको सृजनात्मक क्षमता विकासका लागि सशक्तीकरणका योजना निर्माण गरी कार्यान्वयन गर्न आवश्यक छ । नवीनतम सोच, सकारात्मक ऊर्जा र आलोचनात्मक क्षमता भएका जाग्रत अभिभावकबाट मात्रै विद्यालय सुधारको शुरुवात हुनसक्छ भन्ने सच्चाइलाई सरोकारवाला पक्षहरूले आत्मसात गर्न आवश्यक छ । हालको अवस्थामा धेरै विद्यालयहरूको व्यवस्थापनमा असहजता आउनुको प्रमुख कारण आर्थिक अपारदर्शिता देखिन्छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ लगायतका सङ्गठनमा अभिव्यक्त अभिभावकको आधिकारिक अधिकार स्रोतको प्रयोगमा पारदर्शिता अपनाउन जरुरी छ ।

विद्यालयको पठनपाठन मात्र होइन, पुस्तक वितरण, छात्रवृत्ति वितरण, सामग्री खरिद प्रक्रिया, खाजा व्यवस्थापन, चमेनागृह सरसफाइ, विद्यार्थीलाई सांस्कृतिक तथा वातावरणीय प्रदुषणबाट जोगाउने कुरा आदि क्षेत्रमा अभिभावकको ठूलो भूमिका रहन सक्छ । अर्को महत्त्वपूर्ण पक्ष भनेको विद्यालय सञ्चालनका लागि स्रोतको खोजी, प्राप्ति, प्रयोग र सदुपयोगमा पनि अभिभावकको भूमिका रहनसक्छ । विद्यालयलाई प्रकृतिमैत्री बनाई दिगो विकासलाई बल पु¥याउने गरी विद्यालय सुधारमा अभिभावक लाग्नुपर्ने देखिन्छ । विद्यालयहरूको सुधार एकै रातमा हुने अवस्था छैन र हुन्न पनि । यसर्थ सबैको सकारात्मक सोच र सहयोगी हातहरू मार्फत विद्यालय व्यवस्थापनमा सक्षमता ल्याउन सकिन्छ । आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयहरुमा जिम्मा लगाएर मात्र हुँदैन, अब शैक्षिक सुधारको अनुगमनकर्ता, नियमनकर्ता र सच्चा अभिभावकको भूमिका खेल्न जरूरी देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here