सशस्त्र प्रहरी कुटपिट प्रकरण: एआईजीको संयोजकत्वमा छानविन समिति

0
47

पार्थ मण्डल,
झापा ।

झापामा सशस्त्र प्रहरीका इन्स्पेक्टर नमप्रभाव राईले आफ्नै संगठनका सहकर्मीलाई पानीमा चोबल्दै, खेदाउँदै निर्घात कुटपिट गरेको घटना बाहिरिए लगत्तै सशस्त्र प्रहरी बल नेपाल मुख्यालयले विशेष छानविन समिति गठन गरेको छ ।

सशस्त्रका एआइजी चन्द्रप्रकाश गौतमको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको सशस्त्र प्रहरी बल नेपाल मुख्यालयका प्रवक्ता तथा एसएसपी राजेन्द्र खड्काले जानकारी दिए । सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेश बराह बाहिनी सुनसरीका डीआइजी अञ्जनीकुमार पोखरेलले घटना भएको भोलिपल्ट बुधवार नै बाहिनीका एसपी बिक्रम हुमागाँईँको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेका थिए ।

डीआइजी पोखरेलकै निर्देशनमा इन्स्पेक्टर राईसहित सादा पोशाकमा खटिएका प्रहरीबाट संगठनकै बदनाम हुने गरी घटना घटेकोले मुख्यालयले एआइजी गौतमको नेतृत्वमा छानविन समिति बनाएको हो । एआइजीको नेतृत्वमा गठित छानबिन समितिले इन्स्पेक्टर राईलाई निलम्बन गरी छानबिन प्रक्रिया अघि बढाउन सक्छ– प्रवक्ता खडकाले भने– ‘त्यो अधिकार छानविन समितिलाई दिइएको छ, अब समितिले कसरी प्रक्रिया अघि बढाउँछ, त्यो समितिको कुरा हो ।’

‘छानबिन समितिको प्रतिवेदनको आधारमा कुटपिट घटनामा संलग्न कर्मचारीलाई विभागीय कारबाही हुन्छ, त्यसमा कुनै दुबिधा नै छैन’– उनले भने । सादा पोशाकमा सशस्त्र प्रहरी खटाउन नपाउने संगठनको नीति छ । तर, विशेष प्रयोजनका लागि संगठनबाट स्वीकृति लिएर दुई÷चार दिनको लागि मात्र सादा पोशाकमा खटाउन पाइन्छ ।

‘सादा पोशाकमा खटाउनेलाई विशेष सूचना संकलनका लागि पठाउने गरिन्छ’– प्रवक्ता खड्काले भने– ‘नियमावली विपरीत संगठनको बदनाम हुने गरी पैसा उठाउन सादा पोशाकमा खटाउन पठाइँदैन ।’ ‘झापा घटनाको हकमा किन र के प्रयोजनका लागि बाहिनीले इन्स्पेक्टर राईसहितको टोलीलाई खटाएको हो, स्वीकृति लिएर हो कि नलिई, त्यो एआइजी नेतृत्वको समितिले अवश्य छानबिन गर्छ’– उनले भने । एआइजी नेतृत्वको छानविन समिति आज शुक्रबार पूर्व आउँदैछ ।

यता इन्स्पेक्टर राईको कुटपिटबाट घाइते भएका पाँच जना सशस्त्र प्रहरीलाई बराह बाहिनी सुनसरीमा राखेर उपचार भइरहेको जनाइएको छ । ‘घाइतेहरूको उपचार नभएको हाल्ला मात्र हो’– उनले भने– ‘बाहिनीमा हाम्रै एक जना चिकित्सक छन्, आवश्यक परेको खण्डमा बाहिरका चिकित्सक बोलाएर पनि घाइतेहरूको उपचार गराइन्छ ।’

मंगलबार राति करिब साढे १० बजेको समयमा मेचीनगर–५स्थित नकलबन्दामा सादा पोशाकमा रहेका इन्स्पेक्टर राई, सशस्त्र जवानहरू रामसुन्दर तामाङ र जीवन बाँस्तोलाले गाईगोरु कटाएको भन्दै ड्युटीमा खटिएका सशस्त्रका वरिष्ठ हवल्दार पासाङ तामाङ, सशस्त्र प्रहरी हवल्दारहरु गणेशबहादुर तामाङ, रामबहादुर कार्की, सशस्त्र प्रहरी सहायक हवल्दार शान्तबहादुर राई र सशस्त्र जवान उमेश राजवंशीलाई कुटेका थिए ।

