पशुपालक कृषकहरुलाई प्रोत्साहन गर्न अर्जुनधारामा पहिलोपटक सम्मान

0
68
अर्जुनधारा । 
पशुपालक कृषकहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले झापाको अर्जुनधारा नगरपालिकाले पहिलोपटक उनीहरुलाई सम्मानित गरेको छ ।
नगर पशुपन्छी तथा मत्स्य विकास शाखाको आयोजनामा अर्जुनधारा–९स्थित सुखानी शहीद स्मृति उद्यानको सभाहलमा बिहीबार आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान पत्र र नगदसहित सम्मानित गरिएको हो ।
यसरी सम्मानित हुने कृषक एवम् समूहहरुमा गाईपालनतर्फ अर्जुनधारा–६स्थित कनकाई कृषि फार्मका सञ्चालक सुबोध ढुङ्गेल, बाख्रापालनतर्फ अर्जुनधारा–९स्थित आरके कृषि फार्मका सञ्चालक कमल कडरीया, बंगुरपालनतर्फ अर्जुनधारा–३स्थित लिङदेन कृषि फार्मका सञ्चालक आइतबहादुर लिङदेन, माछापालनतर्फ अर्जुनधारा–४स्थित अलतिया कृषि फार्मका सञ्चालक विकास खड्का र समूहतर्फ अर्जुनधारा–२स्थित खुदुनावारी कृषक समूह रहेका छन् । उनीहरुले सम्मान पत्र र जनही नगद १२ हजार प्राप्त गरेका छन् ।
त्यसैगरी अन्य सम्मानितमा गाईपालनतर्फ द्वितीय हुने अर्जुनधारा–९स्थित कृष्ण गाई पालन फार्मका सञ्चालक चन्द्रप्रसाद अधिकारी र बाख्रापालनतर्फ द्धितीय हुने अर्जुनधारा–३स्थित सनमन एकीकृत कृषि तथा पशुपालन फार्मका सञ्चालक मनकला राई रहेका छन् । उनीहरुले सम्मान पत्र र जनही नगद १० हजार प्राप्त गरेका छन् ।
सोही कार्यक्रममा अर्जुनधारा–२स्थित खुदुनावारी कृषक समूहका संस्थापक अध्यक्ष तिलकबहादुर थापालाई सम्मान पत्रसहित सम्मानित गरिएको थियो । नगर उपप्रमुख खड्गमाया पराजुलीको अध्यक्षता र निवर्तमान प्रदेश सांसद् वृख प्रधानको प्रमुख आतिथ्यमा उनीहरुलाई सम्मानित गरिएको हो ।
नगरपालिकाको चालु आर्थिक वर्ष ०७९÷०८०को स्वीकृत वार्षिक नीति तथा कार्यक्रम अनुसार शाखामा सूचीकृत भएका फार्महरुमध्ये उत्कृष्ट हुने फार्मलाई जनप्रतिनिधि, विषयगत समितिका पदाधिकारी र कर्मचारीहरुबाट प्राप्त सुझावसँगै समूहको सिफारिसमा सम्मानित कृषकहरु छनौट गरिएको शाखा प्रमुख पदमलाल राईले जानकारी दिए । “शाखाको सानो सहयोगले पनि कृषकहरुलाई हौसला प्राप्त हुने हुँदा आगामी दिनमा पनि यस किसिमको कार्यक्रमलाई निरन्तरता दिनेछौं ।”–उनले भने ।
कार्यक्रममा नेकपा एमालेका नगर इञ्चार्ज दिपेन्द्र लम्साल, नेपाली काँग्रेसका नगर सचिव इन्दिवर खड्का, एकीकृत समाजवादीका नगर अध्यक्ष अर्जुन मेचे, वडाध्यक्ष गोविन्द खतिवडा, प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई, सम्मानित समूहका अध्यक्ष तुलसी ढकाल, कृषक देवकला प्रसाईंलगायतले मन्तव्य राखेका थिए । नगर कार्यपालिका सदस्य एवम् आर्थिक समितिकी संयोजक गौरीमाया चिमरीयाले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन शाखा प्रमुख राईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here