‘महेन्द्र पार्क’ को थप सौन्दर्य झल्काउन वृक्षरोपण

0
74

भद्रपुर।

झापाको सदरमुकाम भद्रपुर– ८ स्थित ‘महेन्द्र पार्क’ को थप सौन्दर्य झल्काउन वृक्षरोपण गरिएको छ । भद्रपुर ८ नम्बर वडा अध्यक्ष गौरव सुब्बा मनोजले आफ्ना बुबा वीरहाङ्ग लिम्बुू सुब्बा र सासूआमा भूमिमाया लिम्बूको स्मृतिमा ‘महेन्द्र पार्क’ मा विभिन्न जातका १२ सयभन्दा बढी बिरुवा रोपेका हुन् ।

भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, वडा अध्यक्ष सुब्बासहित उनका परिवारजनका सदस्यहरूले मंगलबार बिहान एक संक्षिप्त कार्यक्रम गरी पार्कमा वृक्षरोपण गरेका थिए ।
अध्यक्ष सुब्बाले भारतको कलकत्ताबाट करिब १ लाख ५ हजार मूल्य बराबरको विभिन्न जातका बिरुवा पार्कका लागि मगाएका थिए ।

नगरपालिकाले विगत चार वर्षदेखि यस पार्कको जीर्णोद्धार र सौन्दर्यकरणमा ध्यान दिन थालेको नगर प्रमुख पोखरेलले बताए । नगरपालिकाको स्वामित्वमा रहेको यस पार्कलाई थप व्यवस्थित बनाउन आगामी आर्थिक वर्ष बजेट छुट्ट्याएर थप कामहरू अघि बढाउने उनको भनाइ छ ।

त्यस्तै वडाध्यक्ष सुब्बाले वडा कार्यालयले पार्कलाई परिष्कृत र अझ बढी सौन्दर्यकरण गर्ने काम गरिरहेको बताए । आगामी आवमा अझ धेरै बजेट छुट्याएर महेन्द्र पार्कलाई पहिलेभन्दा राम्रो पर्यटकीयस्थलका रुपमा विकास गर्ने हाम्रो योजना छ–उनले भने,–यसका लागि आफू लागिपरेको छु । पार्कभित्र पानीको फोहोरा, बिजुलीबत्ती जडान लगायतको काम गर्न बाँकी छ । पार्कको विकासका लागि प्रदेश तथा संघीय सरकारबाट समेत बजेट माग गरिने उनले बताए ।

पार्कको रङ्गरोगन गर्ने, बगैँचामा माटो भर्ने लगायतका काम गर्न धनजुजु श्रेष्ठको अध्यक्षतामा उपभोक्ता समिति गठन भएको छ । पर्यटकको सबैभन्दा बढी आकर्षण रहने फूलबारीमा नयाँ फूल रोप्ने, पुराना गोड्ने र झारपात फालेर चिटिक्क बनाउने कार्यमा नगरपालिकाले कर्मचारीहरू परिचालन गरिएको छ । पार्कको सौन्दर्य फेर्न माली अमृत थापाको महत्वपूर्ण योगदान रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here