त्रिदेशीय अपराधमा चिनियाँ नागरिक फेङचेङको भूमिका शंकास्पद

0
60

काठमाण्डौं ।

२२ जेठमा त्रिभुवन विमानस्थलबाट एक जना चिनियाँ नागरिक शंकास्पद अवस्थामा पक्राउ परे । २० जेठमा मात्रै नेपाल आएका चिनियाँ नागरिक फेङचेङ वेन २२ जेठमा त्रिभुवन विमानस्थलहुँदै क्वालालम्पुर जान खोज्दा पक्राउ परेका हुन् ।

विमानस्थला सुरक्षामा खटिएका प्रहरीले विशेष जाँच गर्दा उनले बोकेको लगेजमा विभिन्न मुलुकका अवैध मुद्रा फेला परेपछि उनलाई नियन्त्रणमा लिएको हो । प्रहरीले उनको साथबाट विभिन्न देशका गरेर करिब ६० लाख नगद बरामद गरेको थियो ।

प्रहरीका अनुसार उनको साथबाट नेपाली रुपैयाँ ९ लाख ८ हजार, भियतनामी मुद्रा ४० लाख ५० हजार, कम्बोडियन रियल ५ हजार, भारतीय रुपैयाँ ८ हजार ४ सय ६०, लावसियन मुद्रा २ लाख ५० हजार, सिङ्गापुर डलर २ सय ४२, मलेसियन रिङ्गेट ३ सय ५१, चिनियाँँ २१ युआन, अमेरिकी डलर २ हजार र थाई भाट १ लाख १३ हजार बरामद गरेको थियो ।

प्रहरीले फेङचेङ वेनलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाएको छ । उनीसँग ठूलो मात्रामा विभिन्न मुलुकका अवैध मुद्रा कसरी पुग्यो भन्नेबारेमा प्रहरीको विशेष ब्युरोले समेत अनुसन्धान थालेको छ ।

ब्युरोका एक अधिकारीले भने, ‘उनको भूमिका शंकास्पद छ । विभिन्न मुलुकका मुद्रा उनीसँग भेटिएको छ । उनी अन्तरदेशीय अपराधमा संलग्न हुन सक्ने आशंकामा हामीले अनुसन्धान थालेका हौँ ।’

राजस्व अनुसन्धान विभागले भने विदेशी मुद्रा अपचलन मुद्दामा अनुसन्धान थालेको छ । विभागको अनुसन्धानबाट फेङचेङले सिटिजन्स बैंक इन्टरनेसनलमा १ करोड २ लाख रुपैयाँ डिपोजिट गरेको समेत देखिएको छ ।

अनुसन्धानमा खटिएका विभागका एक अधिकारीले भने,‘ उनीसँग नगदबाहेक बैंकमा समेत १ करोड २ लाख रुपैयाँ डिपोजिट गरेको देखिएको छ । हामीले बैंकसँग पनि त्यसको डिटेल मागेका छौँ ।’ ती अधिकारीका अनुसार चिनियाँ नागरिकले प्रहरी र विभागका कर्मचारीसँग बयानमा कुनै कुरा बताएका छैनन् । विभागले दोभाषेको प्रयोग गर्दासमेत उनले बोल्न अस्वीकार गरेका छन् । उनी तीनपटक नेपाल आएको खुलेको छ ।

प्रहरीले उनको मोबाइलबाट केही खुल्न सक्ने आशंका गर्दै अनुसन्धान थालेको छ । पछिल्लो समय चिनियाँ नागरिकले नेपाललाई आपराधिक थलोको रूपमा प्रयोग गरेर आपराधिक गतिविधि बढाएको प्रहरीको तथ्यांकले देखाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here