११ महिनामा ३३७ ग्राम तीन सय मिलिग्राम खैरो हेरोइन बरामद

0
73

लक्ष्मी उप्रेती,
मेचीनगर ।

गत २ साउन २०७९ मा इलामका प्रमोद केसी (नाम परिवर्तन) लाई १४ ग्राम खैरो हेरोईनसहित प्रहरीले पूर्वी नाकाबाट पक्राउ गर्यो । त्यसको ३ दिन पनि वित्न नपाउँदै ५ साउनमा शिवसताक्षीका हरिकुमार तूम्बाफे (नाम परिवर्तन) २ ग्राम खैरो हेरोईनसहित सोहि स्थानबाट पक्राउ परे । तुम्बाफे पक्राउ परेको २ दिनपछि वा ७ साउनमा कन्काई नगरपालिका— ७ का सन्दिप कुमार (नाम परिवर्तन) ६ ग्राम खैरो हेरोईनसहित पक्राउ परे । हाल उनीहरु सवै जिल्ला कारागारमा रहेको प्रहरीको भनाई छ ।

खैरो हेरोईनसहित पक्राउ परेका त यी केही प्रतिनिधि घटनामात्र हुन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टाको तथ्याङ्कलाई आधार मान्ने हो भने पछिल्लो समय लागूऔषध प्रयोगकर्ता र कारोवारीकालागि खैरो हेरोईन निक्कै रोजाईमा पर्न थालेको छ । प्रहरीका अनुसार चालु आर्थिक वर्ष २०७९÷०८० को एघार महिनाको अवधिमा इलाका प्रहरी कार्यालयमा लागूऔषधका ४५ वटा घटना दर्ता भएका छन् ।

यी घटनामा ४ महिलासहित ६९ जना मानिस पक्राउ परेका छन् । उनीहरु सवैका साथबाट प्रहरीले खैरो हेरोईनमात्र फेला पारेको छ । अन्य लागूऔषध इञ्जेक्सन तथा ट्याप्लेटभन्दा ओसारपसार गर्न सजिलो हुने भएकाले उनीहरुको रोजाईमा पछिल्लो समय खैरो हेरोईन परेको एकजना प्रहरी अनुसन्धान अधिकृतको भनाई छ । ‘ यो एघारमहिनाको अवधिमा ६१ स्वदेशी र ४ विदेशी गरी कल ६५ जना पुरुष र स्वदेशी ४ महिलासहित ६९ जना पक्राउ परेका छन्’ उहाँले भन्नुभयो—‘यी सवैका साथबाट यो अवधिमा प्रहरीले ३ सय ३७ ग्राम ३ सय मिलिग्राम खैरो हेरोइन बरामद भएको छ, यसले पनि पुष्टि गर्छ पुर्वी काँकरभिट्टाबाट पछिल्लो समय यसको कारोवार बढेको छ ।’ इलाका प्रहरी कार्यालय काँकरभिट्टाको अभिलेखले पनि यसलाई पुष्टि गर्दछ ।

प्रहरीको अभिलेख हेर्ने हो भने प्रत्येक वर्ष लागूऔषध इञ्जेक्सन तथा ट्याप्लेटभन्दा खैरो हेरोइन कारोवार बढिरहेको छ । ‘ एम्पुल फुटने वा बज्ने डर हुन्छ र ट्याप्लेट लुकाउन गाहे हुन्छ’ एक प्रहरी अनुसन्धान अधिकृतले भन्नुभयो—‘यो धूलो भएकाले शरिरका विभिन्न भागमा लुकाउन सम्म मिल्छ त्यही भएर कारोवारी र प्रयोगकर्ता पछिल्लो समय खैरो हेरोइनको धन्दामा लागेका छन् ।’ विभिन्न विमानस्थलमा समेत ब्राउनसुगर चेकजाँच गर्ने प्रविधि नभएका कारण पनि ओसारपसार गर्न सजिलो भएको उहाँको भनाई छ ।

‘हवाईजहाजमा ब्राउन सुगर लैजानु र अन्य खाद्यवस्तुका पीठो लैजानु उस्तै हो ’ उहाँले भन्नुभयो—‘परीक्षण गर्ने प्रविधि छैन् ।’ संघीय राजधानीबाट समेत हवाईजहाज चढेर यसमा संलग्न कारोवारी र प्रयोगकर्ता आउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । विमानस्थलमा समेत लागूऔषध परिक्षण उपयुक्त प्रविधिको अभावले गर्दा कारोवारीहरुले विमानस्थल समेत प्रयोग गर्न थालेको एकजना प्रहरी अधिकृतको भनाई छ ।

चालु आर्थिक वर्षमा नै झापाको भद्रपुर विमानस्थलबाट दुई दिदीबहिनी लागूऔषधसहित पक्राउ परेका थिए । बुद्ध एयरको जहाजबाट काठमाडौं जान लागेका मकवानपुर हेटौंडा उपमहानगरपालिका–१ कि घर भई हाल झापाको मेचीनगर बस्ने २१ वर्षीया कुसुम श्रेष्ठ राजवंशी (नाम परिवर्तन) र उनकी दिदी २३ वर्षीया कृष्णा श्रेष्ठ (नाम परिवर्तन) लाई ७६ ग्राम ३ सय ४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको झापा प्रहरीले पुष्टि गरेको थियो । विमानस्थलमा खटिएका प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुलाई सो परिमाणको लागूऔषधसहित पक्राउ गरेको थियो । यसले पनि माथिको कुरालाई पुष्टि गर्दछ ।

