संसदमा मन्त्री किरातीको जवाफ– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआई अन्तर्गत होइन

0
132

काठमाण्डौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआईअन्तर्गत नरहेको प्रस्ट पारेका छन्। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सोधेको प्रश्नको जवाफ दिँदै उनले उक्त कुरा संसारलाई थाहा भएको बताए।

उनले नेपाल र चीनबीच २०१६ मा मात्रै बिआरआई सम्झौता भएको स्पष्ट पारे। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल त्यसअघि २०१२ मै निर्माणकार्य सुरु भएको उनको भनाइ छ। संसारलाई थाहा भएको कुरामा नअल्मलिन उनले सांसदहरूलाई आग्रह गरे।

‘छ्यापछ्याप्ती छ त। फेरि संसदमा यही कुरा उठ्छ। बिआरआई सम्झौता त २०१६ मा भएको हो। पोखरा एयरपोर्टको २०१२ मा निर्माण सुरु भएको हो,’ उनले प्रतिप्रश्न गरे, ‘संसारले यो बिआरआई होइन भनिरहेको छ। सांसदहरू अल्मलिएका अल्मलियै छन्। बिआरआई हो कि, यो के हो? ध्वनी प्रदूषण गरेका छन्। समय र शक्तिको खर्च गरेर के गर्छौं हामी?’

उनले पत्रपत्रिकामा पनि यो बिआरआई होइन भनेर सम्प्रेषण भइरहेको र आफूहरूलाई हेरेर समय र लाज आफैं लजाएको अनुभूति भइरहेको बताए। गत बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री किराती सहभागी भएकै कार्यक्रममा चिनियाँ राजदूत छन् सोङ यो एयरपोर्ट बीआरआईअन्तर्गत बनेको दाबी गरेका थिए।

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०२३ को जनवरीमा सुरुवात भएको हो। यसको डिजाइन र निर्माण चीन सरकारको सहयोगमा भएको हो। चाइनिज इन्जिनियरिङहरूबाट यो निर्माण भएको हो। यो बीआरआई परियोजनाअन्तर्गतको हो,’ राजदूत छन् सोङले भने।

यसअघि गत पुसमा विमानस्थल उद्घाटन कार्यक्रममा चीनका कार्यवाहक राजदूत वाङ सिनले पनि पोखरा विमानस्थल चीनको महत्त्वाकांक्षी बीआरआईअन्तर्गत भएको दाबी गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here