सादा पोशाकमा आएका इन्स्पेक्टर राईसहितको टोलीले बर्दीधारी सशस्त्रलाई सार्वजनिक स्थलमा कुटपिट गरिरहेको देखेपछि त्यहाँका स्थानीय प्रतिकारमा उत्रिए । त्यसपछि घटनास्थल तनावग्रस्त बनेको थियो । स्थानीयले सशस्त्रको बीएबी ३२४६ नम्बरको गाडी तोडफोड गर्दै इन्स्पेक्टर राईसहितको टोलीलाई कारबाहीको माग गर्दै चर्को नाराबाजी समेत गरेको प्रत्यक्षदर्शीहरू बताउँछन् ।

इन्स्पेक्टर राई र जवान तामाङ विवादित कर्मचारी

सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेश बराह वाहिनी सुनसरीका डीआईजी अञ्जनीकुमार पोखरेलले सादा पोशाक ‘घुमुवा’ मा खटाएका इन्स्पेक्टर नमप्रभाव राई र सशस्त्र जवान रामसुन्दर तामाङ विवादित कर्मचारी हुन् ।

इन्स्पेक्टर राई यसअघि मोरङमा बसेका थिए । बीओपी सिक्टीको इञ्चार्ज हुँदा इन्स्पेक्टर राईले मोरङको दक्षिणी क्षेत्रबाट तस्करी गराएको आरोपमा विवादमा परेका थिए । बराह वाहिनी सुनसरीका तत्कालीन डीआइजी कमल गिरीले इन्स्पेक्टर राईलाई कारबाही स्वरूप बाहिनी तानेका थिए । गिरीको सरुवा भए लगत्तै बराह बाहिनीमा डीआइजी पोखरेल आए । डीआइजी पोखरेल आएपछि राईलाई घुमुवा प्रहरीको इञ्चार्ज बनाए । राईले डीआइजीको नाम बेचेर तस्करहरूबाट लाइनमार्फत रकम संकलन गर्दै हिँडेको पनि सुरक्षा स्रोतको दाबी छ ।

त्यस्तै डीआइजी पोखरेलले सादा पोशाकमा खटाएका अर्को ‘घुमुवा’ सशस्त्र जवान तामाङको ससुराली घर झापाको मेचीनगर हो । बीओपी काँकरभिट्टामा २ वर्षअघि आएका तामाङले बीओपीमा भान्सा चलाउने (कोड मास्टर) को जिम्मेवारी पाए । भान्सा चलाउन थालेपछि तामाङको घुलमिल तस्कर तथा व्यापारीसँग नजिकियो । तामाङले बीओपी इञ्चार्जलाई खुशी पार्न रकम पनि संकलन गर्न थाले ।

दुई महिनाअघि मेचीनगरको सतिघट्टामा तामाङले जबरजस्ती घरभित्र पसेर सरसामान खोसाखोस गर्न खोज्दा व्यापारीले उनलाई हातपात गरेका थिए । घटना विवादित बनेपछि तामाङलाई डीआइजी पोखरेलले तत्काल बाहिनी तानेका थिए । त्यसको केही दिन पश्चात् डीआइजी पोखरेल समक्ष तामाङ घरायसी समस्या देखाउँदै पुनः काँकरभिट्टा आए । डीआइजीले पठाएको भन्दै तामाङले अर्कै गतिविधि देखाउन थाले ।

तामाङको ज्यादती झन् बढेपछि केही दिनअघि मात्र पूर्वी नाकामा उनीबिरुद्ध काँकरभिट्टाका महिला पोके व्यापारीहरूले नाराबाजी गर्दै सडक समेत अवरुद्ध गरेका थिए । त्यति मात्र नभएर तामाङले डीआइजीलाई नभन्नु भन्दै भारतीय बजार पानीट्यांकी पुगेर त्यहाँका व्यापारीबाट पैसा समेत असुल्न थालेको व्यापारी स्रोतको दावी छ । नकलबन्दा घटना पनि तामाङकै योजनामा भएको हुन सक्ने स्रोतको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here