भ्रष्टाचारमा संलग्न दण्डित हुनुपर्छ

0
50

‘भ्रष्टाचारबिरुद्ध शून्य सहनशीलता’ राज्यको मूल प्राथमिकता हुनुपर्छ । तर, यसका लागि सरकारसँग क्षमता हुनैपर्छ जसका लागि राजनीतिक स्थिरता र स्थिर सरकार आवश्यक पर्छ । राजनीतिक र सरकारमा स्थिरता त्यो बेला सम्भव हुन्छ जब सरकारसँग पूर्ण बहुमत रहन्छ । त्यसो भनिरहँदा हामीकहाँ संसदीय निर्वाचनमा तेस्रो भएको दल नेकपा माओवादी केन्द्रले राज्य सञ्चालनको अख्तियारी पाएको छ । आफ्नो आयु सुनिश्चित नहुँदा–नहुँदै यही सरकारले भने विगतका ठूल्ठूला भ्रष्टाचार र अख्तियार दुरुपयोगका फायल खोलेर विदेशमा समेत तरंग ल्याएको छ । नक्कली शरणार्थी प्रकरणमा निक्कै ठूला मान्छे पक्राउ गरेको प्रहरीले त्यस लगत्तै अत्यन्त विवादित र चर्चित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिनाबिरुद्धको मुद्दाको फायल डेढ वर्षपछि फेरि खोलेको छ ।

सुवर्ण शमसेरका नाममा रहेको उक्त जग्गा पछिल्लो समय आफू अनुकूल निर्णय गराउँदै कर्मचारीदेखि मन्त्रीसम्मले आफ्नो परिवारका नाममा दर्ता गराएका थिए । सरकारी जग्गा कीर्ते प्रकरणमा संलग्न जो कोही पनि कानूनको दायरामा आउनैपर्छ । एकपटक बन्द भएको मुद्दाको फायल खोल्दै प्रहरीले दोषीलाई पक्राउ गर्न थालेको छ । सरकार र प्रहरीको यो सक्रियताले आमजनतामा केही आशा त जगाएको छ, तर फेरि पनि विगतकै निरन्तरता हुन्छ कि संशय भने कायम छ । सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्न सम्बन्धित कर्मचारीसँगै मुख्य राजनीतिक दलका शीर्षस्थ नेताहरु नै संलग्न रहेको छानविन र अनुसन्धानका क्रममा खुलेपछि बन्द भएको फायल खोलेर केन्द्रीय अनुसन्धान ब्यूरोले केही व्यक्तिलाई पक्राउ गरिसकेको छ ।

नेपाली र खासगरी वैदिक सनातन धर्मावलम्वीहरुको आस्थाको केन्द्र पशुपतिनाथमा चढाइएको जलाहारी यसबेला चर्चामा छ । तत्कालीन सरकारले दाता र सरकारी कोषबाट सुनको जलाहारी लगाउँदा ठूलो अनियमितता भएको आरोप लाग्यो । भक्तहरुको ठूलो सहयोगमा चढाइएको जलाहारीको विषयमा अनुसन्धान गर्दा सुनको परिणाम कम भएकोदेखि राष्ट्रप्रमुखदेखि कर्मचारीसम्मको नाम स्वर्णअक्षरमा राख्ने दुस्साहस गरेको पनि खुल्यो । देश र जनताको पैसामा आफ्नो नाम अभिलेखीकरण गर्ने कार्य पनि भ्रष्टाचार नै हो जो हाम्रा राजनीतिक दलहरुले गरेछन् । नेपालमा बहुदलको स्थापनापछि व्यापक बनेको भ्रष्टाचारलाई सार्वजनिक गर्दै दोषीलाई दण्डित नगरेसम्म यो महामारीको अन्त्य हुने छैन । जनाधार र संसदीय शक्ति कम भएकै अवस्था भए पनि माओवादी नेतृत्वको सरकारले दह्रो खुट्टा टेक्न सक्यो भने जनाधार तयार हुनसक्छ । त्यसैले देशलाई अराजकता र विकृतिको चाङबाट मुक्त गर्न सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here