लक्ष्मी उप्रेती,
मेचीनगर ।

पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ (डिजल, पेट्रोल मटिट्तेल एलपिजी ग्यास) को आयात न्यून हुनु र आसामाबाट आयात हुने कोइला ठप्प हुँदाको प्रत्यक्ष असर राजस्व असुलीमा परेको छ । कार्यालयको मुख्यः राजस्व पूर्वी नाकाबाट आयात हुने कोइला, पेट्रोलियम पदार्थ क्लिङ्कर तथा बंगलादेशबाट आयातित पेयपदार्थ, खाद्यवस्तु तथा कोइलाले समेत राजस्व असुलीमा ठूलै मद्घत पुगेको छ ।
यसले गर्दा मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आव २०७९/०८० को वार्षिक राजस्व असुलीको लक्ष्य पुरा नगर्ने पक्का झै छ । पूर्वीनाकाबाट भित्रिने पेट्रोलियम पदार्थको आयात घट्न थाले पछि त्यसको असर मेची भन्सार कार्यालय काँकरभिट्टाको राजस्व असुलीमा परेको भन्सार अधिकारीहरको भनाई छ । पेट्रोलियम पदार्थको खपत कम हुँदा आयातमा समेत गिरावट भएपछि सरकारको राजस्व संकलनमा प्रत्यक्ष असर परेको ती अधिकारीहरुको भनाई छ ।
अर्थ मन्त्रालय भन्सार विभागले मेची भन्सार कार्यालय काँकरभिट्टालाई चालु आर्थिक वर्ष २०७९/०८० मा २० अर्व २४ करोड १८ लाख ३८ हजार रुपैयाँको वार्षिक राजस्व लक्ष्य दिईएको छ । तर, कार्यालयले भने चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म वा एघार महिनाको अवधिमा १२ अर्व ८८ करोड ९४ लाख २ हजार रुपैयाँमात्र राजस्व असुली गरेको छ । जुन असुली लक्ष्यको तुलनामा ६९ दशमलव ९५ प्रतिशतमात्र हो । चालु आर्थिक वर्ष सकिन् अब करीव दुईसातमात्र बाँकी छ ।
कार्यालयले लक्ष्य पुरा गर्न असार महिनामा ७ अर्व ३५ करोड २४ लाख ३६ हजार रुपैयाँ राजस्व असुल गर्नुपर्ने छ । तर, त्यो सम्भावना न्यून रहेको भन्सार अधिकारीहरु बताउँछन् । यस अघिका कुनै पनि महिना कार्यालयले यति ठूलो रकम रजस्व असुली गरेको छैन् ।
प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मी एघार महिनाको राजस्व असुली हेर्दा चालु आर्थिक वर्षको राजस्व असुली लक्ष्य पुरा नहुने संकेत देखिएको बताउनुहुन्छ । चालु आवमा वार्षिक राजस्वको लक्ष्य पुरा नहुने, १४ अर्वको हाराहारीमा राजस्व संकलन हुने अनुमान उहाँको छ । आर्थिक वर्षको शुरुवाती महिनादेखि नै कार्यालयले लक्ष्यको तुलनामा प्रगति गर्न सकेको छैन् ।
चालु आर्थिक वर्षको २०७९/०८० को श्रावणमा ९३ दशमलव शुन्य १ प्रतिशत , भदौमा ७९ दशमलव ६४ प्रतिशत, असोजमा ६८ दशमलव ९६ प्रतिशत, कात्तिकमा ७० दशमलव ९६ प्रतिशत, मंसिरमा ६५ प्रतिशत ५४ प्रतिशत, पुसमा ६० दशमलव २१ प्रतिशत, माघमा ६५ दशमलव ९७ , फागुनमा ६८ दशमलव शुन्य ७, चैतमा ६८ दशमलव ७४, बैशाखमा ६५ दशमलव २८ र ज्येष्ठ महिनामा ७१ दशमलव ८९ प्रतिशत राजस्वमात्र संकलन गरेको छ ।