पूर्वमा लागूऔषध प्रयोग र कारोवार गर्नेको संख्या दैनिक बढ्दै गएपछि काँकरभिट्टानाकामा यसको नियन्त्रणमा यतिखेर प्रहरीले नयाँ नयाँ रणनीति अप्नाउर्दै आएको प्रहरीले जनाएको छ । खुल्ला सीमा, सिमावर्ती भारतीय बजारमा लागूऔषध सहज र सुलभ मुल्यमा उपलब्ध हुनुले नै यो नाका यसमा संलग्नहरुले रोज्ने गरेको प्रहरीको भनाई छ ।

काँकरभिट्टानाकादेखि झण्डै २ किलोमिटर पूर्वको भारतीय बजार पानीट्याँकीमा त्यस्ता पदार्थ सजहै उपलब्ध हुने भएकाले लागूऔषध नियन्त्रण व्युरो र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएका प्रहरीले मेचीनगर—६ मेचीपुललाई चेकजाँचको प्रमुख थलो बनाएका छन् । चेकजाँचमा कडाई र प्रहरीको सक्रियता बढेसँगै यसमा संलग्नहरुले बैकल्पिक मार्ग रोज्न थालेका छन् ।

चालु आर्थिक वर्ष २०७९÷०८० को एघारमहिनाको अवधिमा इञ्जेक्सनका माध्यमबाट प्रयोग गरीने लुपिजेसिक, फेनारगन र डाईजेपाम पछिल्लो समय शुन्यमा छ । गत आर्थिक वर्ष २०७७÷०७८ मा लुपिजेसिक १६३, फेनारगन १६४, र डाईजेपाम १६१ एम्पुल वरामद भएको थियो । २०७८÷०७९ मा ३९÷३९ एम्पुल बरामद भएको छ । चालु आर्थिक वर्ष २०७९÷०८० को साउनदेखि जेठमहिनाको अन्त्यमा यसको कारोवार शुन्य छ ।

अघिल्लो आर्थिक वर्षमा शुन्य रहेको ट्याप्लेटको धन्दा पछिल्लो समयमा फाट्टफुटट देखिएको छ । २०७८÷०७९ मा नाइट्रोजन ३८ वटा तथा स्पास्मोप्रोक्सिभन ३ सय ४८ क्याप्सुल बरामद गरेको थियो । चालु आर्थिक वर्ष २०७९÷०८० को एघार महिनाको अवधिमा पियोभन स्पास पल्स १ सय ४८ क्याप्सुल र नाइट्रोजन ४१ पिस प्रहरीले बरामद गरेको कार्यालयले जनाएको छ ।

प्रहरीको आँखा छलेर भारतीय सीमावर्ती बजारबाट लागूऔषध ल्याउन सव्रिmय तस्करहरुले नाकामा प्रहरीले कडाई गरेकै कारण तस्करीको नयाँ नयाँ जुक्ति अप्नाउन थालेको प्रहरीको भनाई छ । कारोवारीहरुले लागूऔषध भित्रियाउन गुप्तांगदेखि आफैले लगाएका कपडाहरुमा चोरगोजी बनाएर प्रयोग गर्छन् । मोटरसाईकल चालकले लगाएको हेल्मेटभित्र पनि लागूऔषध फेला पर्ने गरेको छ ।

जुत्ताको सोलदेखि लगाएको ज्याकेटमा भित्री गोजी बनाएरसम्म लागूऔषध ओसार्न गिरोह सव्रिmय रहेको तथा मोटरसाइकलको सिटमुनि लागूऔषध लुकाएरसम्म तस्करी हुने गरेको प्रहरीको भनाई छ । प्रहरीले शरिरका सबै अंग समेत जाच्न थालेपछि नाडी, पिँडुल लगायत शरिरका सबै भागमा टेपले बेरेर लागुऔषध तस्करी भएको फेला पर्ने गरेको छ । उत्तरमा झापा जिल्लाको सीमाना ईलामको जिर्मले देखि दक्षिणमा मोरगं जिल्ला सम्मको एकसय १८ दशमलव ४४ किलोमिटर खुल्ला बोडरको फाईदा उठाउर्दै कारोवार गरेपछि खुल्ला सीमानै लागूऔषध नियन्त्रणको प्रमुख समस्या र प्रहरीको टाउँको दुःखाईको बिषय बनेको छ ।

लागूऔषध ऐन २०३३ मा लागूऔषध उत्पादन, भण्डार, बेचबिखन तथा ओसारपसारमा संलग्नलाई दुईबर्षदेखि १५ बर्षसम्म कैद वा दुईलाख रुपैयासम्म जरिवना तथा प्रयोगकर्तालाई एकमहिनाको कैद तथा दुईहजार रुपैया जरिवानाहुने वा सुधार केन्द्र पठाउन सकिने कानुनी व्यबस्था छ ।

लागुऔषधको धन्दामा महिलाहरुको समेत सक्रियता

पछिल्लो समय लागुऔषधको धन्दामा महिलाहरुको समेत सक्रियता देखिएको छ । यसको ओसारपसार तथा सेवनमा प्रहरीले महिलालाई समेत धमाधम पक्राउ गर्न थाले पनि यस्तो रहस्य बाहिर आएको हो । ईलाका प्रहरी कार्यालय काँकरभिट्टाले चालू आर्थिक वर्ष २०७९/०८० को जेठमसान्तसम्ममा यसमा संलग्न ४ जना महिलालाई पक्राउ गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here