विद्यालयमै उत्पादन हुन्छ फलफूल तथा तरकारीका विरुवा

0
99

बिर्तामोड ।

झापाको कमल गाउँपालिका–७ स्थित सरस्वती माध्यमिक विद्यालय तथा प्राविधिक शिक्षालयमा अध्ययनरत् विद्यार्थीले फलफूल तथा तरकारीका विरुवा उत्पादन गर्दै स्थानीयलाई बितरण गर्ने गरेको पाइएको छ ।

बाली विज्ञान शंकायतर्फ अध्ययनरत् बिद्यार्थीले प्रयोगात्मक शिक्षण विधिमा केन्द्रीत रहेर उत्पादन गरेका विरुवा कमल गाउँपालिकावासीलाई बितरण गर्ने गरिएको बिद्यालयका प्रधानाध्यापक रुकमान लावतीले बताए ।

तत्कालीन प्रदेश नम्वर १ (हाल कोशी प्रदेश) सरकारको १० लाख रुपैयाँ आर्थिक सहयोग र विद्यालयको एक लाख ५० हजार गरी ११ लाख ५० हजार रुपैयाँको लागतमा विद्यालय परिसरमा हाइटेक नर्सरी तयार पारिएको छ ।

यहाँ अध्ययनरत् बिद्यार्थीले प्रयोगात्मक शिक्षण विधिमा सहभागिता जनाउँदै लगभग ४० हजार भन्दा बढी बिरुवा उत्पादन गरेर गाउँपालिकावासीलाई वितरण गरेका हुन् । विद्यार्थीले कुरिलो, मेवासहित सिजन अनुसरका तरकारीका बेर्ना (काउली, ब्रो काउली, करेला, काँक्रा, लौका आदि) उत्पादन गर्ने गरेका छन् ।

गाउँपालिकाले समेत फलफूल तथा तरकारीका बेर्ना उत्पादनका लागि विद्यालयलाई तीन लाख रुपैयाँ सहयोग गरेको र उन्नत जातको बीऊ खरिद गर्दै वेर्ना उत्पादन गरेर वितरण गरिएको गरिएको प्रधानाध्यापक लिम्बूले बताए ।

हाल सो विद्यालयमा भेटेरिनरीतर्फ १८ महिने प्रि–डिप्लोमा, १८ महिने बाली विज्ञान प्रि–डिप्लोमा र एएससीएजी तीन वर्षे डिप्लोमाका कक्षा सञ्चालन भइरहेको विद्यालयका प्रधानाध्यापक लिम्बूको भनाइ छ ।

यो विद्यालय झापाको पहिलो टेक्निकल एजुकेशन इन कम्युनिटी स्कूल रहेको बताइएको छ । यहाँ प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या एक सय २५ रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here