विदामा पनि काम !

0
47

विनोद सापकोटा,
झिलझिले।

साप्ताहिक र सार्वजनिक विदाका दिन पनि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी कार्यालयकै काममा व्यस्त हुन्छन् भन्ने धेरैलाई थाहा नहुन सक्छ ।

विदाका दिन कर्मचारीले परिवारका सदस्यसँग दिन बिताउने, बजार तथा आफन्त भेट्न जाने कार्यक्रम तय गरेका हुन्छन् । तर, शिवसताक्षी नगरका जनप्रतिनिधि कर्मचारीलाई विदाका दिन पनि एकैछिन फुर्सद हुँदैन ।

नगरका कर्मचारी मात्र होइन । जनप्रतिनिधि पनि उस्तै व्यस्त हुन्छन् । खास गरेर नगर प्रमुख, उपप्रमुख, नगरका प्रमुख प्रशासकीय अधिकृत, योजना शाखाका प्राविधिकले सरकारले दिएको सार्वजनिक र साप्ताहिक विदालाई पनि कार्यालयकै काममा समय दिने गरेका छन् । शनिबार बिहान ७ बजे उपप्रमुख नरमाया कार्की माईधार दोमुखा निर्माणाधीन कालोपत्रे सडकको अनुगमनमा थिइन् । उनका साथमा नगरका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राई, १० नम्बर वडाध्यक्ष हर्कधन सिंगु, इञ्जिनियर उत्तम बराल थिए ।

सडक अनुगमनमा निस्किएको टोलीलाई कतिपय स्थानीयले ‘विदाका दिन पनि अनुगमन हुन्छ ?’ भनेर सोधेका थिए । ‘मतदाताले आफूलाई योग्य छानेर मत दिनुभएको छ । उहाँहरुकै मतले निर्वाचन जितेर यहाँसम्म आएका हौं । आज विदा हो । जनताको काम गर्नुहँुदैन भन्ने छैन । विदाका दिन पनि काम गर्यो भने एक दिन छिटो जनताका काम सकिन्छ’ –उपप्रमुख कार्कीले यसरी सहजै जवाफ दिँदा स्थानीयले अचम्म मानेका थिए ।

अन्य विदाका दिन पनि शिवसताक्षी नगरपालिका प्रमुखदेखि उपप्रमुख र त्यहाँ कार्यरत कर्मचारीहरु योजनाको अनुगमनमा व्यस्त हुन्छन् । कतिपय कर्मचारी अघिल्लो दिनको बाँकी रहेको काम कार्यलयमा बसेर गरिरहेका हुन्छन् । शिवसताक्षी नगरमा जनप्रतिनिधि र कर्मचारीले अतिरिक्त काम गरेवापत पारिश्रमिक लिने गरेका छैनन् । जुनसुकै विदाका दिन कुनै पनि योजना को अनुगमन र कार्यालयको काम गरेबापत जनप्रतिनिधि र कर्मचारीले अतिरिक्त भत्ता पालिकाबाट नलिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

जनप्रतिनिधिले कोशी प्रदेश सरकारले तोकेको आर्थिक लगायतका अन्य सुविधा पालिकाबाट पाउँछन् । कर्मचारीले नेपाल सरकारले तोकेको पारिश्रमिक पाउने गरेका छन् । तर, विदाका दिन अनुगमन वा पालिकाको अन्य कुनै कार्यक्रममा सहभागि भए बापत जनप्रतिनिधिले पालिकाबाट आर्थिक सुविधा नलिने गरेको नगरका लेखा अधिकृत प्रकाश योङहाङले बताए ।

अनुगमन टोलीले शनिवार माईधार–दोमुखा रिङरोड, नुनमति दोमुखा झोलुङे पुल र स्विमिङ पुल र चिल्ङ«ेन पार्कको अनुगमन गरेको थियो । माईधार–दोमुखा कालोपत्रै सडक चार करोड २४ लाख ८३ हजार दुई सय ४५ मा निर्माण भएको हो । यो सडक ९५ प्रतिशत निर्माण सम्पन्न भएको इञ्जिनियर उत्तम बरालले बताएका छन् ।

नगरको एउटै योजनामा चालू आर्थिक वर्षको सबैभन्दा धेरै बजेट विनियोजित भएको योजना माईधार–दोमुख कालोपत्रे सडक हो । यो सडकलाई नगरले नगर गौरवको योजनाका रुपमा अघि सारेको थियो । कालोपत्रे सडक निर्माण भएपछि झापाको दोमुखा आन्तरिक तथा वाहिय पर्यटकको पहिलो रोजाईमा पर्ने नगर प्रमुख मेघाहाङ थोप्राले बताए ।

सडकको शिलान्यास भएदेखि शनिबारसम्म नगर प्रमुख थोप्रा अनुगमनमा नपुगेको दिन सायदै विरलै होला । नगर प्रमुख थोप्राले भने– ‘नगरले ठीक समयमा निर्णय गरेकाले माइधार दोमुखा सडक कालोपत्रे अन्तिम चरणमा पुगेको छ । अब यो सडकले नगरलाई राम्रो प्रतिफल दिन सक्छ ।’ दोमुखा क्षेत्रबाट हाल संकलन भइरहेको नगर कर अब एक चौथाइ वृद्धि हुने अनुमान नगर प्रमुखले गरेका छन् ।

आर्थिक वर्ष सकिन अब ३७ दिनमात्र बाँकी छ । संघ र प्रदेश सरकारले पठाएको सशर्त अनुदान र नगरस्तरीय कतिपय योजनाहरु सम्पन्न भइसकेका छन् । केही योजनाहरु निर्माणाधीन छन् । ति योजनाको अनुगमन तीव्ररुपमा भइरहेको नगरपालिकाका सूचना अधिकारी डिल्ली नेपालले बताए । उनका अनुसार असारको तेश्रो साता सम्ममा ९० प्रतिशतभन्दा बढी योजना सम्पन्न हुन्छन् ।

गुणस्तरीय निर्माणको काममा कसैसँग सम्झौता नहुने र यसको कार्यान्वयनको लागि अनुगमनलाई तिब्रता दिएको नगरको योजना शाखाले जनाएको छ । नगरसँग भएको सम्झौता अनुसार समयमै हरेक योजना निर्माण सम्पन्न सक्न नगर प्रम्ुखु थोप्राले निर्माण प्रदायक कम्पनीसँग अनुरोध गरेका छन् । उनले भने– ‘आँखा देखिने बेला अर्थात् बिहान सबेरैदेखि साँझसम्म योजनाको अनुगमन गर्न भ्याई नभ्याई छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here