कार्यालयका अनुसार राजस्व असुलीमा महत्वपूर्ण भूमिका खेल्ने मुख्यः दशवटा मालवस्तुमा पेट्रोलियम पदार्थ (डिजल, पेट्रोल मटिट्तेल एलपिजी ग्यास) १ नम्बरमा छ । तर, त्यसको आयात नै कम भएका कारण कार्यालयले लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेको भन्सार अधिकारीहरुको भनाई छ ।
जुट, पशु आहारको कच्चा पदार्थ भटमास पिला, तरकारीजन्य, जीप्सन, दलेको या नदलेको दालहरु, काइलाजन्य पदार्थ, कपडा, भेनीयर सीट यी दशवटा मालवस्तुको आयातले राजस्व असुलीमा टेवा पुगेको थियो । कोइलाजन्य पदार्थको आयात ठप्प रहेको छ । आसामबाट आउने कोइला ठप्प र तेस्रो मुलुकबाट कोइला फाट्टफुट्ट आयात हुने गरेको प्रमुख भन्सार अधिकृत रेग्मीले बताउँनुभयो ।
भन्सारमा मालवस्तु नै आउन छाडेको उहाँको भनाई छ । पेट्रोलियम पदार्थको खपत कम हुँदा आयातमा समेत गिरावट आई सरकारको राजस्व संकलनमा प्रत्यक्ष असर परेको छ । कम राजस्व संकलन हुनुमा पेट्रोलियम पदार्थको आयातमा कमी नै हो । मेची भन्सार कार्यालय काँकरभिट्टाको कुल राजस्वको ४० प्रतिशत बढी राजस्व पेट्रोलियम पदार्थले ओगटेको छ भने बाँकी ६० प्रतिशत अन्यले ओगटेको भन्सार अधिकारीहरु बताउँछन् ।
कार्यालयले गत आर्थिक वर्ष २०७८/०७९ को एघार महिनामै आफ्नो वार्षिक लक्ष्य पुरा गरेको थियो । गत आर्थिक वर्ष २०७८÷०७९ का लागि कार्यालयलाई भन्सार विभागले ११ अर्व ७५ करोड ९७ लाख ७२ हजार रुपैयाँ वार्षिक राजस्व लक्ष्य दिईएको थियो । कार्यालयले भने १३ अर्व ७१ करोड ४५ लाख ३ हजार रुपैयाँ वा १ सय १६ दशमलव ६२ प्रतिशत राजस्व संकलन गरेको थियो ।
आर्थिक वर्ष २०७७/०७८ मा ४९ करोड ३० लाख ४३ हजार रुपैयाँ भन्सारले राजस्व संलन गरेको थियो । जुन रकम लक्ष्यको तुलनामा १३ दशमलव ३७ प्रतिशत बढि हो । ४३ करोड ४८ लाख ८९ हजार रुपैयाँ लक्ष्यमा १ सय १३ दशमलव ३७ प्रतिशत राजस्व संकलन गरेको कार्यालयको अभिलेख छ ।
पूर्वीनाका भएर खाना पकाउने ग्यास, मट्टितेल तयारी पोशाक, सुपारी, सिमेन्ट क्लिङकर, हवाई स्प्रीड, सुती कपडा, खरानी स्ल्याग, चामल तथा कनिका, रंगीन टेलिभिजन, ग्लेज टायल, लुब्रिकेटीङ्ग आयल मोबिल, मोटरका व्याट्री, प्लाष्टिकका प्याक गर्ने ट्युवहरुलगायतका बिभिन्न सामाग्री भारत तथा तेश्रो मुलुकबाट पैठारी भई आउने गरेका छन् ।
अलैची, फलाम तथा फलामका सामग्रीहरु, चिया, अदुवा,दलहन, धातुका अन्य अवशेष पशु आहारको कच्चा पदार्थ पिना आदि मुख्यः दश मालवस्तु भारत तथा समुन्द्रपार निकासी हुने गरेका छन् ।































